चितवन । चितवन राष्ट्रिय निकुञ्जले एक प्रकृति पथ प्रदर्शकको लाइसेन्स जफत गरी निलम्बन गरेको छ । निकुञ्जको निषेधित क्षेत्रमा पर्यटक लगेर योगाभ्यास गराइरहेको भेटिएपछि पथ प्रदर्शक हरिप्रसाद अधिकारीको लाइसेन्स जफत तथा निलम्बन गरेको हो ।
पथ प्रदर्शकले निकुञ्जमा पर्यटक घुमाउन लैजाँदा निश्चित आचार संहिता पालना गर्नुपर्दछ । तर, अधिकारीले आचार संहिता पालना नगरी निकुञ्जको कोर क्षेत्रमा पर्यटक लगेर योगाभ्यास गराउने, बियर लगायतमा मादक पदार्थ पर्यटकलाई सेवन गर्न दिने, गैँडा लगायतका जंगली जनावर हेर्दा कायम नगरी पर्यटक र टेकरसमेतलाई जोखिममा पार्ने लगायतको गतिविधि गरेका निकुञ्जमा उजुरी परेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाले अधिकारीको गतिविधिबारे पटक पटक निकुञ्जमा सूचना आएको र उनलाई सचेत गराउँदा पनि नमानेपछि पथप्रदर्शक लाइसेन्स जफत गरिएको बताए ।
उनका अनुसार अधिकारीले नियम विपरीत पर्यटकलाई राप्ती बगरमा योगाभ्यास गराइरहेको निकुञ्जको गस्ती टोलीले नै भेट्टाएको थियो ।
सोही आधारमा एक महिनाको लागि पथप्रदर्शकको काम गर्न नमिल्ने गरी लाइसेन्स जफत तथा निलम्बन गरिएको निकुञ्जका संरक्षण अधिकृत दिवेश श्रेष्ठले मेघौली घटगाई नेचर गाइड एशोसियसनलाई पत्र काटेर जानकारी गराएको छन् । उक्त एशोसियसनमा आबद्ध गाइडले निकुञ्जको पश्चिम क्षेत्रमा पथप्रदर्शकको काम गर्दै आएका छन् ।
मेघौली घटगाई नेचर गाइड एशोसियसनका अध्यक्ष मनेश लिम्बुले निकुञ्जले लाइसेन्स जफत गरेको पत्र प्राप्त भएको जानकारी दिए ।
उनले सबै पथप्रदर्शकले १५ वटा आचार संहिता पालना गर्नुपर्ने पनि बताए । तर, अधिकारीले गरेको नियम उलंघनबारे निकुञ्जको पत्र आएपछि जानकारी आएको बताए । उनका अनुसार एशोसिएसनमा आबद्ध ९२ जना पथप्रदर्शक रहेका छन् ।

Leave a Reply