जनकपुरधाम । सिरहाको बरियारपट्टी गाउँपालिका ३ बाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक चिनियाँ नागरिकलाई पक्राउ गरी लगेको छ ।
चिनियाँ नागरिक यू सिचाओ (YU SHICHAO) र दुई नेपालीलाई एसएसबीले शुक्रवार दिउँसो नियन्त्रणमा लिएको थियो । दुवै नेपालीलाई शुक्रवार राति छाडिएको छ । चिनियाँ नागरिक भने अझै एसएसबीकै नियन्त्रणमा छ ।
बरियारपट्टी गाउँपालिका ३ का जीवछ साहको घर छेउबाटै चिनियाँ नागरिक र दुई नेपालीलाई समेत भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गएको बताइएको छ । यसको पुष्टि सशस्त्र प्रहरी बल बरियारपट्टीका इन्सपेक्टर शंकर थापाले गरेका छन् ।
इन्सपेक्टर थापाले भने, ‘नेपाली भूमिबाटै उनीहरूलाई एसएसबीले नियन्त्रणमा लिएको गएको सही हो । त्यतिबेला हामी बाहिर बोर्डरमै ड्यूटीमा थियौँ । नेपालीलाई समेत लगेको थाहा पाएपछि समन्वय गरे । राति दुवै नेपालीलाई छाडेपछि घर फर्किसकेका छन् ।’
एसएसबीले चिनियाँ नागरिकसँगै बरियारपट्टीकै डा. सञ्जित दास र मुकेश दासलाई पक्राउ गरेको थियो । मुकेश बरियारपट्टी गाउँपालिकाका इन्जिनियर रहेको बुझिएको छ । डा. सञ्जितको चिनियाँ नागरिक साथी हुन् ।
डा. सञ्जित चीनबाट एमबीबीएस पढेका हुन् । पढ्न गएकै बेला डा. सञ्चित र चिनियाँ नागरिक यू सिचाओबीच चिनजान भएको थियो ।
यू सिचाओ तीन महिनाका लागि नेपाल आएका उनको पासपोर्टबाट खुलेको छ । शंकास्पद गतिविधि गरेपछि चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको भारतीय सुरक्षाकर्मीको दाबी रहेको सशस्त्रका इन्सपेक्टर थापाको भनाई छ ।

Leave a Reply