काठमाडौं । ठमेलको नरसिंह चोकबाट दक्षिणतर्फको दाहिने गल्लीमा देखिन्छ एउटा आलिसान होटल । जसको नाम हो– ‘आर्या होटल एण्ड स्पा’ । लामो समय जापान बसेका गैर आवासीय नेपाली कृष्ण सिम्खडाको लगानीमा उक्त होटल सञ्चालनमा आएको हो ।
जापानमा २४ वर्ष बिताएका धादिङका सिम्खडा सात वर्ष अघि नेपालको पर्यटन क्षेत्रमै केही गर्नुपर्छ भनेर फर्किए । यहाँको पर्यटन क्षेत्रबारे विभिन्न अध्ययन अनुसन्धान गरे । होटल सञ्चालन गर्नका लागि उनले ठमेलमा एउटा जग खने र शुरु गरे होटल बनाउन ।
दृढ अठोट, धैर्य, मेहनत र लगनशीलताको परिणाम नै सफलता हो भन्ने उदाहरण हुन्, सिम्खडा । उनले यो होटल बनाउनका लागि सात वर्षको समय खर्चिएका छन् । यी पुरै वर्ष आफै खटिएर एउटा आलिसान होटल खडा गरेका छन् उनले ।
‘जुन कुरामा म छिर्छु त्यसको जरासम्म म आफैले गर्नुपर्छ । यो होटल पनि म आफै सात वर्ष खटिएर बनाएको हो’, उनले भने, ‘आफ्नो काम आफै गर्नुपर्छ भनेर मलाइ जापानले सिकायो । मैले सिकेको कुरा आफ्ना लागि आफै गर्ने गर्छु ।’

नेपाल फर्किएर होटलमा लगानी शुरु गर्दै गर्दा उनलाई धेरैले भन्थे– एउटै होटलमा यति धेरै लगानी किन ? उनी जवाफमा भनेको कुरा स्मरण गर्दै सुनाउँछन्, ‘मलाई नेपालमा त्यो पनि ठमेलमै किन यति धेरै लगानी गरेको भन्थे । साथीहरूले कति मूर्ख बनेको भन्थे । उनीहरूलाई म जहिले पनि जुन चिज मैले सोचेको छु त्यो तिमीहरूले फिल गरेका छैनौँ । भोलीका दिनका लागि मैले यो लगानी गरेको हो भनेर सम्झाउँथे ।’
सात वर्षअघि नेपाल फर्किदा उनलाई लागेको थियो– विभिन्न ठाउँमा पहिले जग्गा किन्छु र पछि होटल बनाउँछु भनेर । तर, नेपाल आइपुगेपछि उनको सोचमा परिवर्तन आयो । पहिले एक ठाउँमा जग्गा किनेर होटल बनाउँछु र पछि अन्य ठाउँमा विस्तार गर्छु भन्ने निष्कर्षमा पुगे उनी ।
‘सात वर्ष अगाडी मैले ठमेलमा जग्गा किने । त्यसपछि म पुरै घुम्न थाले । पहिले पाँच ठाउँमा जग्गा किन्छु त्यसपछि होटल बनाउन थाल्छु भनेर सोचे । फेरि मलाई अहिले जग्गा किनेर फ्रिज गरेर के राख्नु भन्ने लाग्यो र यहाँ मात्रै किनेर पहिले यो एउटा बनाउँछु भनेर लागे’, उनले भने ।
सिम्खडाले थप पाँच ठाउँमा यस होटलका शाखा खोल्ने योजना बनाएका छन् । काठमाडौं, नगरकोट, लुम्बिनी, पोखरा, चितवनमा होटल खोल्ने सोचमा रहेको उनले सुनाए ।

सिम्खडाका अनुसार करिब २० आना जग्गामा निर्माण भएको होटलमा जग्गासहित दुई अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको छ ।
केही दिनअघि सफ्ट ओपनिङ गरिएको आर्या होटल एण्ड स्पामा नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण पाइन्छ । यस होटलको मूल ढोकामै नेपाली शिल्पकला देखिन्छ । यहाँ विशेषगरि नेवारी शिल्पकलाको बेजोड प्रस्तुति देख्न सकिन्छ । होटलका कर्मचारी पनि नेवारी पोसाकमा सजिएर बस्ने गरेका छन् ।
होटलका सबै तलामा नेपालीपन भेटिन्छ । थाम, कुर्सी, कुसन सबैजसोमा नेपालीपन छ । होटलका रूपमा देखिने टुँडाल, फाल्चा, आँखीझ्याललगायतका नेपाली कलाकृतिले जोकोहीलाई मोहित बनाउँछ ।
होटलको लबिमा मयुर झ्याल र देशमरु झ्यालको मिश्रणसहितको उत्कृष्ट काष्ठकला देख्न सकिन्छ । पाहुनालाई स्वागत गर्नका लागि पनि नेपाली परम्परालाई अँगालिएको छ, ताकी आगन्तुकले नेपाली आतिथ्यता अनुभव गर्न सकुन् ।
सिम्खडाका अनुसार ठमेलले नै काठमाडौं चिनाएको हो । ठमेलले नै विदेशीहरू आउने बाटो बनाएको हो । ठमेल विदेशमा नेपाल चिनाउने माध्यम पनि हो । नेपाल आउने सबैजसो पर्यटक ठमेल नपुगी फर्कँदैनन् ।
नेपालबाट स्वदेश फर्कँदै गर्दा उनीहरूले नेपाली कला र संस्कृतिको अनुपम अनुभव लिएर फर्किन पाउन भन्ने उद्देश्यले आफ्नै सोचमा होटल निर्माण गरेको उनको भनाइ छ ।
‘विदेशका चिल्ला होटल हेर्न त सबै आउँछन्, तर नेपाली कला र संस्कृति झल्कने होटल निर्माण गर्न सकियो भने यसले हाम्रो संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्छ भन्ने विश्वास छ’, उनले भने ।
होटलको लबिमै कर्नर ब्रू क्याफे रहेको छ । बाथरुम हार्डवेयरमा एन्टिक सेलेक्सनलाई रोजिएको छ ।
होटलका रुमहरूलाई चार प्रकारका ‘क्याटोगोरि’मा वर्गीकरण गरिएको छ । होटलमा १६० डलरदेखि १६ सय ८० डलरसम्मका विभिन्न वर्गका रुमहरू छन् ।

७२ वटा रुम भएको होटलमा ४१ वटालाई आर्या डिलक्स रुम छन्, जसलाई आधुनिक र परम्परागत गरी दुई शैलीमा डिजाइन गरिएको छ । परम्परागत शैलीमा डिजाइन गरिएको रुममा नेपाली कला बढी देख्न सकिन्छ । पाहुनालाई सोहीअनुसारको अनुभव दिलाउनका लागि काठको बुट्टे फ्रेममा विभिन्न पेन्टिङ देख्न सकिन्छ ।
होटलमा ज्याकुजीको सुविधासहित २९ वटा आर्या स्वीट रुम छन् । प्रत्येक स्वीट रुममा सिटिङ एरियामा सोफाको सट्टा बस्नका लागि फाल्चा निर्माण गरिएको छ भने बायुपङ्खी घोडा कुँदिएको टुँडाल पनि देख्न सकिन्छ । दराजमा आँखीझ्यालको कला कुँदिएको छ । त्यसबाहेक केही रुममा काठबार सहितको बार्दलीको पनि सुविधा छ ।
होटलमा भएको एक्जुकेटिभ स्वीट विशेष छ । ६५ वर्ग मिटरको रुममा इनबिल्ड टेलिभिजनसहितको ज्याकुजीको सुविधा पाइन्छ । त्यसबाहेक रुमभित्रै साउनाको मज्जा लिन सकिनेछ । नेपाली शैलीमा निर्माण गरिएका बेडरुममा पनि काष्ठकला पोखिएका छन् ।
होटलमा करिब १०० वर्ग मिटरको प्रेसिडेन्सियल स्वीट रुम छ । यसभित्र मास्टर बेडरुमसहितको इन्टर कनेक्टिङ बेडरुम छ । किचन, डाइनिङ रुम, प्राइभेट बार, इनबिल्ड टेलिभिजनसहितको ज्याकुजी, साउनाको सुविधा प्रेसिडेन्सियल स्वीट रुमभित्रै उपलब्ध छन् ।
होटलका हेरिटेज रुमहरुमा भक्तपुरमा निर्माण गरिएको तेलिया इँटा बिछ्याइएको छ । परम्परागत शैलीको कोठामा ऐनाको फ्रेमदेखि दराजको ढोकामा काष्ठकला देख्न पाइन्छ । पाहुनाका सबै रुममा फ्रेन्च फ्रेस कफीको व्यवस्था गरिएको छ । होटलका रुमहरु स्वयम्भू, धरहरा र सिटी भ्यू हुने गरी तयार गरिएको छ ।
होटलको पहिलो तलामा करिब २५ जना बस्न मिल्ने हल छ भने ११औँ तलामा पनि करिब ७० जना अट्ने सभाहल निर्माण गरिएको छ ।

होटलको १२औँ तलामा १०० जना बढी अट्ने क्षमताको सोरा नामक अल डे डाइनिङ रेष्टुरेन्ट छ । त्यसैको छेउमा ‘स्काइ लाइन सोरा’ पनि छ । सोरा स्काइ लाइनको सिसामा स्काइ वाकको मजा लिँदै डिनर गर्न सकिन्छ । होटलले सोरा स्काइ लाइन विशेष गरी डिनरका लागि पनि खुला गरिने भएको छ । जहाँ ५० जना अट्न सक्ने क्षमताको बनाइएको छ ।
होटलको सबैभन्दा माथिल्लो तलामा द थर्टिन्थ रिट्रिट नामको ३६० डिग्री भ्यूको लाउञ्ज छ । जहाँबाट एकैसाथ स्वयम्भू बौद्धनाथ, धरहरालगायत काठमाडौँ वरपरका डाँडासहित लगभग पूरै काठमाडौं सहर देख्न सकिन्छ । होटलको नवौँ तल्लामा नथाइन् वेभ नामकरण गरिएको बार छ ।
होटलले आवासीय र स्थानीय पाहुनाका लागि सुविधा सम्पन्न स्पाको सुविधा उपलब्ध गराएको छ । महिला र पुरुषका लागि अलग–अलग कोठामा साउन, स्टिम निर्माण गरिएका छन् । स्वयम्भूको दृश्य हेर्दै स्पामा रहेको ज्याकुजीको आनन्द लिन सकिन्छ । स्पामा अनुभवी थेरापिस्ट छन् । वेल इक्युप जिम हल निर्माण गरिएको छ ।
होटलको नवौँ तल्लामा टेम्प्रेचर मेन्टेन्ड स्वीमिङ पुल छ । स्वीमिङ पुलसँगै एकै साथ आठ जना बस्न मिल्ने आउटडोर ज्याकुजी छ ।

धादिङमा जन्मिएका सिम्खडाको बाल्यकाल काठमाडौंमै बित्यो । उच्च शिक्षाका लागि उनी रसिया पुगे । त्यहाँ कम्प्युटर इन्जिनियरिङ गरेपछि ६ वर्षको रसियाको बसाइलाई बिट मार्दै उनी फेरि काठमाडौं फर्किए । त्यसपछि काठमाडौंमै जागिर जीवन शुरु गरे ।
उनी लामो समयसम्म जागिरे बनिरहन सकेनन । जागिरे जीवन बिताइरहँदा उनलाई व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी जाग्यो । त्यसपछि उनी जापानतिर लागे र अटो मोबाइल व्यवसाय शुरु गरे । जापानमा उनले अटोमोइलसंगै हस्पिटालिटी व्यवसायमा हात हाले र रेस्टुरेन्ट सञ्चालनमा ल्याए । हाल उनले जापानमा पनि चेन रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् ।
सिम्खडाले व्यवसायीको परिचय बनाएको नै दुई दशक नाघिसकेको छ । उनले जति पनि व्यवसाय सञ्चालनमा ल्याएका छन् ती सबैमा एक्लै लगानी गरेका छन् । आर्या होटलमा पनि उनको एकल स्वामित्व रहेको छ ।
नेपालको पर्यटनमा एक्लै अर्बौँ लगानी गरिरहेका सिम्खडा चाहे अनुसारको विदेशी पर्यटकहरूलाई सुविधा सम्पन्न सेवा दिन तयार रहेको बताउँछन् । नाम बुटिक भनेर नराखे पनि सेवा भने त्यो भन्दा उच्चस्तरीय रहेको दाबी गर्दै उनले अगाडी भने, ‘बुटिक भनेको फिल गराउने कुरा हो । नाम नै बुटिक राख्नु पर्छ भन्ने छैन । हामीले दिने सेवाले बुटिक फिल गराउनु सक्नु मुख्य कुरा हो ।’
नेपालमा होटलको लगानी बढिरहेको छ तर त्यस अनुसारको पर्यटकको सङ्ख्या बढ्न सकेको छैन । अहिले पर्यटकको सङ्ख्या कम नै भए पनि भोलीका दिनमा बढ्ने सम्भावना देख्छन् सिम्खडा । उनले यस क्षेत्रमा भविष्य देखेर नै लगानी गरेको सुनाए ।
‘यस क्षेत्रमा चुनौतीहरू पक्कै छन् । तर चुनौतीहरूकै बिचमा सफलता हात पार्न अगाडी बढेको हो’ सिम्खडा भन्छन्, ‘अहिले पर्यटक आएनन्, लगानी धेरै भयो भनेर चिन्ता लिनु पर्दैन । अहिले नभए पनि भोलीका दिनमा अवश्य बढ्नेछन् । अहिले तयार भएर नबसे भोलीका दिनमा पर्यटक आएर संरचना बनाऊ भन्दा तुरुन्तै बन्दैनन् । त्यसकै लागि अहिले हामीले संरचना बनाउने हो ।’

Leave a Reply