काठमाडौं । देशभरका ६ वटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु रकम काठमाडौं महानगरपालिकामा देखिएको छ । प्रतिशतको हिसाबले हेर्दा भने पोखरामा धेरै छ ।
महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार बालेन्द्र साह (बालेन) को महानगरपालिका काठमाडौंमा २.४७ प्रतिशत बेरुजु देखिएको छ । रकममा यहाँको बेरुजु ६८ करोड २ लाख रहेको छ । काठमाडौंमा २७ अर्ब ५२ करोड ४४ लाख रूपैयाँको लेखा परीक्षण गरेको थियो ।
पोखरा महानगरको ५० करोड ४३ लाख रूपैयाँ बेरुजु देखिएको हो । धनराज आचार्य मेयर रहेको यस महानगरमा १३ अर्ब ४६ करोड ७२ लाखको लेखा परीक्षण गरिएको थियो ।
त्यस्तै, वीरगञ्जमा २२ करोड ७५ लाख बेरुजु देखिएको छ । यहाँ राजेशमान सिंह मेयर छन् ।
अन्य तीन महानगरको एक प्रतिशतभन्दा कम बेरुजु रहेको छ । भरतपुर महानगरपालिकाको बेरुजु १० करोड २ लाख रूपैयाँ छ । ०.५२ प्रतिशत रहेको ललितपुरको बेरुजु ५ करोड ५५ लाख देखिएको छ । भरतपुरमा रेनु दाहाल र ललितपुरमा चिरीबाबु महर्जन मेयर छन् ।
प्रतिशत र रकम दुवैका हिसाबले सबैभन्दा कम बेरुजु विराटनगर महानगरपालिकाको देखिएको छ । यहाँका मेयर नागेश कोइराला हुन् । यस महानगरमा २ करोड ८ लाख ५७ हजार बेरुजु देखिएको छ । जुन ०.३२ प्रतिशत हो । यस महानगरको आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण गरिएको थियो ।

Leave a Reply