२०४७ साल जेठ १ मा स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल आज ३५ वर्षको यात्रापछि दशौं राष्ट्रिय महाधिवेशनको संघारमा उभिएको छ । यी साढे तीन दशकमा राष्ट्रिय युवा संघ नेपाल युवा आन्दोलनको अग्रमोर्चामा विनाहिचकिचाहट सशक्त रूपमा उभिँदै आएको छ । लोकतन्त्रको पुनःस्थापनादेखि युवाहरूका मुद्दाहरू स्थापित गर्नसम्म, गुण्डागर्दी र अराजकताबाट लोकतन्त्रलाई संरक्षण गर्नेदेखि जनताका दुःखपीडामा मलहम लगाउनेसम्म, राष्ट्रिय युवा संघ नेपालको अग्रणी भूमिका रहेको छ ।
अधिकारको पक्षमा लडेका अनेक आन्दोलनहरूमा युवाहरूको रगतमात्र हैन, जीवन नै बलिदान गरेको यो संगठन आज एक ऐतिहासिक मोडमा उभिएको छ । १०औं राष्ट्रिय महाधिवेशन केवल संघको आन्तरिक कार्यक्रम होइन । मुलुकको एक मुख्य दलको प्रभावशाली युवा संगठन भएकाले राष्ट्रिय युवा संघ नेपालको यस महाधिवेशनले मुलुकको समग्र राजनीतिक अभ्यासमा गहिरो प्रभाव पार्नेछ र महत्वपूर्ण सन्देश दिनेछ । त्यसकारण यो महाधिवशेन युवा संघका नेता कार्यकर्ता वा नेकपा एमालेका नेता कार्यकर्ताको मात्र चासोको विषय नभएर आमचासोको विषय बनेको छ र बन्नुपर्छ ।
आजको सन्दर्भमा जब नेपालको आकाशमा निराशा, क्रोध र असहायपनको कालो बादल मडारिएको छ, जब हजारौँ युवा हरेक दिन शिक्षा, रोजगारी र अवसरको खोजीमा देश छाडिरहेका छन्, तब राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनले आशा र राष्ट्रिय पुनर्जागरणको बलियो सन्देश दिनु अपरिहार्य छ ।
यसप्रकारको सन्देश दिन राष्ट्रिय युवा संघ नेपालले आफ्नो दशौं राष्ट्रिय महाधिवेशनमार्फत संगठनलाई रि-ब्रान्डिङ गर्ने प्रयत्न गर्नुपर्छ । रि-ब्रान्डिङ भनेको केवल संगठनको रूप र शैली परिवर्तन गर्ने कुरा होइन, यो संगठनको मूल आदर्शतर्फ फर्कने साहसी निर्णय हो । यसको अर्थ हो– युवाका मुद्दाहरूलाई केन्द्रमा राख्दै उनीहरूको आवाजसँग आफूलाई जोड्नु, तिनीहरूको वास्तविक समस्या र आकांक्षासँग आत्मीयता स्थापित गर्नु ।
आजको डिजिटल प्रविधिको युगमा समेत संगठनको सदस्यता कागजी रूपमा रहेको यथार्थ हाम्रोसामु छ । मातृ पार्टी नेकपा एमालेले समेत धेरै पहिलेदेखि सदस्यता डिजिटल प्रणालीमा अभ्यास गरिरहेको सन्दर्भमा युवाहरूको संगठन भएर पनि प्रविधिको प्रयोगमा मातृ पार्टीभन्दा पछाडि हुनु आफैंमा लज्जास्पद विषय हो ।
दशौं राष्ट्रिय महाधिवेशनले संघको मूल संरचना र कार्यदिशामा आमूल परिवर्तन गर्ने आधार निर्माण गर्नुपर्छ । तीव्र गतिमा बदलिँदो समय, प्रविधिमा आधारित समाज र विविध राजनीतिक धारणाहरूसँग जुध्न र युवा पुस्तालाई अझ प्रभावकारी ढंगले सम्बोधन गर्न संगठनको रि–ब्रान्डिङ अपरिहार्य भइसकेको छ । नयाँ पुस्ता विशेषगरी जेनजी (१९९७ पछि जन्मेका) तथा आगामी जेन अल्फासम्म पुग्न आवश्यक रहेको छ ।
संगठनलाई साँचिकै युवा प्रतिनिधिको रूपमा पुनःस्थापित गर्न, आजको समयानुकूल गतिशीलता हासिल गर्न र जनजीवनमा यसको भूमिकालाई पुनः प्रभावशाली बनाउन संगठनले आगामी राष्ट्रिय महाधिवेशनबाट निम्न कार्यहरू गर्नुपर्छ भन्ने हेतुले संगठनका नेता–कार्यकर्तादेखि आमयुवाको विचार विमर्शका लागि निम्न बुँदाहरू पेश गरेका छौं ।
सदस्यता र सहभागितामा स्वतन्त्र युवालाई जोड
संगठनको स्थापनाकालीन उद्देश्यहरूलाई सम्मान गर्दै आजको वस्तुगत सामाजिक, राजनीतिक र प्रविधिमैत्री परिवेशमा संगठनको दायरा स्वतन्त्र युवा वर्गसम्म विस्तार गर्नु अत्यावश्यक छ । यसका लागि संगठनमा आवद्ध हुन कुनै राजनीतिक पूर्वशर्त नराखी स्वतन्त्र युवालाई पनि सहज रूपमा सदस्य बन्न प्रेरित गर्नुपर्छ र संगठनको सार्वजनिक छविसमेत त्यसैअनुरूप विकास गर्नुपर्छ । यसका लागि ‘पार्टीसँग वैचारिक सामीप्यता र सांगठनिक स्वतन्त्रता’को स्थापनाकालीन नीतिलाई अवलम्बन गरिनुपर्छ ।
यस विषयमा कमरेड मदन भण्डारीले भन्नुभएको कुरा मननयोग्य छ– ‘आफ्नो वर्ग र पेशाको हितमा आवश्यक परेको खण्डमा प्रजातान्त्रिक ढङ्गले पार्टीको नीतिभन्दा फरक मत राख्ने र त्यसअनुसार काम गर्ने स्वतन्त्रता जनवर्गीय संगठनलाई दिनुपर्छ’ (मदन भण्डारीको संकलित रचनाहरू पृ. १२३) । यसले गर्दा नेकपा एमालेसँग नजोडिएका युवाहरू पनि कुनै धक नमानिकन हाम्रो संगठनको गतिविधिमा संलग्न हुनेछन्, जसले गर्दा आमयुवासँगको विद्यमान ‘communication gap’ घट्नेछ । यसका लागि सबै तहका कमिटीहरूमा यस्ता युवाहरूको सहभागिता सुनिश्चित गर्ने वैधानिक आधार तयार गरिनुपर्छ ।
डिजिटल प्रणालीमार्फत सदस्यता लिने व्यवस्था हुँदा युवाहरूको आकर्षण स्वतः बढ्नेछ । यो हेर्दा सामान्य विषय जस्तो लाग्छ, तर यसले संगठन र कार्यकर्तालाई व्यवस्थापन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
डिजिटल सदस्यता प्रणाली
राष्ट्रिय युवा संघ नेपाल मुलुकको सबैभन्दा ठूलो युवा संगठन हो । आज राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्ला तथा लगभग सबै स्थानीय तहमा कमिटी रहेका छन् । त्यसैगरी अधिकांश वडा तथा टोलस्तरमा समेत कमिटी रहेका छन् । यी सबै तहका कमिटीमा कति जना सदस्य रहेका छन् भन्ने कुराको यकिन तथ्यांक संगठनसँग नरहेको परिस्थिति छ । साथै आजको डिजिटल प्रविधिको युगमा समेत संगठनको सदस्यता कागजी रूपमा रहेको यथार्थ हाम्रोसामु छ । मातृ पार्टी नेकपा एमालेले समेत धेरै पहिलेदेखि सदस्यता डिजिटल प्रणालीमा अभ्यास गरिरहेको सन्दर्भमा युवाहरूको संगठन भएर पनि प्रविधिको प्रयोगमा मातृ पार्टीभन्दा पछाडि हुनु आफैंमा लज्जास्पद विषय हो ।
साथै यकिन तथ्यांकको अभावमा संगठनको वास्तविक सांगठनिक शक्तिको समेत जानकारी नहुने, जसले संगठनको रणनीति, कार्यनीति साथै गतिविधिमा समेत नकारात्मक प्रभाव पार्छ । अहिलेको प्रविधिको युगमा समेत डिजिटल सदस्यता प्रणाली नहुनुले संगठनलाई नयाँ पुस्तासँग जोड्ने कुरामा तगारो खडा गर्दछ । तसर्थ राष्ट्रिय युवा संघ नेपालले अविलम्ब डिजिटल सदस्यता प्रणाली शुरु गर्नुपर्छ । व्यवस्थित सदस्यता प्रणालीका निम्ति प्रत्येक सदस्यलाई युनिक सदस्यता नम्बर प्रदान गर्ने, सदस्यतालाई व्यवस्थित अभिलेख राख्ने, सदस्यता शुल्क तथा लेबी अनलाइनमार्फत तिरेर अद्यावधिक गर्न मिल्ने व्यवस्था गर्नुपर्छ ।
यसले पारदर्शिता, तथ्याङ्कको वास्तविकता र संगठनको भौगोलिक तथा विषयगत पहुँचको चित्रण गर्न सहयोग गर्छ । डिजिटल प्रणालीमार्फत सदस्यता लिने व्यवस्था हुँदा युवाहरूको आकर्षण स्वतः बढ्नेछ । यो हेर्दा सामान्य विषय जस्तो लाग्छ, तर यसले संगठन र कार्यकर्तालाई व्यवस्थापन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
थिग्रिएको पोखरी हैन, बगेको खोला जस्तो संगठन
आजको युवा पुस्तासम्म पुग्न राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप, काठमाडौं उपत्यकास्तर फुटसल प्रतियोगिता, अन्तर्राष्ट्रिय एआई कन्फरेन्सलगायत गतिविधि सञ्चालन गर्दै आएको छ । यसका साथै विभिन्न रचनात्मक गतिविधिहरू जस्तैः रक्तदान कार्यक्रम, वृक्षरोपण कार्यक्रमसमेत गर्दै आएको छ । सांगठनिक रूपमा संगठनलाई चलायमान बनाउन राष्ट्रिय युवा संघ नेपालले Mission Next Election, Target New Generation जस्ता कार्यक्रमहरू पनि निरन्तर गर्दै आएको छ । यति धेरै सक्रियताका बाबजुद पनि यी विभिन्न गतिविधिमार्फत संगठनमा उल्लेख्य संख्यामा नयाँ सदस्यहरू थप्न नसकिएको यथार्थ हाम्रोसामु छ ।
एकातिर दोहोरिने व्यक्ति माथिल्लो तहमा जिम्मेवारी प्राप्त नगरेकोमा असन्तुष्ट रहने र उक्त पदमा पुग्न चाहेको व्यक्ति आफू तल्लो तहमै सीमित हुनुपरेकोमा असन्तुष्ट रहने अवस्था छ । यसले संगठनलाई ऊर्जाविहीन र उत्साहविहीन पद केन्द्रितहरूको एउटा समूहमा सीमित राख्ने खतरा सिर्जना भएको छ ।
साथै सांगठनिक गतिविधिहरूमा समेत नवयुवाहरूको नगन्य उपस्थिति रहने गरेको र उहीँ वर्षौंदेखि सहभागी युवाहरूको नै पुनः सहभागिता रहने गरेको छ । यस हदसम्मको संगठनप्रतिको आकर्षणमा आएको ह्रास राष्ट्रिय युवा संघ नेपालका लागि गम्भीर चुनौतीको विषय हो । कुनै पनि राजनीतिक संगठनप्रतिको आकर्षणको मापन उक्त संगठनमा कति नयाँ सदस्य आबद्ध हुन खोजिरहेका छन् भन्ने कुराले प्रारम्भिक रूपमा निर्धारण गर्ने गर्छ ।
साथै उक्त संगठनको निरन्तरता पनि नयाँ सदस्य आबद्ध हुँदै जाने र पुराना सदस्यले पनि सक्दो योगदान पु¥याएर राजनीतिका अन्य मोर्चामा स्तरोन्नति हुने अभ्यासले मात्र ग्यारेन्टी गर्ने हो, तर आजका दिनमा राष्ट्रिय युवा संघ नेपालको सांगठनिक संरचना र अभ्यास भने एउटै व्यक्ति एकभन्दा बढी कार्यकाल एउटै पदमा दोहोरिरहने प्रकारको रहेको छ ।
यसले गर्दा एकातिर दोहोरिने व्यक्ति माथिल्लो तहमा जिम्मेवारी प्राप्त नगरेकोमा असन्तुष्ट रहने र उक्त पदमा पुग्न चाहेको व्यक्ति आफू तल्लो तहमै सीमित हुनुपरेकोमा असन्तुष्ट रहने अवस्था छ । यसले संगठनलाई ऊर्जाविहीन र उत्साहविहीन पद केन्द्रितहरूको एउटा समूहमा सीमित राख्ने खतरा सिर्जना भएको छ । यसरी उहीँ व्यक्तिहरू दोहोरिरहँदा संगठनमा सामान्य संख्यामा समेत नयाँ सदस्यहरू थप नभइरहेको यथार्थ हाम्रासामु छ । यस सन्दर्भमा संगठनका वर्तमान अध्यक्ष क्षितिज थेबेले नदोहोरिने भनेर गर्नुभएको घोषणा सराहनीयमात्र हैन, उदाहरणीय पनि छ ।
तसर्थ राष्ट्रिय युवा संघ नेपाललाई नवयुवाहरूको आकर्षणको केन्द्रका रूपमा पुनःस्थापित गर्न पदहरूमा दोहोरिने प्रवृत्तिलाई दुरुत्साहन गर्ने तथा जबजको मार्गनिर्देशन अनुरूप पहलकदमी र प्रतिस्पर्धाबाट नेतृत्व चयनलाई प्रोत्साहन गर्न निम्न सुधार गर्न आवश्यक छः
- कुनै पनि केन्द्रीय पदाधिकारी सोही पदमा एक पटकमात्र निर्वाचित वा मनोनीत हुनसक्ने व्यवस्था गर्ने ।
- संगठनको कुनै पनि सदस्य हाल आफू रहेको पदभन्दा तल्लो पदमा निर्वाचित वा मनोनीत हुन नसक्ने व्यवस्था गर्ने ।
- संगठनमा lateral entry को व्यवस्था गर्ने ।
- युवाको उमेर समूहको पुनः परिभाषाः हालको युवा उमेरको परिभाषा १६ देखि ४० वर्ष भन्ने छ । यस संरचनाअनुसार एकै परिवारका दुई पुस्ता आमाबाबु र छोराछोरी दुवै युवामा पर्छन् । उदाहरणका लागि एक युवाले २० वर्षमा विवाह गर्दा उसको २१ वर्षको उमेरमा सन्तान जन्मिन सक्छ । यसो हुँदा आमाबाबु ३७ वर्षको हुँदा छोराछोरी १६ वर्षको भइसकेको हुन्छ । यी दुई पुस्ताको आवश्यकता एक हुनसक्दैन र दुवै एकै पटक एकै पुस्तामा गनिनु वैज्ञानिक पनि हुँदैन । त्यसैले संगठनले ‘युवा’ उमेर समूहको परिभाषा १८ देखि ३७ वर्षसम्म कायम गर्नुपर्छ ।
सांगठनिक गतिविधिमार्फत भन्दा पनि नेतृत्वको चाकरीमार्फत आफू स्थापित हुन प्रयत्न गर्ने र वैज्ञानिक रिपोर्टिङ प्रणाली नहुँदा वस्तुगत जानकारीको अभाव हुने गर्छ, जसले नेतृत्वको चाप्लुसी गर्ने प्रवृत्ति हावी हुनपुग्छ । तसर्थ संगठनलाई व्यवस्थित राख्न, सदस्यहरूलाई उत्साहित बनाउन र युवा आन्दोलनलाई नयाँ ऊर्जाले जागृत गर्न संगठनमा एउटा वैज्ञानिक मूल्याङ्कन र रिपोर्टिङ प्रणालीको विकास र अभ्यास गर्न आवश्यक छ ।
- ३० वर्षभन्दा कम उमेर समूहको निश्चित कोटा व्यवस्थाः संगठनमा युवाको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्न नयाँ पुस्ता विशेष गरी जेन जी तथा आगामी जेन अल्फासम्म पुग्न ३० वर्षभन्दा कम उमेर समूहका सदस्यहरूको लागि सबै तहमा कोटा निर्धारण गरिनुपर्छ । सम्भव भएसम्म पदाधिकारीमा कम्तीमा एक जना ३० वर्ष वा सोभन्दा मुनिको युवा, संगठनको केन्द्रीय सचिवालयमा ३० वर्षभन्दा मुनिको उमेर समूहबाट न्यूनतम १० प्रतिशत, केन्द्रीय कमिटीमा ३० वर्षभन्दा मुनिको उमेर समूहबाट न्यूनतम २० प्रतिशत, प्रदेश कमिटीमा ३० वर्षभन्दा मुनिको उमेर समूहबाट न्यूनतम २५ प्रतिशत, जिल्ला कमिटीमा ३० वर्षभन्दा मुनिको उमेर समूहबाट न्यूनतम ३० प्रतिशत, पालिका कमिटीमा ३० वर्षभन्दा मुनिको उमेर समूहबाट न्यूनतम ३५ प्रतिशत, वडा कमिटीमा ३० वर्षभन्दा मुनिको उमेर समूहबाट न्यूनतम ४० तथा टोल कमिटीमा ३० वर्षभन्दा मुनिको उमेर समूहबाट न्यूनतम ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गर्न सकिन्छ ।यसले संगठनलाई नयाँ पुस्तासँग जोड्न महत्वपूर्ण भूमिका खेल्छ र संगठनप्रति आकर्षण पनि बढाउँछ ।
- अनिवार्य प्रशिक्षण प्रणालीको अभ्यासः राष्ट्रिय युवा संघ नेपालका प्रत्येक सदस्यलाई जिम्मेवारी र तहअनुसार राजनीतिक, सामाजिक, आर्थिक र सांगठनिक प्रशिक्षण आवश्यक रहन्छ । प्रशिक्षणविनाका सदस्यहरू हातहतियारविहीन तालिम नभएका लडाकु जस्ता हुन् । तालिम नभएका लडाकुहरूले लडाइँ जित्न त के कुशलतापूर्वक लड्न पनि सक्दैनन् । तसर्थ संगठनका प्रत्येक सदस्यलाई अनिवार्य प्रशिक्षण आवश्यक छ । आज संगठनको विभिन्न तहमा नेतृत्वमा रहेका धेरै नेताहरू सांगठनिक र सैद्धान्तिक विषयवस्तुमा अनभिज्ञ छन् । सामान्यभन्दा सामान्य सांगठनिक पद्धतिको विषयमा जानकार छैनन् । हामी केका लागि संगठित छौं, सांगठनिक प्रक्रिया र पद्धति के हो, राजनीतिक विचार र सिद्धान्त के हो भन्नेसमेत थाहा छैन । त्यसैले संगठनको जुनसुकै कमिटीमा निर्वाचित वा मनोनीत हुने हरेक सदस्यले आफू निर्वाचित वा मनोनीत भएपश्चात संगठनले तोकेको ढाँचाको प्रशिक्षणमा सहभागी भएर उत्तीर्ण भएपश्चात मात्र आफू निर्वाचित वा मनोनीत पदको शपथ लिन योग्य भएको मानिने व्यवस्था गर्न आवश्यक छ । यसका लागि हाल रहेको प्रशिक्षण विभागलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक छ । साथै प्रशिक्षणका लागि पाठ्यक्रमको पनि विकास गर्न आवश्यक छ ।
- वैज्ञानिक मूल्याङ्कन र रिपोर्टिङ प्रणालीः हरेक कमिटी र तिनका सदस्य तथा पदाधिकारीहरूको सहभागिता, सक्रियता र जिम्मेवारी वहनलगायतका विषयहरू समेटेर वैज्ञानिक आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने विधि लागू गरिनुपर्छ । यसले नेतृत्वको प्रभावकारिता बढाउँछ र योग्यताको आधारमा अगाडि बढ्ने मार्ग खुलाउँछ । साथै संगठनको कुनै पनि पदमा मनोनयन वा उम्मेदवारी प्रस्तुत गर्दा वैज्ञानिक मूल्याङ्कन प्रणालीमा आधारित अंक र रिपोर्टलाई प्रमुख मापदण्ड बनाइनु आवश्यक छ । यसले सिफारिस र पहुँचको आधारमा पद वितरण अन्त्य गर्नेछ । संगठनमा वैज्ञानिक मूल्याङ्कन प्रणाली नहुँदा सदस्यहरू सांगठनिक गतिविधिमार्फत भन्दा पनि नेतृत्वको चाकरीमार्फत आफू स्थापित हुन प्रयत्न गर्ने र वैज्ञानिक रिपोर्टिङ प्रणाली नहुँदा वस्तुगत जानकारीको अभाव हुने गर्छ, जसले नेतृत्वको चाप्लुसी गर्ने प्रवृत्ति हावी हुनपुग्छ । तसर्थ संगठनलाई व्यवस्थित राख्न, सदस्यहरूलाई उत्साहित बनाउन र युवा आन्दोलनलाई नयाँ ऊर्जाले जागृत गर्न संगठनमा एउटा वैज्ञानिक मूल्याङ्कन र रिपोर्टिङ प्रणालीको विकास र अभ्यास गर्न आवश्यक छ । यस प्रणालीले सदस्य र कमिटीलाई सांगठनिक गतिविधि गर्दा उचित मूल्यांकन हुनेछ र आन्तरिक रूपमा पदोन्नति तथा मनोनयन गर्दा उक्त मूल्यांकनलाई नै आधार मानिनेछ भन्ने कुरा स्थापित गर्नेछ । साथै यस प्रणालीमार्फत निर्वाचनमा उम्मेदवार बन्दा उक्त मूल्यांकनलाई मापदण्डका रूपमा राख्न आवश्यक देखिन्छ, जसले प्रत्येक सदस्यलाई संगठनप्रति जिम्मेवारमात्र हैन, जवाफदेही पनि बनाउनेछ ।
अतः दशौं राष्ट्रिय महाधिवेशनमार्फत राष्ट्रिय युवा संघ नेपालको रि-ब्रान्डिङ गर्नु अपरिहार्यमात्र हैन, अत्यावश्यक भइसकेको छ । रि-ब्रान्डिङ केवल संगठनको आन्तरिक सुधारमात्र होइन, निराशा र नकारात्मकताले भरिएको विद्यमान नेपाली समाजलाई युवाहरूले सञ्चार गर्नसक्ने आशा र सकारात्मकताको सञ्जीवनी बुटीसमेत हो । रि-ब्रान्डिङ गर्नु देशको युवाले खोजेको जस्तो संगठन बनाउनु हो, जो उनीहरूसँग उभिन्छ, उनीहरूका लागि बोल्छ र उनीहरूको भविष्यका लागि लड्छ ।
(शाही राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख तथा सिलवाल स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज हुन् ।)

Leave a Reply