उन्नत भौतिक संरचना,उत्कृष्ट पठनपाठन र जीवनयोपगी पाठ्यक्रम यी तीन कुरा नै वैज्ञानिक शिक्षाका आधार हुन् । आज हाम्रो शिक्षा प्रणाली कस्तो हुने भनेर वहस चलिरहेका बेला,विद्यालय शिक्षा सम्बन्धी कानून निर्माणको तयारी समेत भइरहेका बेलाा यी विषयमा संसदको ध्यान गएको छ कि छैन ? यो प्रश्न एकातिर छ । अर्कोतिर यी सबै चीज भएर पनि शैक्षिक वातावरण कस्तो बनाउने भन्ने प्रश्न आज संसारभर बहसमा छ । यो आलेख विशेषतः शैक्षिक वातावरण केन्द्रित वहस हो ।
विद्यालयको मानवीय तथा भौतिक वातावरण स्वस्थ, स्वच्छ र चित्ताकर्षक हुुनुपर्छ । शिक्षकले विषय र पाठले मागेअनुसार धक फुकाएर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न उत्साहित हुन्छन् । बालबालिका पनि शिक्षकको पठनपाठनप्रति आकर्षित हुन्छन् । जसबाट एकातर्फ शिक्षकलाई आत्मसन्तुष्टि प्राप्त हुने भएकाले पेसाप्रति थप उत्साहित बनाउँछ, अर्कोतर्फ रमाइलो वातावरणमा मात्र बालबालिकाको शारीरिक तथा मानसिक विकास सन्तुलित रूपमा हुन्छ । कक्षाकोठा, धारा, शौचालय, खेल्ने चौर, बाटो नियमित सरसफाइ तथा फोहोरमैलाको उचित व्यवस्थापन गरिनुपर्छ । शिक्षक स्टाफको स्वस्थकर बानीव्यहोराले बालबालिकाको बानी व्यहोरामा पनि सकारात्मक प्रभाव पार्छ ।
सामाजिक, धार्मिक संस्कार संस्कृति, मानवीय सद्भाव र सहयोग तथा भ्रातृत्वको भावनालाई उच्च प्राथमिकता दिएर नवीनतम ज्ञान र सीपबाट सुसज्जित भई सफल जीवनयापन गर्न सक्षम नागरिक उत्पादनका लागि अनुशासित शैक्षिक वातावरण अपरिहार्य हुन्छ । विद्यालयमा अनुशासित वातावरण कायम राख्न व्यावहारिक आचारसंहिता तथा त्यसको सहज रूपमा परिपालन गर्ने निष्पक्ष परिपाटी अवलम्बन गरिनुपर्छ । अनुशासनको नाममा गरिने मानसिक तथा शारीरिक यातनालाई पूर्ण रूपमा बर्जित गर्दै लोकतान्त्रिक मूल्य मान्यताअनुरूप कक्षा तथा विद्यालय सञ्चालन गर्ने संस्कारको विकास गरिनुपर्छ ।
शिष्ट, सदाचार, सौहार्द एवं नम्र बानीव्यहोरालाई प्रोत्साहित गर्ने मानवीय वातावरण विद्यालयमा हुनुपर्छ । बञ्चरोले भन्दा वचनले चिरेको घाउ गहिरो हुन्छ भन्ने यथार्थलाई बिर्सन हुँदैन । शिक्षक-विद्यार्थीको स्वाभिमानमा ठेस पुग्ने व्यवहार गरिनुहुन्न । विद्यालयले अख्तियार गरेका नीति र रणनीति कतिको प्रभावकारी भए, भविष्यमा कस्तो सुधार ल्याउनुपर्ला भन्ने उपायहरू खुट्याउन निरन्तर अनुगमन निरीक्षण गरिनुपर्छ । जसले योजना तथा कार्यक्रम र अनुशासनमा देखिएका कमी कमजोरीलाई सच्याउने र सच्चिने मौका प्रदान गर्छ ।
अनुशासनको नाममा गरिने मानसिक तथा शारीरिक यातनालाई पूर्ण रूपमा बर्जित गर्दै लोकतान्त्रिक मूल्य मान्यताअनुरूप कक्षा तथा विद्यालय सञ्चालन गर्ने संस्कारको विकास गरिनुपर्छ ।
शिक्षकमैत्री विद्यालय बनाउन विद्यालयसँग प्रत्यक्ष परोक्ष सरोकार राख्ने खासगरी विद्यार्थी, अभिभावक, समुदायलगायतका संघसंस्था र पदाधिकारीहरूको निरन्तर सकारात्मक सल्लाह सुझाव अपरिहार्य हुन्छ । शिक्षकले पनि आफ्नो योग्यता क्षमतालाई निरन्तर परिमार्जन र परिष्कृत गर्न प्राप्त सुझावलाई सदासयतापूर्वक ग्रहण गर्न हिचकिचाउनु हुँदैन । सुझावको आवश्यकता र औचित्यका आधारमा मार्गदर्शनको रूपमा अवलम्बन गर्नु बुद्धिमतापूर्ण काम हो । अतः विद्यालय शिक्षकमैत्री बनाउन विद्यार्थी, अभिभावक, समुदाय समेतका सुमधुर र सौहार्द दिगो सम्बन्ध हुुनु पूर्वसर्त हो । पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, विकेन्द्रित जिम्मेवारी आदिले विद्यालयप्रति अपनत्व भावनाको विकास भई मैत्रीपूर्ण वातावरण सिर्जना गर्न टेवा पुग्छ ।
शिक्षण पेसा निश्चय नै अन्य पेसाको तुलनामा बढी परिश्रम, जवाफदेही तथा समयको महत्वलाई बुझेर व्यवस्थापन गर्नुपर्ने मर्यादित पेसा हो । शिक्षकले एक दिनमा सामान्यतया विभिन्न कक्षाका विभिन्न संस्कार र संस्कृतिमा हुर्केका कम्तीमा २०० विद्यार्थीलाई पढाउनुपर्ने हुन्छ । अझ प्राथमिक विद्यालयमा त घण्टी बजाउने, झ्यालढोका लगाउने खोल्ने, सरसफाइ गर्ने समेत शिक्षकले नै गर्नुपर्ने बाध्यता छ । त्यस्तै विद्यालयको अतिरिक्त क्रियाकलाप, बैठकहरू, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँगको सहकार्य र बैठक आदिमा सहभागी हुनुपर्ने बाध्यता शिक्षकलाई हुन्छ । यसरी धेरै कार्यबोझले थिचिएका शिक्षकहरू कतिपय अवस्थामा पेसाप्रति निराश भएका छन् ।
शिक्षण पेसा निश्चय नै अन्य पेसाको तुलनामा बढी परिश्रम, जवाफदेही तथा समयको महत्वलाई बुझेर व्यवस्थापन गर्नुपर्ने मर्यादित पेसा हो । शिक्षकले एक दिनमा सामान्यतया विभिन्न कक्षाका विभिन्न संस्कार र संस्कृतिमा हुर्केका कम्तीमा २०० विद्यार्थीलाई पढाउनुपर्ने हुन्छ ।
यस्तो विषम परिस्थितिमा शिक्षकमैत्री विद्यालयको अपेक्षा चुनौतीपूर्ण छ । शिक्षकको आधारभूत आवश्यकताको अतिरिक्त थप सुविधाको आकर्षणबाट विद्यालयमा शिक्षकमैत्री वातावरण बनाउन टेवा पुग्छ । शिक्षकलाई शिक्षण पेसाप्रति निष्ठापूर्वक लाग्न उत्प्रेरित गर्न उनीहरूको आवश्यकताको वर्गीकरण गरेर प्राथमिकताका आधारमा उपलब्ध गराउनुपर्छ । शिक्षाका नीति नियम र योजना शिक्षक–विद्यार्थीलाई सर्वोपरि मानी उनीहरूको हितलाई केन्द्रविन्दुमा राखेर बनाउनुपर्छ ।
परम्परागत प्रविधि र प्रवृत्तिमा परिमार्जन परिष्कृत गर्दै वासी विषयवस्तुको सट्टा समयको माग तथा विद्यार्थीको रुचि क्षमता र आवश्यकता एवं चाहनाअनुसार नवीनतम साझी वा ताजा विषयवस्तु तथा शिक्षण सिकाइ क्रियाकलाप तर्जुमा र प्रयोग सौहार्द वातावरण भएमा बालबालिका विद्यालयबाट भागेर घरमा होइन, घरबाट भागेर विद्यालयमा जान्छन् । जसलाई शिक्षक तथा बालमैत्री विद्यालयको महत्वपूर्ण सफल सूचकको रूपमा लिन सकिन्छ । सचेत अभिभावक, समर्पित शिक्षक, कुशल व्यवस्थापक तथा अनुशासित विद्यार्र्थी एवं शिरमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी बोकेका व्यवस्थापन समिति पदाधिकारी, प्रधानाध्यापकलगायत सरकारी निकायका पदाधिकारीहरूको सहकार्य, सहमति, समन्व, समझदारी, सद्भाव, समन्वय र समीक्षा (सात स)मा मात्र शिक्षक तथा बालमैत्री विद्यालय फस्टाउन सक्ने यथार्थ हो ।
(लेखक त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पसमा समाजशास्त्र विषयमा प्राध्यापन गर्छन्)

Leave a Reply