जलवायु परिवर्तन अहिले समुदायका लागि एउटा पेचिलो विषय बनेको छ । मानवीय गतिविधिका कारण वायुमण्डलमा हरितगृह ग्याँस (ग्रीनहाउस ग्याँस)को मात्रा बढ्दै गएको छ । मानवीय सुखसुविधाका लागि अत्यधिक इन्धनको प्रयोग, औद्योगीकरण, सवारीसाधनको अधिक प्रयोग जस्ता मानवीय क्रियाकलापका कारण वायुमण्डलमा खराब ग्याँस अर्थात् कार्बन डाइअक्साइड र मिथेनलगायतका ग्याँस बढिरहेको छ । यसले पृथ्वीलाई झनै तातो बनाइरहेको छ, जसका कारण जलवायु परिवर्तन (ग्लोबल वार्मिङ) तीव्र रूपमा हुँदा यसको जोखिम र प्रभाव बढेको छ । जलवायु परिवर्तनमा धनी र शक्तिशाली राष्ट्रहरूको योगदान बढी छ । चीन, अमेरिका, भारत, ब्राजिललगायतका धनी र शक्तिशाली राष्ट्रहरूको योगदान बढी नै छ ।
चीन, अमेरिका, भारत, ब्राजिललगायतका धनी र शक्तिशाली देशहरू कार्बन उत्सर्जन गर्नेमा विश्वमै शीर्ष स्थानमा पर्छन्, तर आखिर पृथ्वी त सबै मानिस, प्राणी र वनस्पतिको साझा घर भएकाले जोसुकैले वायुमण्डलमा खराब ग्याँस उत्सर्जन गरे पनि त्यसको असर सबैले झेल्नुपर्छ । जलवायु परिवर्तनको असर पछिल्लो समय भयावह रूपमा देखिँदा यसका असर घटाउन विभिन्न देश, वैज्ञानिक र अभियन्ता लागेका छन् । अहिलेकै अवस्थाअनुसार यही स्तरमा जलवायु परिवर्तन जारी रहे स्थिति भयावह हुने वैज्ञानिकहरूले चेतावनी दिँदै आएका छन् ।
यस्तो विश्व परिवेशमा हिमालमा जलवायु परिवर्तनको उच्च असर परेको तथ्यसहित अभियानलाई विश्वव्यापी बनाउन नेपालले सगरमाथा संवादको आयोजना गर्न लागेको छ । सगरमाथा संवादको पहिलो संस्करण ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ नारासहित आयोजना हुँदैछ । जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा परेको असरबारे उजागर गर्न, पर्वतीय क्षेत्रका नागरिक र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्दै बुझाइमा एकरूपता ल्याउन, पर्वतीय र तटीय मुलुकले झेल्नुपरेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्न र नेपालमा जलवायु परिवर्तनले परेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने र जलवायु न्याय तथा जलवायु वित्त प्राप्तिमा निरन्तर पहल गर्ने प्रयासलाई विश्वव्यापी बनाउने उद्देश्य सगरमाथा संवादमार्फत नेपालले राखेको छ ।
यही जेठ पहिलो साता हुन लागेको नेपालको सगरमाथा संवादमा महत्वपूर्ण तीन वटा विषय राखिएका छन् । पहिलो– जलवायु अनुकूलनमा नेपालको सफलताका कथाहरू सुनाइनेछ । दोस्रो– नेपालले आफ्नो ऐतिहासिक दृष्टिकोण विश्वसामु राख्नेछ । यसले विश्वव्यापी सद्भाव, शान्ति र सुरक्षा खोज्ने नेपालको विश्व दृष्टिकोणलाई झल्काउनेछ्र । तेस्रो– विश्वको आर्थिक गुरुत्वाकर्षण केन्द्र एसियामा सर्दा एसियाको मुटुमा रहेको नेपाल विश्वव्यापी संवादका लागि एक आकर्षणस्थल बन्नसक्ने कुरालाई उजागर गर्ने लक्ष्य लिइएको छ । जसको परिणाम संवादले वार्ता, सहमति निर्माण र सहकार्यको माध्यमबाट विश्वव्यापी समझदारी र सहयोग प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नसक्छ ।
चीन, अमेरिका, भारत, ब्राजिललगायतका धनी र शक्तिशाली देशहरू कार्बन उत्सर्जन गर्नेमा विश्वमै शीर्ष स्थानमा पर्छन्, तर आखिर पृथ्वी त सबै मानिस, प्राणी र वनस्पतिको साझा घर भएकाले जोसुकैले वायुमण्डलमा खराब ग्याँस उत्सर्जन गरे पनि त्यसको असर सबैले झेल्नुपर्छ ।
हिमाल संरक्षणको विश्वव्यापी पैरवी गर्दै नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने घोषणा माघ ८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विश्वका विभिन्न मुलुकका राजदूत, अन्तर्राष्ट्रिय मिसन प्रमुखहरू, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरू, मन्त्री र उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा घोषणा गर्नुभएको थियो । केपी शर्मा ओली यसअधि प्रधानमन्त्री र प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री रहेको वेला जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले व्यहोरेका समस्यालाई विश्व समुदायबीच लैजान सगरमाथा संवादको परिकल्पना गर्दै पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय सरकारले गरेको थियो । सम्मेलनमा करिब ४० देशका १५० विज्ञ एवं प्रतिनिधि सहभागी गराउने तयारीका साथ काम अघि बढेको थियो ।
२०७६ चैत २०-२२ मा पहिलो सम्मेलनको तिथि तय भए पनि कोभिड महामारीका कारण त्यसबेला हुन सकेन । त्यसपछि २०७८ असोज १८-२० गते आयोजना गर्ने निर्णय भए पनि सरकार परिवर्तनसँगै त्यतिकै हराएर गयो । पछिल्लो सरकारको जलवायु परिवर्तनको मुद्दा प्राथमिकतामा नपर्दा यो सम्मेलन सरकारको सूचीबाट हट्न पुग्यो । त्यसबेला सगरमाथा संवादको पहिलो अन्तर्राष्ट्रिय श्रृंखलाको प्रमुख विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण तथा मानव जातिको भविष्य’ तय भएको थियो, तर जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन सगरमाथा संवाद हुन सकेन ।
पर्वतीय र तटीय मुलुकहरूको साझा मुद्दा बोकेर स्कटल्यान्डको ग्लास्गोमा हुँदै गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६)मा सहभागी हुने ओली सरकारको तयारी थियो, तर सरकार परिवर्तनसँगै सगरमाथा संवाद हुन नसक्दा जलवायु परिवर्तनको असर खेपिरहेका पर्वतीय मुलुक र तटीय मुलुकका साझा मुद्दा उठाएर कोप २६ मा प्रभावकारी भूमिका खेल्नबाट नेपाल चुक्न पुग्यो । त्यसबेलादेखि राजनीतिक पूर्वाग्रहको चपेटामा परेको सगरमाथा संवाद अन्तर्राष्ट्रिय सम्मेलन फेरि आयोजना हुनु जलवायु परिवर्तनका सन्दर्भमा महत्वपूर्ण पाटो हुनेछ । सगरमाथा संवादलाई सरकारले सफ्ट पावरका रूपमा अघि बढाउन खोजेको देखिन्छ । साथै यो विदेश नीतिसम्बन्धी एउटा गहकिलो प्रयास पनि हो । यसले मुलुकलाई नै लाभ पुर्याउनेछ ।
सगरमाथा संवादको पहिलो मितिमा तय भएको अन्तर्राष्ट्रिय सम्मेलनमा माइक्रोसफ्ट कम्पनीका प्रमुख विल गेट्सले नेपाल भ्रमण गर्ने जानकारी पठाएका थिए । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टिनियो गुटरेसले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने तय भएको थियो, तर त्यसबेला सम्मेलन हुन सकेन । यस सम्मेलनको अमेरिका, बेलायत, जर्मनी, जापान, नर्वेलगायत मुलुकका राजदूत र सरोकारवाला निकायले बेलाबखत चासो राख्दै आएका थिए । हिन्दूकुश हिमालय जस्ता उच्च पर्वतमालामा जलवायु परिवर्तनका असर अन्य क्षेत्रमा भन्दा तीव्र हुँदै गएको र यसले नेपाललगायत पर्वतीय मुलुकमा ठूलो असर गर्दै आएको छ ।
नेपालको सन्दर्भमा हामीसँग लामो समयको तथ्यांक छैन, तर तापक्रम बढिरहेको छ । तापक्रम बढ्ने दर पहाड र हिमाली भेगमा बढी छ । जैविक विविधताको हिसाबले समेत यसले राम्रो संकेत गर्दैन । तापक्रम बढ्नासाथ मानवसहित जीव, वनस्पति र हिमालमा त्यसको असर पर्छ ।
नेपालको सन्दर्भमा हामीसँग लामो समयको तथ्यांक छैन, तर तापक्रम बढिरहेको छ । तापक्रम बढ्ने दर पहाड र हिमाली भेगमा बढी छ । जैविक विविधताको हिसाबले समेत यसले राम्रो संकेत गर्दैन । तापक्रम बढ्नासाथ मानवसहित जीव, वनस्पति र हिमालमा त्यसको असर पर्छ । नेपाल जलवायु परिवर्तनको असरबाट नराम्रोसँग प्रभावित भइरहेको मुलुक हो । जुन कुरा सरकारी दस्तावेजले स्वीकार गरेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार नेपालका २० वटा हिमताल विस्फोटको जोखिममा छन् । जलवायु परिवर्तनका कारण हिमतालहरू विस्फोटको नजिक रहेका छन् । नेपालमा करिब ३ हजार २५२ हिमनदी र २ हजार ३२३ हिमताल छन् । धेरैजसो हिमनदीहरूको आकारमा परिवर्तन आइसकेको इसिमोडको अध्ययनले देखाएको छ ।
विभिन्न अध्ययनले नेपालका हिमनदीहरू द्रुत गतिमा पग्लिँदै गएका छन् । हिमालमा गत २०१० सालसम्ममा हिउँको भण्डार २९ प्रतिशतले घटेको र हिमतालको संख्या ११ प्रतिशतले बढेको सरकारी तथ्यांक छ । त्यस्तै वार्षिक ०.०५६ प्रतिशतले वृद्धिदरमा रहेको तापक्रम अझ उच्चदरमा पुग्नसक्ने देखिएको छ । अतिवृस्टि, अनावृस्टिका कारण कृषि उत्पादन, पशुपालन र मत्स्यपालनमा १० देखि १३ प्रतिशतसम्म ह्रास आउन थालेको छ । डढेलोको घटनामा वृद्धि, वनजंगलमा रोगकीराको प्रकोप, रुख विरुवामा बाह्य जातिको अतिक्रमण र वासस्थानमा भएको नोक्सानी, वनको उत्पादकत्व र जैविक विविधतामा नकारात्मक असर परेको छ ।
समुन्द्र सतहदेखि ७० मिटरमा रहेको केचनकवलदेखि ८८४८.५६ मिटरको विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल जैविक विविधताले महत्वपूर्ण देश हो । सन् २००९ देखि जलवायु परिवर्तनको कारण उठेको मुद्दालाई नेपालले महत्वपूर्ण रूपमा उठाउँदै आएको छ, जुन पछिल्लो समय आएर थप पेचिलो बन्दै गइरहेको छ । हिमाली तथा उच्च हिमाली क्षेत्र जुन पर्यटनका लागि हाम्रा निधि हुन्, हिमालमा जलवायु परिवर्तनको असर देखिँदा हिउँ पर्ने समय कम हुनु र सेता हिमालहरू काला पत्थरको रूपमा परिणत हुँदैछ । यसले हाम्रो पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पारेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटरेस २०८० कार्तिकमा नेपाल भ्रमण आउँदा सगरमाथा र अन्नपूर्ण आधार शिविर पुगे । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको असर र स्थानीयसँग यसबारे संवाद गरेपछि एक कार्यक्रममा भनेका थिए– ‘जलवायु परिवर्तनका कारण धेरै ठाउँमा हिमपहिरो गइरहेको छ । साना देशलाई प्रतिकूल असर परेको छ ।’ यसले धेरै कुरा व्याख्या गर्छ । गुटरेसको यो प्रतिक्रियापछि हिमालमा हिउँ पग्लिएको र हिमाल काला भएको विषयले विश्वव्यापी चर्चा पायो ।
जलवायु परिवर्तनका कारण हिमतालहरू विस्फोटको नजिक रहेका छन् । नेपालमा करिब ३ हजार २५२ हिमनदी र २ हजार ३२३ हिमताल छन् । धेरैजसो हिमनदीहरूको आकारमा परिवर्तन आइसकेको इसिमोडको अध्ययनले देखाएको छ ।
जलवायु परिवर्तनका कारणले यो बेला सेताम्मे हुने हिमालहरूमा हिउँ नै छैन । मङ्सिरपछि घरकै छाना हिउँले धपक्कै ढाक्ने ठाउँमा अहिले हिमालमै हिउँ छैन । हिउँका कारण घर बनाउने परम्परागत शैलीमा परिवर्तन हुँदै आधुनिक घर निर्माण हुँदैछन । अहिले हिउँ पर्ने बेलाको ठेगान छैन, हिउँ धेरै पर्दैन । त्यसैले क्रमशः संकट उत्पन्न हुँदैछ । हालका वर्षमा जलवायु परिवर्तनका कारण जैविक विविधतामा ह्रास, सुख्खा र मरुभूमीकरणका कारण खाद्यान्न संकट बढ्दै गएको छ । जलवायु परिवर्तनको कारण हिमालका हिउँ पग्लिएर काला पत्थर देखिन थालेको छ ।
यो क्रम बढ्दै गयो भने हिमालको अवस्था के होला ? हिमालमा हिउँ पग्लिने क्रम भए पनि अहिले र पहिलेको अन्तर फरक छ । यो ठूलो मुद्दा हो । नेपालमा नदीहरू पनि सुक्दैछन् । यसको समस्या झनै विकराल बन्दैछ । यसका लागि समयमै तयारी र योजनाको जरुरी देखिन्छ्र । जलवायु परिवर्तन क्रमशः बढ्दै जाँदा हिमनदी खुम्चिने, हिमरेखा माथि सर्दै जाने, जमिनमुनि जमेर रहेको बरफ पग्लिँदै जाने क्रम बढ्दै जाने देखिन्छ । सन् १९८० देखि २०१० बीचमा हिमनदी २४ प्रतिशतले कम भइसकेको छ । नेपालमा खोलानदीको पानी सुक्ने, हिमताल विस्फोटन जस्ता घटना बढ्दै जाँदा नेपालले जलविद्युत परियोजनाबाट स्वच्छ ऊर्जा उत्पादन गरी कार्बन शून्य बनाउने तथा भारत, बंगलादेशमा विद्युत बिक्री गरी आर्थिक विकास गर्ने योजना प्रभावित हुनेछ ।
त्यस्तै स्वच्छ खानेपानी उपलब्धतामा पनि कठिनाइ उत्पन्न हुने देखिन्छ । हिमाल र त्यहाँबाट तल बग्ने नदीहरू अर्बौं मानिसका लागि खानेपानीको मुख्य स्रोत रहेको छ, तर हालैका वर्षहरूमा हिमाली वातावरणबाट जलवायु परिवर्तनका प्रभाव झेलिरहेको छ । जलवायु परिवर्तनका असर विश्वका धनी-गरिब, साना-ठूला, विकसित-अविकसित, भूपरिवेष्ठित-समुन्द्र तटीय र पर्वतीय मुलुकमा बढी देखिएको छ । जलवायु परिवर्तनबाट लाखौं नेपाली जोखिममा परेका छन् । यसबाट विशेषतः गरिब, महिला, बालबालिका र पिछडिएका समुदाय धेरै प्रभावित छन् । यो अवस्थामा सगरमाथा संवाद हुँदैछ । नेपालले सगरमाथाको कालापत्थरमा २०६६ मङ्सिर ९ गते मन्त्रिपरिषद्को बैठक आयोजना गरेर हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावको विषयमा विश्वको ध्यानाकर्षण गर्ने प्रयास गरेको थियो ।
यस पटक आयोजना गर्न लागिएको सगरमाथा संवादमार्फत हिन्दूकुश क्षेत्रमा रहेका मुलुकहरू हिमालय श्रृंखलामा जोडिएका र त्यहाँ जलवायु परिवर्तनको असर बढी परेको विषयमा छलफल हुनेछ । यो संवादले त्यसलाई थप टेवा पुर्याउनेछ । त्यस्तै यो अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु कूटनीतिलाई नयाँ उचाइमा पुर्याउने नै छ । जलवायु परिवर्तनको क्षेत्रमा नेपालले आफूलाई अन्तर्राष्ट्रिय रूपमा प्रस्तुत गर्न, आफ्ना अनुभवहरू साट्न र विश्वमा भइरहेका राम्रा अभ्यासहरू सिक्न अहिलेको सन्दर्भमा सगरमाथा संवाद एउटा महत्वपूर्ण फोरम हुनेछ ।
अहिले नेपालको अवस्था के हो ? नेपालले कस्तो समस्या भोग्नुपरेको छ ? कस्तो समस्यासँग जुध्नुपरेको छ ? यसको समस्या के हो ? आवश्यकता के हो ? यी विषयमा विश्वको ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तनबाट परेको असर र यसको क्षतिपूर्तिका बारेमा बलियो रूपमा अन्तर्राष्ट्रियस्तरमा द्विपक्षीय तथा बहुपक्षीय तरिकाले विषयको उठान गर्न ठूलो भूमिका खेल्नेछ । सगरमाथा संवादलाई प्रभावकरी र नतिजामुखी बनाउन सके यसले बोकेको उद्देश्य हासिल हुँदै जलवायुका क्षेत्रमा कोशेढुंगा सावित हुने विषयमा दुईमत हुन सक्दैन ।

Leave a Reply