भीआईपी कक्षमा ओली-वैद्य भेट, समवेदना र स्वास्थ्यको सोधखोज

रुपन्देही । सोमबार अपरान्ह काठमाण्डौं फर्कन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको कानमा मातृशोकमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ आराम गरेको परेपछि एकाएक भेट्न पुगे ।

दमको बिरामी रहेका वैद्य भीआईपी कक्षमा आराम गरिरहेका थिए । आमाको निधन भएको छैठौं सदन सोमबार गृहजिल्ला दाङबाट काठमाडौं फर्किने क्रममा उनी भैरहवा विमानस्थलमा विश्राममा थिए।

दम रोगबाट पीडित वैद्य विमानको प्रतीक्षामा विमानस्थलको भीआईपी कक्षस्थित शान्त कोठामा आराम गरिरहेको समयमा प्रधानमन्त्रीले भेट्न पुगेको सँगै रहेका वैद्यका भान्जा प्रशान्त वलीले बताए ।

सोमबार प्रधानमन्त्री ओली पनि लुम्बिनीमा आयोजित बुद्ध जयन्ती कार्यक्रम सकाएर काठमाण्डौ फर्कने क्रममा थिए । विमानस्थल पुगेपछि ओलीले मोहन वैद्य पनि त्यहीँ भएको जानकारी पाएपछि भेटेको र समवेदनासँगै स्वास्थ्यलाभको कामना गर्नुभएको वलीले बताए ।

‘प्रधानमन्धीले जानकारी पाउनेबित्तिकै मामा रहेको कोठातर्फ आउनुभयो, कोठामा पुगेर वैद्यसँग हात मिलाउँदै शोक समवेदना व्यक्त गर्नुभयो, हजुरआमा जानकीदेवी उपाध्यायको वैशाख २४ गते १०० वर्षको उमेरमा निधन भएको थियो।, दाङबाट हामी काठमाण्डौ फर्कदै थियौं, मामा दमको समस्या भएकाले छिटो फर्कनुभएको हो’, उनले भने ।

प्रधानमन्त्री ओलीले वैद्यको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । ‘तपाईंलाई कस्तो छ ? दमको समस्या भएकाले विशेष ख्याल गर्नुपर्छ’ ओलीले भनेका थिए । ओलीलाई वैद्यले पनि प्रतिप्रश्न गरे, ‘तपाईंलाई कस्तो छ नि ?’ भनेर सोधेपछि जवाफमा ओलीले हाँस्दै उत्तर दिए, ‘म त अझै जवान नै छु’ सोमबार नै प्रधानमन्त्री र वैद्य अलग अलग विमानबाट काठमाडाैं फर्केका छन् ।

Comments

One response to “भीआईपी कक्षमा ओली-वैद्य भेट, समवेदना र स्वास्थ्यको सोधखोज”

  1. dipak shahi Avatar
    dipak shahi

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, हो पार्टीको नाम। मोहन वैद्य “किरण” महासचिव हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *