बुद्ध जयन्ती तथा लुम्बिनी दिवसमा बुद्ध जन्मस्थलमा शोभा कलश यात्रा

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा २५६९औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा आज भव्य शोभा कलश यात्रा निकालिएको छ।

लुम्बिनीस्थित ५ नम्बर गेटबाट सुरु भएको यात्रा मायादेवी मन्दिर, शान्ति दीप, केन्द्रीय नहर हुँदै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा पुगेर समापन भएको हो।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार यात्रामा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरूको प्रस्तुति पनि गरिएको थियो। सम्मेलन केन्द्रमा आयोजना हुने औपचारिक कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीलाई आकर्षक रूपमा सजाइएको छ। तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइने यो पर्वका लागि लुम्बिनी क्षेत्रलाई दुलहीझैँ सिंगारिएको छ।

कार्यक्रमको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे पहिले नै लुम्बिनी आइसकेका छन् । आज विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरू लुम्बिनी आएका छन् ।

हिजोदेखि नै लुम्बिनीमा आन्तरिक तथा बाह्य देशका पर्यटकले गुल्जार बनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *