रुपन्देही । पुरातात्त्विक वस्तुहरूको संरक्षण गर्ने उद्देश्यले लुम्बिनीमा आइतबार संरक्षण प्रयोगशाला (ल्याब) को उद्घाटन गरिएको छ।
प्रयोगशालाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेयले प्रयोगशालाको उद्घाटन गरेका हुन्।
एम्बासडर फन्ड फर कल्चरल प्रिजरभेसनको सहयोगमा बुद्ध फाउन्डेसनले लुम्बिनी विकास कोष, पुरातत्त्व विभागले सञ्चालनमा ल्याइएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले नेपालमै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापनाले सम्पदा संरक्षणमा महत्त्वपूर्ण योगदान गर्ने बताए। उनले प्रयोगशालाले सम्पदा संरक्षण कार्यलाई वैज्ञानिक, व्यवस्थित र दिगो बनाउन मदत गने बताए।
लुम्बिनीजस्तो पवित्र र संवेदनशील स्थलमा संरक्षण र पर्यटनबीचको सन्तुलन कायम गर्न प्रयोगशालाले योगदान गर्ने बताए। सम्पदा संरक्षणका लागि सबैको सहकार्यले सार्थक बन्ने समेत उनले बताए।
यस्तै प्रयोगशाला उद्घाटनमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी विश्वभरका करोडौँ श्रद्धालुहरूको पवित्र तीर्थस्थल मात्र नभई प्राचीन सभ्यता समेत भएकाले प्रयोगशालाले सम्पदाको संरक्षण गर्ने बताए।
उनले अनमोल सम्पदा आगामी पुस्ताका लागि वैज्ञानिक विधिबाट सुरक्षित गर्ने बताए। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले सम्पदा संरक्षणका लागि प्रयोगशाला सञ्चालन हुँदा यसले पुरातात्त्विक वस्तुहरूको संरक्षणमा ठूलो टेवा पुग्ने अपेक्षा राखेको बताए।
उनले लुम्बिनी बौद्ध दर्शनको उत्पत्ति भएको थलोसँगै पुरातात्त्विक रूपमा समेत ऐतिहासिक भएकाले यहाँका अमूल्य वस्तुहरूको संरक्षणका लागि प्रयोगशाला सहयोगी हुने बताए। नेपालका लागि अमेरिकी दूतावासका उपप्रमुख ज्यासन मिक्सले प्रयोगशालाले प्राचीन कलाकृतिको अमूल्य सम्पदाहरूको संरक्षण, अभिलेखन गर्ने विश्वास दिलाए।
उनले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई समेत सम्पदा संरक्षणको हिसाबले जोडिन पाएकोमा आफूहरूलाई निकै खुशी लागेको बताए। समारोहमा बुद्ध फाउन्डेसनका कार्यकारी निर्देशक सुम्निमा उदासले नेपाललाई सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक अगुवाका रूपमा स्थापित गर्ने उद्देश्यले अत्याधुनिक संरक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइन्।
नेपालस्थित अमेरिकी दूतावासले राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) मार्फत् सहयोग गरी अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना गरिएको हो।
प्रयोगशालाले बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्त्विक वस्तुहरूको टुटेफुटेको जोड्ने, पुरातात्त्विक वस्तुहरूलाई जोगाउने काम गर्ने बताइएको छ।
लुम्बिनी संग्रहालयमा लुम्बिनीमा उत्खनन गरिएका इसा पूर्वको छैटौँ शताब्दीदेखि इस्वी संवत्को तेस्रो शताब्दीसम्मका पक्की माटोका प्रतिमा, ढुंगाका मूर्ति, सिक्का र अन्य अवशेषहरू राखिएको छ। प्रयोगशाला सुरु भएसँगै २ जना क्यूरेटर राखिने छ।

Leave a Reply