अहिले हलहरुमा विपिन कार्की र मिरुना मगर अभिनीत ‘ऊनको स्वीटर’ प्रदर्शनरत छ । नवीन चौहान निर्देशित यस चलचित्रलाई दर्शकले रुचाइरहेका छन् । म्युजिक फिल्महरुबाट उदाएका चौहानको यो चलचित्र पहिलो निर्देशकीय डेब्यु हो ।
चलचित्रलाई पाँचथरमा पाँच महिना लगाएर खिचेका चौहान आफ्नो अनुभव सुनाउँछन्, ‘चलचित्र खिचेर एडिटमा आउँदा, पाँच घण्टा लामो उपन्यासजस्तो बनिदिँदा, दुई अढाइ घण्टामा ल्याउन चलचित्रको छाँटकाँट गर्दा सकसपूर्ण स्थितिबाट गुज्रनुपर्दो रहेछ । अप्रिय निर्णय लिनुपर्दो रहेछ । कलाकारले मिहेनत गरेको रोल काटिँदा कतिको चित्त दुखाइ समेत हुन्छ ।’
चौहानले थपे, ‘सुटिङ र पोस्ट प्रोडक्सनको काम दुई क्षितिजजस्तो हुँदो रहेछ । एउटा ड्राफ्ट बनाएर साथीहरुलाई देखाउँदा अर्को ध्रुवको प्रतिक्रिया सुन्नुपर्दा लाग्दोरहेछ, ‘मैले त यस्तो बनाएको होइन ।’ झनै दर्शकहरुको प्रतिक्रिया सोच्दै नसोचेको हुँदो रहेछ । सायद त्यसैले कलाको कुनै सीमा हुँदैन भनिएको होला ।’
‘वाफ’, ‘तीनपाते’, ‘घुमीघुमी’जस्ता म्युजिकल फिल्महरु बनाएर ठूलो पर्दामा आएका हुन् चौहान । केही समयअघि ‘चोरको स्वर’ नामक नाटक समेत निर्देशन गरे । अहिले चलचित्र निर्देशन गरे । यी तीनै विधामा चौहानले नछुटाएको विशेषता हो, कथावाचन । तर, कथावाचन उस्तै भए पनि अढाइ घण्टाको चलचित्रमा धेरै घुम्तीहरु पार गर्नुपपरेको चौहान बताउँछन् ।
‘ऊनको स्वीटर’बारे चौहान सुनाउँछन्, ‘म्युजिकल फिल्म बनाउँदा जहिल्यै लाग्थ्यो, कास् मसँग अढाइ घण्टा समय भए पात्रभित्र छिरेर काम गर्न कति मजा हुन्थ्यो होला ! मैले यो चलचित्रमा त्यही कोसिस गरेको छु ।’
यो चलचित्रको खासियत हो, डिटेलिङ । पुराना नोट(राजाका फोटा भएका)हरुको प्रयोगदेखि गोल्डस्टार जुत्तामार्फत् चौहानले फ्लास ब्याकको कथाको समय भन्न खोजेका छन् । कलाकारको ड्रेसअप, साँघु, घट्टाहरुको प्रयोग गरेका छन् । उकाली–ओह्रालीमा पैदल यात्रा गर्नुपर्ने अवस्थाले पनि कथाको समय भन्छ । जब कि वर्तमान समयको कथामा भने गाउँमा रोड आइसकेको छ । जिपहरु चल्न सुरु गरिसकेका छन् ।
‘ऊनको स्वेटर’को कथा अलिकति सुस्त छ । विस्तारै, आरामले कथा भनेका छन् चौहानले । उनलाई कथा भन्नमा कुनै हतारो छैन । लिम्बु समाज हुन्छ नै यस्तै, विस्तारै भाका र लय हालेर बोल्छन्, आरामले कुरा गर्छन् । भूगोल र समुदाय अनुसार कथाको गति निर्माण गरेका छन् चौहानले ।
फिल्ममा एउटा दृश्य छ, जहाँ काफ्लेले फूलमायाको गोठको छानोमा सानो छिँडी बनाइदिएका हुन्छन् । उक्त छिँडी खोल्दा घरभित्र जूनको उज्यालो पर्छ । उज्यालोले काफ्लेको अनुहारलाई छपक्कै देखाउँछ । केहीबेर लामो दृश्यमा फूलमायाको अनुहारमा भने राम्रोसँग जूनको उज्यालो पारिएको छैन । बरु आगोको राप पारिएको छ । जूनजस्तै निश्चल प्रेमको प्रस्ताव लिएर पुगेका काफ्ले र आफ्नै दुःखसँग जुधिरहेकी फूलमायाको मनस्थितिलाई देखाउन चौहानले गज्जबले कलाको प्रयोग गरेका छन् ।
त्यस्तै अर्को दृश्य छ, जहाँ काफ्ले र गुरुङ एकै ओछ्यानमा सुत्छन् । उनीहरुबीचको अन्तरंग सम्बन्ध देखाउन चौहानले रंगी विरंगी ऊनको धागोहरु देखाएका छन् । अनेक रङमा पोतिएका धागोका लाछीहरुबाट वाफ निस्किरहेका छन् । पानी चुहिरहेका छन् । अनि विस्तारै गुरुङको कुरुसहरुमा ती लाछीहरु उनिन थाल्छन्, स्वेटरको रुपमा । त्यो स्वेटर काफ्लेले लगाउन पाउँछन् त ? दर्शकमा यही कौतुहलता सृजना गर्दै कथा अगाडि बढेको छ ।
डिटेलिङबारे चौहान भन्छन्, ‘मलाई जहिल्यै लाग्थ्यो, दर्शकलाई चिटिङ नगरुँ । हडबड गरेर पनि कथा नभनुँ । कुदेर, हडबडाएर क्षणिक रुपमा मानिसको ध्यान आकृष्ट नगरुँ । कथा भनिरहँदा यस्तो लागोस् कि कोही अस्तित्वमा छ, तर कसैलाई बिझाएको छैन ।’
चौहानले भनेजस्तै दर्शकलाई नबिझाइकन कथा भनिएको छ । लिम्बु बाहुल्यता भएको समाजमा अल्पसंख्यकको रुपमा रहेका काफ्ले र गुरुङसेनीबीचको प्रेमलाई बडो कलात्मक तवरले भनिएको छ ।
चलचित्रमा प्रयोग गरिएको डिटेलिङ, स्वभावले लिम्बु, थरले मात्रै काफ्ले भएका धरणीधर, सुन्दर कलात्मक दृश्यहरुको अर्थ, पाँच–पाँच महिना लगाएर खिच्दाका अनुभूति लगायत अन्य धेरै पाटोबारे निर्देशक चौहानले नेपालप्रेसकर्मी नवीनकाजी राईसँग खुलेर गफ गरेका छन् ।
हेर्नुहोस् भिडियोमा:

Leave a Reply