सिन्धुपाल्चोक । २०७२ को विनाशाकरी भूकम्पपछि धेरै ठाउँमा एकीकृत बस्तीको अवधारण अगाडि आयो । कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेले धुर्मुस-सुन्तली फाउन्डेशनमार्फत सिन्धुपाल्चोकको मेलम्ची- ८ गिरानचौरमा पहिलो एकीकृत बस्ती निर्माण गरेर समुदायलाई हस्तान्तरण गरे ।
भूकम्प गएको ठीक एक वर्षपछि अर्थात २०७३ बैशाख १२ मा शिलान्यास गरी झण्डै सात महिनाको अवधिमा ६५ घरको बस्ती फाउन्डेसनले समुदायलाई हस्तान्तरण गरेको थियो । भूकम्पपछिको यो पहिलो एकीकृत नमुना बस्ती हो ।
धुर्मुस-सुन्तली फाउन्डेसनले सहयोग संकलन गरेर बस्ती निर्माण गरेपछि अरु कलाकार, संघसंस्थाहरू समेत हौसिएका थिए । हौसिनेमध्ये एक थिइन् अभिनेत्री श्वेता खड्का । भूकम्पबाट सबैभन्दा ठूलो क्षति पुर्याएको सिन्धुपाल्चोक जिल्लामा बस्ती निर्माणका लागि उनी अघि सरिन् ।
श्वेताले चौतारा साँगाचोकगढी नगरपालिका- १० मा एकीकृत बस्ती निर्माणको पहल गरिन् । बस्ती निर्माण र हस्तान्तरण पनि भयो, तर विवादित रूपमा । अहिले आएर यही बस्तीका कारण ५५ घर माझी समुदाय बैंकको ‘ब्याल्क लिस्ट’मा परेको छ ।
२०७४ जेठ १५ गते औपचारिक उद्घाटन गरी श्वेताले चौतारा साँगाचोकगढी नगरपालिका- १४ स्थित झ्याँडीमा एकीकृत बस्ती निर्माणको अगुवाइ गरेकी थिइन् । उनले ६ महिनाभित्रै बस्ती समुदायलाई हस्तान्तरण गर्ने लक्ष्य लिए पनि झण्डै चार वर्षपछि मात्रै बस्ती निर्माण सम्पन्न भएको थियो ।

चौतारा साँगाचोकगढी नगरपालिका- १४ भीमटार झ्याडी बस्तीमा झण्डै २८ रोपनी जग्गाको क्षेत्रफलमा ५३ वटा उस्तै आकारका घर निर्माण गरिएको छ । एउटा घर ३ आना क्षेत्रफलमा फैलिएको छ । सुरुमा पुनर्निर्माण प्राधिकरणबाट निजी आवास निर्माणका लागि प्राप्त हुने ३ लाख र लक्ष्मी बैंकमार्फत ४ लाख ऋण गरेर कुल ७ लाख रूपैयाँको लागतमा बस्ती निर्माण गरिएको थियो । बैंकको ४ लाख ऋणको भारी अहिले पनि ५५ घर माझी समुदायको टाउकोमा छ । माझीहरूले दैनिक माछा मारेर जीवनयापन गर्दै आएका छन् ।
‘बैंकले ताकेता गरिरहेको छ । ब्याज कति भयो हामीले हिसाब गरेका छैनौं । अब हाम्रो यो सबै बस्ती नै लिलाममा पर्ने भयो’, झ्याडी टोल सुधार समितिका सचिव मिलन माझीले भने ।
जनप्रतिनिधिहरूलाई बेवास्ता गर्दै माझी बस्ती निर्माण गरिएको सोही वडाका पूर्वअध्यक्ष शेरबहादुर श्रेष्ठ बताउँछन् ।
उनले भने, ‘हामी जनप्रतिनिधिहरूलाई त सुरुदेखि नै बेवास्ता गर्दै बस्ती निर्माण भयो, आफ्नै ठाउँमा निर्माण हुन लागेको बस्तीलाई हामीले धेरै सहयोग गरे पनि अहिले समुदाय नै बैंकको ब्ल्याक लिस्टेड भएको छ ।’
श्रेष्ठका अनुसार स्थानीयले लक्ष्मी सनराइज बैंकसँग सोही घर धितोमा राखेर ऋण लिने र श्वेता श्री फाउन्डेशनमार्फत रोजगारी सिर्जना भएपछि आफैंले बैंकको ऋण तिर्ने पूर्वसहमति थियो ।
‘घर पनि बन्ने, रोजगारी पनि पाइने भएपछि माझी दाजुभाइहरूले खुसी हुँदै बैंकले तयार पारेको कागजमा ल्याप्चे ठोक्नुभएछ, अहिले त्यही ल्याप्चे उहाँहरूको लागि अभिसाप भएको छ’, श्रेष्ठले थपे ।
स्थानीय अगुवा मिलन माझीले आफूहरूले धोका पाएको बताए ।
‘अहिले ऋण तपाईंहरूले लिने हो, तिर्ने जिम्मेवारी मेरो पनि हो भनेर हामीलाई मख्ख पार्नुभयो, तर अहिले सम्पर्क नै छैन’, उनले भने, ‘केही समय सबैले बैंकको मासिक किस्ता तिरिरहेका थियौं, तर पछि उहाँले नै ऋण तिर्ने मेरो पनि दायित्व हो भनेपछि तिर्न छोड्यौं ।’

सिंगो बस्ती नै बैंकको कालोसूचीमा परेपछि श्वेता श्री फाउन्डेशनविरुद्ध उच्च अदालतमा मुद्दा दर्तासमेत भएको छ । अदालत र जिल्ला प्रशासन कार्यालयमा माझी समुदायले मुद्दा हालेको भए पनि विवाह गरेर बसेकी श्वेता सम्पर्कमा नआएको पूर्ववडाध्यक्ष श्रेष्ठले बताए ।
बैंकले छिटो ऋण चुक्ता नगरे सिंगो बस्ती नै लिलाम गरिदिने चेतावनी दिएपछि अहिले माझीहरू झनै तनावमा छन् ।
‘पहिला समितिमा बस्नेहरू अहिले गाउँमा छैनन् । हामीले समितिका दाजुभाइको कुरा सुनेर ल्याप्चे लगाइदियौं । अहिले घर लिलाम हुने डरले राति सुत्न पनि सकिएको छैन’, स्थानीय सुन्तली माझीले भनिन् ।
श्वेता श्री फाउन्डेसनले माझी बस्तीका लागि भनेर गरेको सहयोग संकलनको हिसाब सार्वजनिक नभएको पूर्ववडाध्यक्ष श्रेष्ठ बताउँछन् ।
‘संकलन भएको रकम फाउन्डेसनका कर्मचारीहरूको लजिङ, फुडिङमा सकिएको जस्तो लाग्यो’, उनले भने, ‘श्वेताले खरिद गरेको पाइपको भुक्तानीसमेत अझै भएको रहेनछ ।’
माझी बस्तीमा निर्माण भएका घरहरू वातावरण मैत्री नभएको गुनासो पनि स्थानीयको छ । ९ फिटका गारोमाथि जस्तापाताका छानो हाल्दा गर्मीयाममा घरभित्र बस्नै नसकिने उनीहरू बताउँछन् । तीन आना क्षेत्रफलमा निर्माण भएको घरमा जम्मा तीन कोठा छन् ।

Leave a Reply