आतंकवादसँग लडिरहेको भारत र नेपाली सिउँदोसँग ‘अप्रेसन सिन्दूर’को साइनो

भारत यतिखेर आतङ्कवादसँग पूरा शक्ति लगाएर लडिरहेको छ । केही दशकयता भारत बारम्बार आतङ्कवादको शिकार हुन पुग्यो । भारतको समृद्ध र शान्त समाजलाई आतङ्कको अँध्यारोले बारम्बार ढाक्ने प्रयास गरेको छ । भारतमा भएका आतङ्कवादी हमलाहरूले भारत मात्र नभई मानवता र शान्तिका पक्षधरलाई बारम्बार आक्रान्त बनाएको छ ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रले बारम्बार भोगिरहेको आतङ्कवादी पीडाले भारत मात्र नभई समस्त लोकतन्त्रलाई नै गहिरो चोट पुग्ने गर्छ । तर, आतङ्कवादका प्रत्येक चोट पछाडि भारत झन् सशक्त भएर उदाएको छ । आज, आतङ्कवादविरुद्ध भारतको संघर्ष मानवताको लागि एउटा प्रेरक गाथा बनिरहेको छ ।

२२ अप्रिल २०२५ मा जम्मू–कश्मीरको पर्यटकीय स्थल पहलगाममा आतङ्कवादीहरूले २६ जनाको नृशंस हत्या गरे । नाम र धर्म सोधेर गरिएको यो हत्या मानव इतिहासमाथि आतङ्कको कालो धब्बा हो ।

यस हमलाको जिम्मेवारी ‘द रेजिस्टेन्स फ्रन्ट’ नामको आतङ्कवादी संगठनले लियो । यो संगठन पाकिस्तानको लश्कर-ए-तैयबाको एउटा समूह हो । ‘द रेजिस्टेन्स फ्रन्ट’ लगायत जम्मू-कश्मीरमा सक्रिय अधिकांश आतङ्कवादी संगठनहरू पाकिस्तानको समर्थनसँगै उसैबाट निर्देशित भएको कुरा इतिहासका घटनाक्रमले पुष्टि गरिसकेको छ । पहलगामको हमला कति नृशंस र अमानवीय थियो भन्ने त भुक्तभोगीले सुनाएका दर्दनाक विवरणबाट थाहा भइसकेको छ ।

भारत आतङ्कवादी हमलाको शिकार भएको पहलगाम पहिलो घटना होइन ।

भारतको इतिहासमा सबैभन्दा नृशंस आतङ्कवादी हमलाहरू मध्ये एक हो मुम्बई हमला । सन् २००८ को २६ नोभेम्बर मुम्बईको रंगिन सडकमा भय र पीडाको कहालीलाग्दो रात बनेर आयो ।

पाकिस्तानको लश्कर–ए–तोइबाका १० जना प्रशिक्षित आतङ्ककारीहरूले ताज होटल, ओबेराय ट्राइडेन्ट, नरीमन हाउस र छत्रपति शिवाजी टर्मिनलमा अन्धाधुन्ध गोली चलाए । त्यसरी नै बम विस्फोट गरे ।

यो हमलामा १६६ भन्दा बढी निर्दोषले अनाहकमा ज्यान गुमाउनुपर्‍यो । आतङ्कवादीहरू पाकिस्तानबाट समुद्री मार्ग हुँदै मुम्बईसम्म पुगेका थिए । मुम्बई हमला मानवता विरुद्धको संगीन अपराध थियो ।

सन् १९९३ मा मुम्बईमा आतङ्कवादीले १२ वटा बम विस्फोट गराए । यो विस्फोटमा २५७ जना नागरिकले ज्यान गुमाउनुपर्‍यो । यी आतङ्कवादी हमलामा कुनै न कुनै रूपमा पाकिस्तान सामेल थियो ।

पाकिस्तानको समर्थनमा हुने यस्ता आतङ्कवादी हमलाको शृङ्खला लामै छ । १३ डिसेम्बर २००१ मा भारतको लोकतान्त्रिक मुटु संसद भवन आतङ्कीको निशानामा पर्‍यो । जैश-ए-मोहम्मद र लश्कर-ए-तोइबा जस्ता पाकिस्तानलाई आधारभूमि बनाएका आतङ्कवादी समूहका आतङ्कीले संसद भवनभित्रै पसेर अन्धाधुन्ध गोली चलाए । सुरक्षाकर्मीहरूको साहस र बलिदानले भारतको लोकतान्त्रिक मुटु जोगिए पनि यो हमला भारतीय सम्प्रभुतामाथिको चुनौती थियो । भारत आतङ्कवादको मुख्य निशाना भएको प्रमाण थियो ।

सन् २०१६ को जनवरीमा पठानकोटमा अवस्थित भारतीय वायुसेनाको आधारशिविरमा आतङ्ककारी हमला भयो । १४ फेब्रुअरी २०१९ मा जम्मु-कश्मीरको पुलवामा आतङ्ककारीले आत्मघाती बम विस्फोट गर्दा ४० भन्दा बढी भारतीय सैनिकले ज्यान गुमाए । यी दुवै घटनामा पाकिस्तानी भूमिका सक्रिय रहेको जैश-ए-मोहम्मदले गराएको थियो ।

धेरैले भारत पाकिस्तान युद्ध भन्ने गर्छन् । तर, यथार्थमा भारतको पाकिस्तानसँग नभई आतङ्कवादसँग युद्ध हो । र, दुर्भाग्य पाकिस्तानले आतङ्कवाद र आतङ्ककारी परिचालन र संरक्षण गर्दै आएको छ ।

भारतमा भएका सबैजसो आतङ्कवादी हमलाहरू पाकिस्तान-आधारित आतङ्कवादी समूहहरू लश्कर-ए-तैयबा, जैश-ए-मोहम्मद, हिज्बुल मुजाहिद्दिनले गरेका हुन् । यी समूहलाई पाकिस्तानी सैन्य गुप्तचर संस्था आईएसआईले सैन्य तालिमसँगै आर्थिक सहयोग पनि गर्दै आएको छ । मुम्बई हमलाको मास्टरमाइन्ड हाफिज सईदलाई पाकिस्तानमै आश्रय दिइएको थियो । यही कारण पाकिस्तानले आतङ्कवादलाई ‘राज्य नीति’ बनाएको आरोप लाग्ने गर्छ विश्व समुदायमा ।

भारतमा भएका आतङ्कवादी आक्रमणहरू साधारण घटनाहरू थिएनन् । ती हरेक घटना मानवताको मुटुमा खोपिएका गहिरा घाउ हुन् । भारत एक्लैले भोगिरहेको आतङ्कवादको पीडा पहलगाममा नेपालले पनि भोग्नुपर्‍यो । पहलगाममा नेपालले आतङ्कवादी हमलामा सुदीप न्यौपाने गुमाउनुपर्‍यो । भारतले आतंकवादविरुद्ध थालेको अप्रेसन सिन्दूरसँग नेपाली सिउँदोको पनि सम्बन्ध जोडिएको छ । आज सुदिप न्यौपानेकी आमाको काख रित्तो भएको छ । यसअघि पनि आतंकवादीहरुको निशानामा परेर नेपालीको सिउँदो पुछिएको छ ।

सन् १९९९ मै आतङ्कवादीले नेपाली भूमि प्रयोग गरिसकेका थिए । २४ डिसेम्बर १९९९ मा काठमाडौंबाट दिल्ली उडेको विमान आतङ्कवादीहरूले अपहरण गरेका थिए । र, फिरौती स्वरूप भारतले मसूद अजहरलाई रिहा गर्नुपर्‍यो ।

रिहा भएर गएपछि मसूदले ‘जैश-ए-मोहम्मद’ नामको आतङ्कवादी संगठन बनाए । सन् २००१ को संसद भवन हमला, २०१६ को पठानकोट आक्रमण र २०१९ को पुलवामाको आतङ्कवादी हमलामा पनि मसूदको ‘जैश-ए-मोहम्मद’ को हात छ ।

१९४७ मा स्वतन्त्रता प्राप्तिपछि पाकिस्तानले आफ्ना आन्तरिक राजनीतिक असफलता र अस्थिरतालाई भारतविरुद्धको वैमनस्यताको आडमा ढाकछोप गर्न खोज्यो । यही मानसिकताको परिणामस्वरूप पाकिस्तानले १९८० को दशकदेखि ‘आउटसोर्स्ड वारफेयर’ अर्थात् आतङ्कवादी संगठनहरूमार्फत भारत विरुद्ध अप्रत्यक्ष युद्ध सुरु गर्‍यो ।

कश्मीर विवादको आडमा पाकिस्तानले आतङ्ककारी समूहहरूलाई प्रशिक्षण, आर्थिक सहायता र राजनीतिक संरक्षण दिन थाल्यो । र, यसैको नतिजा हो काठमाडौंबाट उडेको विमान अपहरण भएदेखि पहलगाम हमला सम्म । लश्कर-ए-तोइबा, जैश-ए-मोहम्मद, हिज्बुल मुजाहिद्दिनजस्ता संगठनहरू भारतमाथि बारम्बार रक्तरञ्जित हमला गर्नका लागि पाकिस्तानले आफ्नो भूमिमा तयार गर्ने गरेको छ ।

पाकिस्तानको यही ‘आउटसोस्र्ड वारफेयर’को दुष्परिणामस्वरूप मुम्बईदेखि दिल्लीसम्म, पठानकोटदेखि पुलवामासम्म पाकिस्तानले पालेका आतङ्ककारीहरूले मानवताको मुटुमा कहिल्यै नभरिने चोट दिए । र, यो चोटको असर नेपालसम्म परिसकेको छ ।

पाकिस्तान अन्तर्राष्ट्रिय मञ्चहरूमा आतंकवादविरुद्ध लड्ने घोषणा गर्छ । तर, यथार्थमा पाकिस्तान नै आतङ्ककारीको संरक्षण गरिरहेको हुन्छ । एकातर्फ, उसले आतङ्ककारी समूहहरू प्रतिबन्धित गरेको देखाउने नाटक गर्छ; अर्कोतर्फ, तिनलाई संरक्षण र प्रोत्साहन गर्छ । फाइनान्सियल एक्शन टास्क फोर्सले पाकिस्तानलाई आर्थिक रुपमा ‘ग्रे लिस्ट’ मा राख्नुको मुख्य कारण पनि पाकिस्तानको ‘आतङ्कवादी संरक्षण गर्ने राज्य नीति’ हो ।

पाकिस्तानका सुरक्षा एजेन्सीहरू कसरी आतङ्ककारीहरूलाई प्रशिक्षण दिन्छन्, कसरी आर्थिक र सैन्य सहायता प्रदान गर्छन्, र कसरी भारतमा अस्थिरता फैलाउने षड्यन्त्रहरू बुन्छन् भनेर भारतले बारम्बार अन्तर्राष्ट्रिय मञ्चमा प्रमाण पेश गरिसकेको छ ।
पछिल्ला केही वर्षयता भारत आतङ्कवाद विरुद्ध केवल रक्षात्मक भूमिकामा मात्र सीमित हुने मुडमा छैन । सर्जिकल स्ट्राइक होस् वा बालाकोट एयर स्ट्राइक र पछिल्लो अपरेशन सिन्दुरले भारतको बदलिएको रक्षा नीति देखाएका छन् । भारतले आतङ्कवाद विरुद्ध कठोर नीति लिएको यी हमलाले पुष्टि गर्छ ।

स्मरणीय रहोस्, सर्जिकल स्ट्राइक, बालाकोट एयर स्ट्राइक र अपरेशन सिन्दुरमा भारतले आतङ्ककारीका अड्डालाई मात्र निशाना बनाएको छ । भारतले आम नागरिक र पाकिस्तानी सेनालाई निशाना बनाएको छैन । यी घटनाले भारत पाकिस्तान विरुद्ध नभई आतङ्कवाद विरुद्ध लडिरहेको प्रमाणित गर्छ ।

पाकिस्तानले आतङ्कवादीको भरण पोषण गरेको भन्दै भारतले कूटनीतिक मोर्चामा पनि पाकिस्तानलाई अलग्याउने प्रयास तीव्र पार्दै आएको छ । आतङ्कवाद पीडित राष्ट्रहरूसँग सहकार्य गर्दै भारतले अन्तर्राष्ट्रिय समुदायमा पाकिस्तानको भण्डाफोर गरिरहेको छ ।

भारतले आतङ्कवादविरुद्ध कडा कदम चाले पनि, पाकिस्तानको सीमापारी आतङ्कवादले निरन्तर चुनौती दिँदै छ । अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानलाई आतंकवादी समूहहरूप्रति समर्थन रोक्न बाध्य पार्नुपर्छ । भारतले आफ्नो सुरक्षा र शान्तिको खातिर आतङ्कवादविरुद्ध लडाइँ जारी राख्न बाध्य छ ।

हालसम्म पनि पाकिस्तान आतङ्कवाद विरुद्ध स्पष्ट र निर्णायक कदम चाल्न असफल रहँदै आएको छ । यही कारण दक्षिण एसियाली क्षेत्रमा अस्थिरता पैदा गरिरहेको छ । दक्षिण एसियाली क्षेत्रको अस्थिरताको मुख्य कारण नै पाकिस्तान संरक्षित आतङ्कवाद हो ।

आज भारत आफ्नै लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि आतङ्कवादविरुद्धको युद्ध लडिरहेको छ । आतङ्कवाद कुनै धर्म, देश वा संस्कृतिविरुद्ध होइन, यो सम्पूर्ण मानवताविरुद्धको अपराध हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *