‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्- आत्मिक प्रतिक्रियालाई शब्दमा व्यक्त गर्न सक्दिन’

काठमाडौं । यहीँ शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऊनको स्वीटर’को बुधबार साँझ राजधानी भव्य प्रिमियर गरिएको छ। काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा चलचित्रको प्रिमियर सम्पन्न भएको हो।

एक हजारभन्दा बढी अतिथि उपस्थिति भएको प्रिमियरमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी, अञ्जना बराइली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

चलचित्र युनिटबाट प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, निर्देशक नवीन चौहानलगायत सबैको सहभागिता रह्यो।

कार्यक्रममा बोल्दै उपसभामुख राना मगरले चलचित्रले प्रेमको गहिरो भाव प्रस्तुत गरेको बताइन् । उनले भनिन्, ‘मन जितेर मात्र प्रेम हुन्छ भन्ने कुरा चलचित्रले सुन्दर तरिकाले देखाएको छ।सबै कलाकारको काम उत्कृष्ट छ।’

त्यस्तै, सांसद शोबिता गौतमले पनि चलचित्रको दृश्य, सामाजिक प्रसङ्ग र कथावस्तुलाई मनमोहक भएको बताइन् । चलचित्र हेर्न पुगेका अभिनेता दयाहाङ राईले ुउनको स्वीटरु लाई उत्कृष्ट कृति भन्दै सबै पक्ष दमदार रहेको प्रतिक्रिया दिए ।

अभिनेत्री केकी अधिकारीले ‘ऊनको स्वीटर’ आफूले हेरेका उत्कृष्ट प्रेमकथामध्ये एक भएको उल्लेख गर्दै निर्देशक नवीन चौहानको कामको विशेष प्रशंसा गरिन् । कार्यक्रममा चलचित्रका कलाकारहरू पनि भावविह्वल देखिए । विपिन कार्कीले दर्शकको माया देखेर मन भारी भएको बताए भने मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको प्रतिक्रिया जनाइन्

यता एलेक्स पारस भने पहिलो चलचित्रबाट यस्तो प्रतिक्रिया पाउँदा उत्साहित थिए। परीक्षा लिम्बुले आफू पात्रमै ढल्किएको अनुभव सुनाइन् । गीत निर्देशक तथा गायक सुजन चापागाईँले प्रिमियरमा उपस्थित सबैलाई धन्यवाद दिँदै शुक्रवारदेखि चलचित्र दर्शकको जिम्मामा रहेको बताए । त्यस्तै, निर्देशक नवीन चौहानले पनि उपस्थित दर्शकको प्रतिक्रियाले मलाई न्यानोपन दिएको र सबै आत्मिक प्रतिक्रियाहरूलाई शब्दमा व्यक्त गर्न गाह्रो छ भएको बताए।

आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको चलचित्र ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईसँगै सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरजस्ता कलाकारको अभिनय छ । पाँचथर र फालेलुङ क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रले नेपाली समाजको विविधता र प्रेमकथालाई समेटेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *