काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भृकुटीमण्डपमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२’ सुरू भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गरे ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा आयोजित मेलामा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको पनि सहकार्य गरेका छन् ।
५ दिन सञ्चालन हुने १०औं संस्करणको मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेश र थाइल्यान्डका व्यवसायी सहभागी छन् । मेलाले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणसँगै मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास महासंघले लिएको छ ।
मेलामा स्वदेशी तथा विदेशीसहित साढे २ सयभन्दा बढी स्टल राखिएका छन् । २०-२५ हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ ।
नगर, जिल्ला हुँदै प्रदेशमा रहेको संघको संयन्त्रको समन्वयमा देशभरका व्यवसायीलाई मेलामा सहभागी गराइएको छ । संघको सिफारिसमा आएका व्यवसायीलाई सहुलीयतको व्यवस्था गरिएको महासंघ उपाध्यक्ष हेमराज ढकाल बताउँछन् ।
नेपालमा उत्पादित सामान बाहिर पठाउने, बाहिरी प्रविधिलाई यहाँका व्यवसायीलाई अवलम्बन गराउन पनि मेला कोसेढुंगा बन्ने आयोजकको भनाइ छ ।
मेड इन नेपाल शो, हस्तकला, कृषि उत्पादन, वस्तुगत संघका उत्पादन साथै चार पाङ्ग्रे र दुई पाङ्ग्रे ईभी पनि प्रदर्शनिमा राखिएको छ । त्यस्तै भवन, ऊर्जा, पर्यटन, सूचना प्रविधिका स्टल पनि छन् । फुड एन्ड बेभरेज, दूधजन्य उत्पादन, घरायसी तथा भान्साका सामान, छाला तथा गार्मेन्टका स्टल पनि छन् ।


Leave a Reply