सिन्धुपाल्चोकको चौतारामा रक्त सञ्चार सेवा केन्द्र स्थापना

चौतारा । विश्व रेडक्रस दिवसको अवसरमा सिन्धुपाल्चोकको चौतारामा रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन गरिएको छ । चौतारा अस्पताल प्राङ्गणमा आयोजित एक कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन तथा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक, ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोक र चौतारा अस्पतालको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले जीवन रक्षाका लागि रगतको महत्त्वपूर्ण भूमिका रहने बताए । रक्त सञ्चार सेवा केन्द्रलाई भविष्यमा थप व्यवस्थित र गुणस्तरीय बनाउँदै लैजाने योजना सुनाए ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटाले रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा आउँदै गर्दा सेवालाई आमजनता सम्म पुर्याउन आवश्यक रहेको बताउँदै नगरपालिका थप साथ र सहयोगको लागि तयार रहेको बताए ।

कार्यक्रम उद्घाटनसँगै सञ्चालित रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका थिए । उक्त रगतलाई अस्पतालमा नै रहेको १२० पिन्ट क्षमताको रक्त सेवा केन्द्रमा भण्डार गरी राखिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *