नवलपुर। दायाँतर्फ २०७० मा स्थापना गरिएको शाक्यमुनि बुद्धको प्रतिमा छ भने बायाँतर्फ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर र चितवन जोड्ने पुल छ। पछाडि भरतपुरको वडा नं. १ को बजार क्षेत्र पर्दछ।
अगाडितिर नेपालको सबैभन्दा गहिरो नदी मानिने नारायणी बगिरहेको छ। यही स्थानमा २०७६ साल वैशाख १ गतेदेखि अखण्ड गङ्गा महाआरती सुरु भएको हो। महाआरतीको एक आरतीमा भनिन्छ- “ॐ जय नारायणी माता…”
हरिहर, कालिका, महेश गुरुकुल, गलेश्वर आदि संस्कृत विद्यापीठ तथा गुरुकुलका शिष्यहरूको सहभागितामा आरती सञ्चालन गरिन्छ। हरेक साँझ करिब दुई घण्टा चल्ने आरती कार्यक्रममा ५० मिनेट आरती गान हुन्छ भने बाँकी समय आरतीका तयारी र प्रक्रिया सञ्चालनमा बित्छ।
हरेक दिन हुने आरती सञ्चालन गर्न सामान्यतया १० जनाको टोली आवश्यक पर्छ र औसतमा प्रतिदिन साढे सात हजार रुपैयाँ खर्च हुने आरती सर्वव्यवस्थापक प्रमुख राजेन्द्र प्रसाद आचार्य बताउँछन्। उनका अनुसार प्रेमनिधि कँडेलले उक्त आरतीको सुरुआत गरेका हुन्।
पर्वहरूमा हजारौँको संख्यामा श्रद्धालु उपस्थित हुने आरतीमा साधारण दिनहरूमा सयौँ श्रद्धालुको उपस्थिति रहने उनले नेपाल प्रेसलाई बताए। सबै काम नागरिक स्तरबाट सुरु भएको हो।
२०७९ साल असोज १ गतेदेखि सरकारी बजेट सुनिश्चित गर्नका लागि आरतीका प्रारम्भकर्ता प्रेमनिधि कँडेलले एक सातासम्म अनशन गरेका थिए। उनको माग पूरा गर्ने सहमतिको आधारमा मेयर रेनु दाहाल र हरिहरका १००८ स्वामी ज्ञानानन्द महाराजले उनको अनशन तोडाएका थिए।
२०८१ सालमा किनारको माटो ड्रिल गरेर परीक्षण पनि गरिएको थियो। तर, भरतपुर वडा नं. १ का अध्यक्ष केशव महर्जनले सहरी विकास कार्यक्रमअन्तर्गत आएको २ करोड रुपैयाँ खर्च गर्न अनुमति दिएनन्। उनको असहयोगकै कारण नारायणी आरतीले पशुपति क्षेत्रको जस्तै विशाल रूप लिन नसकेको आरतीमा संलग्न व्यक्तिहरू बताउँछन्।


Leave a Reply