नेपालमा लोकप्रिय करियरको रूपमा बैंकिङ सेवालाई पनि हेर्ने गरिन्छ । हुन त बैंकिङ क्षेत्र दशकौंदेखि आकर्षक करियरको पर्याय रहँदै आएको छ । कुनै समय थियो बैंकिङ पेशा रोज्नु आत्मगौरवको विषय हुने गर्थ्यो । बैंकमा काम गर्नु भनेको परिवारमा सम्मान, समाजमा साख र जीवनमा स्थायित्वको प्रतीक मानिन्थ्यो । समय परिवर्तनशील छ । सबै कुरा सधैं उस्तै र एउटै रहँदैन । आर्थिक, सामाजिक, मनोवैज्ञानिक, प्राविधिक जस्ता पक्षहरूमा भएका परिवर्तनहरूले व्यक्तिगत रूचि तथा आकर्षणहरूमा पनि परिवर्तन ल्याउँछ । त्यसैले आज नेपाली बजारमा बैंकिङ पेशा पनि एक नयाँ मोडमा आइपुगेको छ । जहाँ अवसरहरू प्रशस्तै छन् ।
ती अवसरहरूलाई चिर्न चुनौतीहरूका लामालामा खुड्किलाहरू चढ्दै जानुपर्ने देखिन्छ । अहिलेको नयाँ पुस्ताले आफ्नो काम र जीवनशैलीबीचमा सन्तुलन खोजिरहेको हुन्छ । आफ्नो काममा थप सिर्जनात्मक स्वतन्त्रता होस् भन्ने उनीहरू चाहन्छन् । साथै करियर तीव्र रूपमा बढोत्तरी होस् भन्ने चाहन्छन्, जुन नेपालमा हालको बैंकिङ क्षेत्रको परिप्रेक्ष्यमा अपेक्षाअनुरूप पूरा गर्न मुस्किल जस्तै देखिन्छ । फलस्वरूप बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरू आफ्नो काममा सन्तुष्ट छैनन् र करियर स्विच गरी अन्य रोजगारी अँगाल्ने, उच्च शिक्षा अध्ययन गर्न विदेशिने वा आफ्नै व्यवसाय सुरु गर्नेतिर लागेका छन् ।
साथै बैंकमा अनावश्यक कामको प्रेसर, टार्गेट, कम पारिश्रमिक, कामको अस्थिरता तथा बदलिँदो आर्थिक वातावरणले युवाहरूलाई नयाँ विकल्पको खोजीमा प्रेरित गरेको छ । मूलतः विश्व श्रम बजारमा बढ्दो अन्तर्राष्ट्रिय अवसरहरूले गर्दा पनि कर्मचारीहरूलाई विदेश पलायन गराउन टेवा पुगेको छ । कुनै समय ‘सरकारी जागिर’ वा ‘बैंकिङ जागिर’ भनेकै जीवनको गन्तव्य देख्ने समाजमा अबको युवा पुस्ताले विदेशको चुनौती र सम्भावना स्वीकार्न थालेका छन् । त्यसैले पछिल्ला वर्षहरूमा बैंकिङ क्षेत्रबाट स्वेच्छिक राजीनामा दिने दरमा समेत तीव्रता आएको देखिन्छ ।
कुनै समय ‘सरकारी जागिर’ वा ‘बैंकिङ जागिर’ भनेकै जीवनको गन्तव्य देख्ने समाजमा अबको युवा पुस्ताले विदेशको चुनौती र सम्भावना स्वीकार्न थालेका छन् ।
देशमा आर्थिक अनिश्चितता र व्याजदरको अस्थिरताले बैंकहरूका आन्तरिक कार्य वातावरण अझै दबाबमूलक बन्दै गएको छ । कार्यसम्पादनको मापन विधिमा अन्योल, राजनीतिक तथा पहुँचवालाहरूको प्रभावले संस्थामा असन्तुष्टिको माहोल सिर्जना गर्ने गरेको छ, जसले बैंकिङ क्षेत्रको दक्ष कर्मचारीहरू उच्च शिक्षा हासिल गर्न वा रोजगारीको लागि विदेश पलायन हुने क्रम बढ्दै गएको छ । यसले निकट भविष्यमा बैंकिङ क्षेत्रमा दक्ष जनशक्ति अभावबाट नकारात्मक ‘सिनर्जी इफेक्ट’ देखिने प्रस्ट छ ।
अध्ययनअनुसार समाजमा बैंकिङ पेशालाई जति सम्मानको नजरले हेरिन्छ, त्यसभित्रको व्यथा त्यति नै मार्मिक पनि छ । बैंकिङ पेशाको चमकभित्र पनि कर्मचारीहरू मानसिक थकानसँग, कामको असुरक्षासँग र व्यक्तिगत जीवनमा देखिएको असन्तुलनसँग जुधिरहेका हुन्छन् । अध्ययनहरूले समेत देखाएका छन् कि बैंकिङ पेशामा कार्यरत कर्मचारीहरूमा ‘कामसम्बन्धी तनाव’ (work related stress) र बर्नआउट सिन्ड्रोम’ (burnout syndrome) को जोखिम उच्च छ । यद्यपि आत्मप्रेरणा, स्वस्थ जीवनशैली, समय व्यवस्थापन र सशक्त मानसिकता विकास गर्न सकेमा यी चुनौतीहरूसँग सामना गर्न सकिन्छ ।
नेपालको वर्तमान आर्थिक अवस्थालाई नजिकबाट नियाल्दा यसको अवस्था एकदमै चुनौतीपूर्ण छ । वैदेशिक मुद्रा सञ्चिती दबाब अलि कम भए तापनि बैंकहरूको कर्जा विस्तार एकदमै सुस्त छ । निजी क्षेत्र, औद्योगिक क्षेत्र, व्यापार र उत्पादन तथा प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नमीठो गतिमा अगाडि बढिरहेको छ । यस्तो परिवेशमा बैंकिङ क्षेत्रमा चुनौतीहरू अझै बढ्दै गएको छ ।
बैंकिङ पेशाको चमकभित्र पनि कर्मचारीहरू मानसिक थकानसँग, कामको असुरक्षासँग र व्यक्तिगत जीवनमा देखिएको असन्तुलनसँग जुधिरहेका हुन्छन् ।
नेपाल जस्तो विकासोन्मुख मुलुकमा बैंकिङ क्षेत्र आर्थिक विकासको मेरुदण्डको रूपमा विकास हुँदै आएको छ । यदि देशको वित्तीय संरचना सुदृढ बनाउने हो भने निजी क्षेत्रमा लगानी प्रवाह बढाउनुपर्छ । नयाँ उद्यमशीलता जन्माउने, पूर्वाधार विकासमा लगानी, जलस्रोतमा लगानी कृषिमा लगानी, पर्यटनमा लगानी बढाई अर्थतन्त्रलाई चलायमान गराउनुपर्छ । यसरी अर्थतन्त्र चलायमान हुँदा बैंकिङ क्षेत्रले पनि अग्रगामी छलाङ मार्नसक्छ । फलस्वरूप नेपाली श्रम बजारमा बैंकिङ क्षेत्रको आकर्षण थप बढेर जान्छ ।
आधुनिक युगमा प्रविधिको प्रचण्ड विकासले बैंकिङलगायतका समग्र क्षेत्रहरू आउने दशकहरूमा प्राविधिक क्षेत्रमा रूपान्तरण हुँदै जाने देखिन्छ, जसले बैंकिङ क्षेत्रमा फाइनटेक कम्पनीहरूको उदय, डिजिटल मुद्रा तथा डिजिटल भुक्तानी प्रणालीको विकास, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स-एआई)मा आधारित सेवा आदि जस्ता परिवर्तनले यो क्षेत्रलाई आमूल परिवर्तन गराउँछ । यस परिप्रेक्ष्यमा जो कर्मचारीहरूले नयाँ सीप सिक्न रुचाउँछन्, प्रविधि आत्मसात गर्छन् र परिवर्तनलाई अवसरका रूपमा स्वीकार गर्छन्, उनीहरूका लागि बैंकिङ करियर अझै सम्मानित र सुरक्षित हुने देखिन्छ ।
नेपालको बैंकिङ पेशा अहिले संक्रमणकालीन यात्रामा छ । यो पेशाले चुनौतीहरू प्रस्तुत गर्छ, तर तिनै चुनौतीहरूले व्यक्तित्व विकास, सीप वृद्धि र जीवनमा दिगो सफलताको मार्गमा पनि डोर्याउँछ । जुन कर्मचारी समयसँग चल्न जान्दछ, जटिल परिस्थितिमा आफैंमा लगानी गरेर कार्यदक्षतामा निखार ल्याउँछ । साथै जटिल परिस्थितिलाई आत्मबलमा बदल्नसक्छ, उसका लागि बैंकिङ करियर अझै पनि एक शक्तिशाली करियरको विकल्प हो ।
अन्ततः परिवर्तन भनेको नै अवसर हो, नेपाली बैंकिङ पेशामा नियमनकारी निकायले तोकेको कम्प्लायन्सभित्र रहेर परिवर्तनलाई स्वीकार गरी, प्रविधि र एआईको ज्ञान बढाउँदै जाने, अध्ययनशील बन्नेहरूको लागि नेपाली बैंकिङ पेशामा अझै उज्यालो भविष्य निर्माण गर्न सकिन्छ ।

Leave a Reply