रूपन्देही । कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्लले अहिलेको कानूनी अनुसन्धान प्रणाली सुधारेर लैजानुपर्ने बताएकी छन् । नेपालको संविधानले करुणासहितको न्यायको कल्पना गरेको भन्दै उनले त्यसलाई सबैले आत्मसात गर्दै अघि बढ्नुपर्नेसमेत बताइन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कुल अफ लले आयोजना गरेको राष्ट्रिय अभ्यास अदालत प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई शनिबार लुम्बिनीमा सम्बोधन गर्दै कामु प्रधानन्याधीश मल्लले बुद्धले प्रदान गरेको शिक्षालाई अनुशरण गर्दै करुणायुक्त न्याय परिपाटीको विकास गर्नुपर्ने बताइन् ।
‘कानून र करुणा एकअर्काका विपरीत होइनन्, कानूनले न्याय बुझ्नुपर्छ, करुणायुक्त न्याय आजको आवश्यकता हो, त्यसो भएन भने न्याय प्राप्त हुन सक्दैन’, उनले भनिन्, ‘अपराधको अनुसन्धान, अभियोजनमा पनि करुणा हुनुपर्छ ।’
अरुलाई पीडाबाट मुक्त गराउनु न्यायको अभिप्राय भएको उनले बताइन् । बुद्धले मानव वध गर्ने अंगुलीमाललाई सत्मार्गमा ल्याउन दण्ड नदिइकन अपनाएको बाटोलाई उपचारात्मक न्याय प्रणालीको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ ।
‘अपराधको अनुसन्धान कसुरमाथि भइरहेको छ, तर पीडामाथि अनुसन्धान भइरहेको छैन, अनुसन्धान प्रणालीलाई परिवर्तन गर्न आवश्यक छ’, उनले थपिन्, ‘अब अनुसन्धान प्रणालीलाई फेर्नुपर्छ, संविधानको मर्म र फौजदारी न्याय प्रणालीको मर्मअनुसार गर्नुपर्छ, अदालतले त करुणासहितको न्याय शुरु गरिसकेको छ ।’
न्यायाधीशहरु तटस्थ हुनुपर्छ भनेको शून्यतामा नरहेको भन्दै उनले साँचो तथ्यमा हुनुपर्ने बताइन् ।
महान्यायाधिवक्ता रमेश बडालले बुद्धले दिएका सन्देशलाई न्याय प्रणालीमा रुपान्तरण गर्दै जान आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संसदले निर्माण गर्ने कानूनमा न्यायिक करुणा आवश्यक रहेको औंल्याए ।
नेपाल बार एसोसियसनका अध्यक्ष विजयप्रसाद मिश्रले बौद्ध न्याय प्रणालीलाई न्याय सम्पादनमा अनुशरण गर्दा कानूनी क्षेत्रमा नयाँ अभ्यास हुने बताए ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टर डा. तिलकराम आचार्य, सर्वोच्च अदालतका पूर्वन्यायधीश भरतबहादुर कार्की, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य, रुपन्देहीका जिल्ला न्यायाधीश अशोककुमार बस्नेत, त्रिवि कानून संकायका डीन कृष्णप्रसाद बस्याल, लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा. हरिशरण चखु, स्कुल अफ लका निर्देशक प्रकाशमणि शर्मालगायतले बौद्ध दर्शन र न्याय प्रणालीका विषयमा आआफ्नो धारणा राखेका थिए ।
मुलुकका नौ वटा विश्वविद्यालयबाट १६ क्याम्पसको सहभागिता रहेको अभ्यास अदालत प्रतियोगितामा काठमाडौं स्कुल अफ लले प्रथम स्थान हासिल गरेको छ ।
त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ लले दोस्रो स्थान प्राप्त गरेको छ । बेस्ट मेमोरियलको उपाधि नेपाल ल क्याम्पस र बेस्ट स्पीकर ल क्याम्पसकै सविना ढकाल भएको निर्देशक भुसालले जानकारी दिए ।

Leave a Reply