गैरआवासीय नेपाली संघ राजनीति गर्ने संस्था होइन: परराष्ट्रमन्त्री राणा (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न गैरआवासीय नेपाली संघलाई आग्रह गरेकी छन् ।

काठमाडौंमा शनिबार भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले एनआरएनए राजनीति गर्ने संस्था नभएको भन्दै संस्थाको पवित्र उद्देश्य पूरा गर्न एकताबद्ध भई अगाडि बढ्न आग्रह गरेकी हुन् ।

एनआरएनएमा विवाद देखिएको र उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशअनुसार भइरहेको एकता महाधिवेशनलाई सबै मिलेर सफल पार्नुपर्नेमा उनले जोड दिइन् ।

‘सबै क्षेत्रमा राजनीति गरेरमात्रै देश चल्दैन’, परराष्ट्रमन्त्री राणाले भनिन्, ‘मुलुकको विकासका लागि सबै गैरआवासीय नेपालीको साथ चाहिन्छ ।’

उनले नेपालमा रहेका पर्याप्त स्रोतसाधनलाई नयाँ प्रविधि, व्यवस्थापनमार्फत अघि बढाउन गैरआवासीय नेपालीहरुहको भूमिका महत्वपूर्ण हुने धारणा राखिन् ।

एनआरएनए उच्चस्तरीय समितिका संयोजक शेष घलेले संस्थालाई बलियो बनाएर अघि लैजानुपर्ने आवश्यकता रहेको भन्दै अहिलेको महाधिवेशन अवसर भएको बताए ।

लामो समयदेखि विवादमा अल्झिएको एनआरएनएलाई एकताबद्ध गरी एकताको महाधिवेशन गराउन सर्वोच्चले परमादेश गरेपछि उच्चस्तरीय समिति बनाएर महाधिवेशन गरिएको हो । महाधिवेशनले संघको नयाँ नेतृत्वसमेत चयन गर्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *