वीरगञ्ज । दुई महिनाअघि उनी वीरगञ्जको सडकमा थिइन्, भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा रहस्यमय मृत्युवरण गरेकी बुटवलकी प्रकृति लम्सालको न्यायका निम्ति ।
दुई महिनापछि त्यहीँ वीरगञ्जकी प्रिसा साहले प्रकृतिको नियति भोगेकी छन् । प्रकृतिको जस्तै प्रिसाको आत्महत्या वा अन्य कुन कारणले मृत्यु भएको हो भन्ने विषय यतिबेलासम्म रहस्यमै छ । त्यहाँ प्रकृतिले फागुन ४ मा जीवन त्यागिन्, प्रिसाले वैशाख १८ मा ।
प्रकृतिको मृत्युपछि किटमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए र वीरगञ्जका अन्य विद्यार्थीसँगै प्रकृतिको न्यायका निम्ति प्रदर्शन गरेका थिए । त्यहीँ प्रदर्शनकारीको भिडमा एकजना थिइन्, प्रिसा ।
हेर्नुहोस् तस्बिर-

दुई महिनाअघि प्रिसासँगै प्रकृतिको न्यायका लागि प्रदर्शनमा उत्रिएका ती विद्यार्थी शायद अब अर्को प्रदर्शनको तयारी गर्दै होलान्, प्रिसाको न्यायका निम्ति । त्यहाँ अरु त सबै हुनसक्छन्, तर प्रिसा फर्किएर आउँदिनन् ।
किट कलेजमै विहीबार मृत फेला परेकी प्रिसाको घटनाबारे राज्य सरकारले औपचारिक छानबिन प्रक्रिया शुरू गरेको जनाएको छ । राज्यको मौलिक तथा जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिअनुसार, स्नीय प्रहरीलाई विहीबार राति ८:१० बजे घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी आयुक्त, राजस्व डिभिजनल कमिश्नरलगायत अनुसन्धानमा खटिएका छन् । विज्ञप्तिमा घटनाको कारण पत्ता लगाउन सोधपुछ र प्राविधिक विश्लेषणसमेत शुरू भएको जनाइएको छ ।
प्रिसाको परिवार सर्लाहीको मलंगवाबाट वीरगञ्ज-१५ मा अस्थायी बसोबास गर्दै आएको थियो । उनी स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिइन् । परीक्षा अवधिमा होस्टेल बस्दै आएकी उनको शव बिहीबार साँझ होस्टेल कोठामै फेला परेको थियो ।
छानबिन प्रारम्भ भए पनि विद्यार्थीहरूको सुरक्षामा विश्वविद्यालय प्रशासनको भूमिका र निगरानीप्रणालीप्रति प्रश्न उठ्न थालेका छन् । विद्यार्थी, अभिभावकहरू, नेपाली समुदाय र विद्यार्थी युनियनहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
त्यतिबेला विद्यार्थीहरू आन्दोलित हुँदा कलेज प्रशासनले होस्टेल छाडेर जानसमेत चेतावनी दिएको थियो । उक्त घटना सम्झँदै प्रहरीले दूतावाससँग त्यो बेलाको जस्तो कमजोरी अहिले नगर्ने प्रतिबद्धता जनाएको कन्सुलर एसएसपी शर्माले बताए ।
दिउँसो टिकट काट्न लगाइन्, राति नै ज्यान गुमाइन्
‘मे १८ तारिखमा (जेठ ४ गते) घर आउँछु, टिकट काटिदिनुहोला’, विहीबार दिउँसो ३ बजे वीरगगञ्जमा रहेका परिवारसँग फोनमा भनेकी थिइन् । परिवारसँग यो नै उनको अन्तिम संवाद भयो । त्यही रात ८ बजेर १० मिनेट जाँदा प्रिसाले ज्यान गुमाइन् ।
प्रिसा एक वर्ष अघिमात्र उच्च शिक्षा अध्ययनका निम्ति उनी त्यहाँ पुगेकी थिइन् । विहीबार राति अप्रत्याशित खबरले परिवारका सबै सदस्य मुर्छितप्रायः थिए । राति नै बुबा, आमासहित परिवारका सदस्य ओडिसातर्फ लागे ।
कलेजबाट राति ९ बजे उनको मृत्युको खबर आएको उनका भाइ गौरवले नेपाल प्रेसलाई बताए । ‘फोनमा मृत्युको खबर आयो, हामी स्तब्ध भयौं’, उनले भने ।
प्रिसा पढाईमा अब्बल थिइन् । त्यसैले महंगो मानिने किट कलेजमा पढाउन परिवारले कुनै हिच्किचाहट नपालेको भाइ गौरवले बताए । भने, ‘हामी उनीप्रति निकै आशावादी थियौं, केही बनेर फर्किन्छिन् भन्ने ठूलो भरोसा थियो ।’

Leave a Reply