काठमाडौं । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई सदस्यमा घटुवा गरिएको छ । गोल्छासंगै मनोनीत सदस्य रहेका उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा निसान ढकाल र अभिक ज्योतिलाई पनि आमन्त्रित सदस्यमा झारिएको छ ।
आकाश गोल्छाले आफूलाई वरिष्ठ उपाध्यक्षबाट सदस्यमा झारेको सुनाए । उनले भने, ‘२ वर्षअघिको साधारण सभाले नै वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको थियो । तर, अहिले वरिष्ठ उपाध्यक्षबाट मलाई सदस्यमा झारिएको रहेछ ।’
नाडामा आन्तरिक किचलो चलिरहेका कारण गोल्छा घटुवामा परेको चर्चाबारे उनी भन्छन्, ‘सचिवालयले काम नगरेकाले यस्तो भएको हो । जिल्ला प्रशासन कार्यालयमा संशोधन भएको विधान नै पेस नगरी पुरानै विधानअनुसार संस्था नवीकरण गर्दा यस्तो भएको हो जस्तो लाग्छ । त्यसबाहेक नाडामा केही राजनीति पनि भएको हो ।’
नाडामा अर्का एक पदाधिकारीले व्यवसायीका समस्या समाधान गर्नुपर्ने बेला नाडा विवादमा फसेको भन्दै असन्तुष्ट पोखे । ती पदाधिकारीले भने, ‘नाडा कसरी चलेको छ भन्ने नै थाहा हुन छाड्यो । अध्यक्षलगायतले व्यवसायीको समस्या समाधानमा लाग्नु पर्ने बेला विवाद झिकेर बसेका छन् । साधारण सभाले नै वरिष्ठ उपाध्यक्ष राख्ने र स्वतः अध्यक्ष हुने निर्णय भएको थियो । तर, अहिले यही पद हटाइयो ।’
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको २०८० मंसिरमा भएको साधारण सभाले सर्व सहमतिमा अध्यक्ष, पदाधिकारीसहित कार्यसमिति चयन गरेको थियो । यही सभाबाट वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरेको थियो ।

Leave a Reply