एमालेमा विधान महाधिवेशनको होमवर्क- संशोधनका लागि मागियो सुझाव

काठमाडौं । नेकपा एमालेले पार्टीको विधानमा आवश्यक संशोधनका लागि सुझाव संकलनको काम थालेको छ । केन्द्रीय संगठन विभागको बैठकले मातहतका पार्टी कमिटी र कार्यकर्ताबाट पार्टी विधानमा आवश्यक संशोधनका लागि सुझाव माग्ने निर्णय गरेको हो ।

सुझाव संकलनका लागि जेठ मसान्तसम्मको समय सीमा तोकिएको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।

एमालेले आउँदो भदौ २०-२२ मा दोस्रो विधान महाधिवेशन गर्दैछ ।

महासचिव शंकर पोखरेलको विशेष उपस्थितिमा आइतबार सम्पन्न बैठकले केन्द्रीय संगठन विभागको प्रस्ताव तथा पार्टी केन्द्रीय कमिटीको निर्णयमा माघ, फाल्गुण र चैत्रमा सञ्चालन गरिएको वडा केन्द्रित पार्टी निर्माणको जरा अभियानले पार्टी गतिविधि बढेको, स्थानीय पार्टी चलायमान भएको, मातहतका अधिकांश अधिवेशनहरू सम्पन्न भएका, पार्टी सदस्यताको नवीकरण र विस्तारका काम अघि बढेको, जनतासँग पार्टी नेता कार्यकर्ताहरूको सम्बन्धमा सुधार भएको निष्कर्ष निकालेको ढुंगेलले बताए ।

त्यस्तै पार्टी सदस्यता नवीकरण सकेर यही वैशाख मसान्तसम्म जिल्लाको डाटा अद्यावधिक गरी प्रदेशमा पठाउन निर्देशन दिइएको छ । सदस्यहरूको अनलाइन अभिलेखीकरणको काम केन्द्रीकृत रूपमा जेठ महिनाभर अभियानकै रूपमा चलाइने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *