काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज रत्नपार्कमा आयोजना गरेको कार्यक्रम राजावादी तप्काका लागि ‘अभूतपूर्व’ बन्यो । पहिलोपटक सबै राजावादी शक्तिहरु एक ठाउँ उभिएर एकताको सन्देश दिन सफल भए ।
थापाको निम्तो मानेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन कार्यक्रममा उपस्थित भएपछि माहोल तातेको थियो । लिङदेन कार्यक्रमको अन्तिम चरणमा रत्नपार्क आइपुगेका थिए । आउनासाथ उनले भाषण गरेर तल झरे । त्यसपछि थापाले बोले ।
आफ्नो भाषण सकिएपछि थापाले माहोललाई थप रोचक बनाए । भाषण गरिसकेर तल बसेका सबै नेताहरुलाई उनले फेरि पालैपालो मञ्चमा बोलाए । सबैभन्दा पहिले राजेन्द्र लिङदेनलाई निम्त्याए ।
‘हामी सबै एक छौं र एक रहनेछौं भन्ने सन्देश दिनका लागि म आग्रह गर्न चाहन्छु राप्रपाका अध्यक्ष माननीय राजेन्द्र विष्ट… सरी राजेन्द्र लिङदेनलाई मञ्चमा आइदिन आग्रह गर्न चाहन्छ’, उनले भने ।
लिङदेनले पनि नाइनास्ती गरेनन् । मञ्चमा उक्लिएर उनले हाँस्दै हात हल्लाएर सबैलाई अभिवादन गरे । त्यसपछि थापाले लिङदेनको हात च्याप्प समाते र जुरुक्क उचाले ।
लिङदेनको हात उचालेर थापाले भने, ‘हामी एक ठाउँमा छौं र एक रहन्छौं ।’
त्यसपछि नवराज सुबेदी र केशरबहादुर बिष्ट पनि मञ्चमा उक्लिए । चार नेताहरुले फेरि संयुक्तरुपमा एक अर्काको हात उठाए ।
यसबीचमा लिङदेनले थापालाई वीपी कांग्रेसलाई पनि बोलाउन सुझाए । त्यसै बमोजिम थापाले विपी कांग्रेसका महामन्त्री देवेन्द्र पौडेलसहित शिवेसेनाकी उपाध्यक्ष गंगा चौधरीलाई पनि डाके । पंति अझै लामो भयो । सबैले फेरि हात उठाए ।
थापाले थप भाषण गर्दै राप्रपाको प्रशंसामा केही शब्द खर्चिए ।
उनले भने, ‘राप्रपा देशको अहिले सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति हो । राप्रपाले नै सबैलाई समेट्ने ढंगबाट अगाडि बढ्नुपर्छ र त्यसका लागि पहलकदमी लिन माननीय राजेन्द्र लिङदेनजीलाई अगाडि बढ्न चाहन्छु ।’

Leave a Reply