काठमाडौं । गत साता एआईजी बढुवा सिफारिस प्रकाशित भएयता देशका सातै प्रदेश प्रहरी प्रमुखविहीन छन् । तीन प्रदेशमा त प्रहरी प्रमुखविहीन भएको ४० दिन पुग्यो, पठाउने अत्तोपत्तो छैन ।
नेपाल प्रहरीमा रिक्त १० डीआईजी बढुवाको रस्साकस्सीका बीच गृह मन्त्रालयमा रिक्त रहेका प्रदेश प्रहरी प्रमुख खटाउने तयारी चलिरहेको छ । तर, शक्तिकेन्द्रको अत्यधिक चासोका कारण गृह र प्रहरी नेतृत्व रनभूलमा परेको छ ।
रिक्त १० डीआईजी बढुवासँगै गर्ने कि त्यसअघि नै भन्ने विषयमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच कुरा नमिल्दा डीआईजी सरुवा विलम्ब भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
एसएसपीबाट बढुवा हुने नयाँ डीआईजीमध्ये कतिपयलाई प्रदेश प्रहरी प्रमुखका रूपमा खटाउने राजनीतिक दबाब आएपछि गृहले तयारी गरेको सरुवाको क्रम रोकिएको हो । प्रहरी प्रधान कार्यालयको रायबमोजिम गृहमन्त्री स्तरीय निर्णयले डीआईजी सरुवा हुने गर्दछ ।
निवर्तमान आईजी वसन्तबहादुर कुँवरसहितको टोलीले चैत ४ गते ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश हुँदा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख पनि अवकाश भएका थिए । गत साता प्रकाशित एआईजी बढुवा सिफारिसमा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका प्रहरी प्रमुख पनि परेपछि सातै प्रदेश प्रहरी प्रमुखविहीन भएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) मा पनि कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुपर्ने एआईजी रिक्त छ । तर, त्यहाँ कार्यरत डीआईजी चन्द्रकुवेर खापुङ एआईजी बढुवा सिफारिसको पहिलो नम्बरमा परेका कारण उक्त बढुवा अनुमोदनसँगै उनैले त्यहाँको कमान्ड सम्हाल्ने सम्भावना छ ।
त्यस्तै, मन्त्रिपरिषद्ले एआईजी बढुवा अनुमोदन र उनीहरूको सरुवा नगरिदिँदा प्रहरी प्रधान कार्यालयका सम्पूर्ण विभागसहित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान ४० दिनदेखि नेतृत्वविहीन छ ।
प्रदेशका लागि दौडधुप
डीआईजी दर्जाबाट खटाइने सात प्रदेश प्रहरी प्रमुखको दौडधुपमा भइसकेका र हुनेवाला डीआईजीको उत्तिकै दौडधुप चलेको छ ।
बीचमा राजनीतिक दबाबका कारण स्थगित सरुवा नयाँ डीआईजी बढुवा अगावै गर्ने प्रयास जारी छ । यद्यपि, प्रहरीका आईजी दीपक थापाले सरकारका वरिष्ठ मन्त्रीहरूको दबाबका कारण त्यस्तो हिम्मत गर्न सकेका छैनन् ।
कोशी प्रदेशका डीआईजी राजन अधिकारी एआईजी बढुवा सिफारिस भएपछि रिक्त हुँदैछ । त्यहाँ जानका लागि गोविन्द थपलियाको प्रयास छ ।
मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य पनि एआईजी बढुवाको सिफारिसमा परेका कारण त्यहाँ पठाइनका लागि हालसम्म उमाप्रसाद चतुर्वेदीको नाम तयार पारिएको छ । यद्यपि, चतुर्वेदी आफैँले लुम्बिनी प्रदेश जाने रुचि देखाएका छन् ।
तर, यी दुवै प्रदेशमा बढुवा हुने डीआईजीबाट पठाउनुपर्ने अर्को दबाब छ । कोशीका लागि भूपेन्द्र खत्री र मधेसका लागि सोमेन्द्रसिंह राठौरको चर्चा छ । यद्यपि, खत्रीले अहिले एसएसपी दर्जामा सम्हालिरहेको भरतपुरस्थित जुनियर प्रहरी शिक्षालय र राठौरले सम्हालिरहेको गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा गार्डको जिम्मेवारी नै यसअघि डीआईजीलाई दिइने गरिन्थ्यो ।
बागमती प्रदेश प्रहरी प्रमुखका रूपमा ईश्वर कार्कीको नाम प्रधान कार्यालयले सिफारिस गरेको छ । त्यहाँका डीआईजी कृष्णहरि शर्मा पोखरेल एआईजी बढुवा सिफारिस भएपछि उक्त प्रदेश रिक्त हुने भएको हो ।
लुम्बिनीमा राजेन्द्र भट्टमा जाने प्रहरी प्रधान कार्यालयको सिफारिस छ । त्यहाँका प्रहरी प्रमुख दानबहादुर कार्की एआईजी बढुवाका लागि सिफारिस भएका छन् ।
चैत ४ मा सेवा अवधिका कारण डीआईजी भोलाबहादुर रावलले अवकाश पाएपछि गण्डकीमा अरुण पौडेललाई पठाउने तयारी छ ।
कर्णालीमा डम्बरबहादुर विकलाई पठाउने तयारी भएको स्रोतले जनायो । त्यहाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका जनक भट्टराई गत फागुनमा हाजिर भए लगत्तै एआईजी बढुवा भए । त्यस लगत्तै चैत ४ मा ३० वर्षे सेवाअवधी पूरा गरेर अवकाश भए । त्यहाँ एसएसपी शिवकुमार श्रेष्ठले जिम्मेवारी सम्हालिरहेका छन् ।
सुदूरपश्चिममा दिनेश आचार्यको सिफारिस भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । त्यहाँ रहेका डीआईजी गणेश चन्द पनि चैत ४ मा अवकाश भएका हुन् । यद्यपि, प्रहरीको सिफारिसलाई जस्ताको तस्तै लागु गर्न गृह मन्त्रालय बाध्य छैन ।
प्रदेश प्रहरी कमान्ड गर्न पठाइनुपर्ने डीआईजीमध्ये सिद्धिविक्रम शाह र सुशीलसिंह राठौर पनि हुन् । तर, यी दुवै जेठ १० मा रिक्त हुने एक एआईजी बढुवाका बलिया दाबेदार हुनाले प्रदेश जान चाहेका छैनन् ।

Leave a Reply