एनएसएलमा आयुषको उडान

पोखरा । नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनअघि आयुष घलानलाई धेरैले चिन्दैनथे । विसं. २०७८ गत वैशाख–जेठमा भएको पहिलो सिजनमा आयुषले ट्यालेन्ट हन्टमार्फत एनएसएलमा प्रवेश पाएयता भने उनी फुटबलका एक नक्षत्र बनेका छन् । त्यसयता उनी नियमित राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।

राष्ट्रिय लिगहरूमा पनि जबरजस्त प्रदर्शन गरिरहेका छन् । ‘बी’ र ‘सी’ डिभिजन लिग खेल्दै आएका आयुष पोखरा थन्डर्सबाट पहिलो सिजनबाट एनएसएलमा इन्ट्री पाएका थिए । उक्त सिजनमा पोखरा प्लेअफमा पर्न नसके पनि ट्यान्लेन्ट हन्टमार्फत आएका आयुष भने सबैको नजरमा परे । उनले पहिलो सिजनमा पोखराबाट ६ खेल खेलेका थिए ।

तेस्रो सिजनमा आइपुग्दा उनी पोखराको कप्तानको जिम्मेवारी मात्रै लिएनन् । टोलीलाई पहिलो पटक फाइनलमा पुर्‍याए । आफू सिजनकै ‘मोस्ट भ्यालुएबल प्लेयर’ बने ।

पहिलो सिजनको प्रदर्शनबाट राष्ट्रिय पुरुष फुटबल टोलीका तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको रोजाइमा पर्न सफल भएका थिए ।

एनएसएल लगत्तै आयुषलाई १७ वर्षकै उमेरमा प्रशिक्षक अलमुताइरीले राष्ट्रिय टोलीबाट डेब्यु गराए । आयुषले कुवेतमा भएको विश्वकप छनोटमा अस्ट्रेलियाविरुद्ध अन्तिम समयमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । त्यसयता उनी निरन्तर राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । उनले यु–२० राष्ट्रिय टोलीको कप्तानीसमेत गरिसकेका छन् ।

विसं. २०७९ मा एनएसएल हुन सकेन । २०८० मङ्सिरमा भएको दोस्रो संस्करणको एनएसएलमा पोखराले पहिलो सिजनमा ट्यालेन्ट हन्टमार्फत प्रवेश पाएका आयुषलाई मार्की खेलाडी बनायो ।

पहिलो सिजनमा आयुषले देखाएको सम्भावना र क्षमतालाई मूल्याङ्कन गर्दै पोखराले आयुषलाई मार्की खेलाडीको जिम्मेवारी प्रदान गर्‍यो । त्यसपछि आयुषको चर्चा झनै चुलिँदै गयो । उनले आफूलाई झनै विकास गर्न थाले ।

बल कन्ट्रोल र ड्रिब्लिङ क्षमताका कारण पनि आयुष सधैँ दर्शकको नजरमा परिरहेका हुन्छन् । सोही कारण पनि पोखराले आयुषलाई थप जिम्मेवारी थपिदियो । पोखराले आयुषलाई तेस्रो सिजनमा कप्तानीको जिम्मेवारी प्रदान गर्‍यो । उक्त जिम्मेवारीले आयुषलाई थप परिपक्व बनाउन सहयोग पुग्यो । तेस्रो सिजनमा उनकै नेतृत्वमा पोखराले पहिलो पटक फाइनलसम्मको यात्रा तय गर्‍यो ।

पोखरालाई फाइनलसम्म पुर्‍याउन आयुषले उत्कृष्ट प्रदर्शन गरे । सिजनभर नै उत्कृष्ट प्रदर्शन गरेका आयुष ‘मोस्ट भ्यालुएबल प्लेयर’ बने । उनी ट्रफीसहित साढे २ लाख हात पारे ।

एनएसएलबाट उदाएका आयुष खेलाडी उत्पादन र स्तर वृद्धि गर्न यस्तो खालको प्रतियोगिता धेरै नै आवश्यक हुने बताउँछन् । यसले खेलाडीलाई ‘सस्टेन’ हुनसमेत सहयोग गर्ने उनको विश्वास छ । ‘एनएसएल जस्ता प्रतियोगिता खेलाडीका लागि धेरै नै चाहिन्छ,’ उनी भन्छन्, ‘राष्ट्रिय टिममा भएका खेलाडीहरू त प्रायजसो क्याम्पमा भइराखेका हुन्छन् । तर, अरू ए डिभिजन प्लेयरहरूलाई सस्टेन हुन धेरै गाह्रो हुन्छ जस्तो लाग्छ । यस्ता प्रतियोगिता जति धेरै भयो । प्लेयरलाई पनि राम्रो, राष्ट्रिय टोलीलाई पनि राम्रो हुन्छ जस्तो लाग्छ ।’

यस पटक फाइनलमा गएर असफल भए पनि अर्को सिजनमा ट्रफी ल्याउन भरपुर प्रयास गर्ने कप्तान आयुषले प्रतिबद्धता व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *