सडकका असन्तुष्ट आवाजहरूलाई सम्बोधन गर्न कानून बनाउनुपर्नेमा राष्ट्रियसभा अध्यक्षको जोड

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभाको अठारौँ अधिवेशन शुभारम्भमा आइतबार राष्ट्रियसभामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष दाहालले समयमै कानून निर्माण गर्न नसक्दा ऐन कानूनको माग गर्दै सडकमा आन्दोलन भइरहेको भन्दै सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानून बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानकै विरूद्धमा देखिएका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको भन्दै उहाले यस सन्दर्भमा सिंगो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक रहेको धारणा राखे । निर्माण गर्नुपर्ने कानूनहरू यथासम्भव टुङ्ग्याउन र नागरिक समस्या सम्बोधन गरी सुशासन कायम गर्न सबैको पहलकदमी र साझा प्रतिबद्धता आवश्यक रहेको उनले बताए ।

उनले सडकमा मुखरित विषयवस्तु र जनताले अपेक्षा गरेबमोजिम सेवा प्रवाह लगायतका विषयमा गम्भीर ढङ्गले विचार विमर्श गरी निष्कर्षमा पुग्नु सवैका जिम्मेवारी र कर्तव्य भएको जिकिर गरे ।

दाहालले संघीय निजामती सेवा विधेयक, २०८०, विद्यालय शिक्षा विधेयक, २०८०, नेपाल प्रहरी विधेयक २०८१ लगायत अन्य महत्त्वपूर्ण विधेयकहरू राष्ट्रिय सभामा प्राप्त हुनासाथ प्राथमिकताका साथ कार्वाही अगाडि बढ्ने र समयमै सभाबाट पारित हुने विश्वास व्यक्त गरे ।

चालू अधिवेशनमा देशको समग्र विकासलाई सरकारको नीति र विधिमार्फत् निर्देशित गरी जनताको जीवनस्तर उकास्न राष्ट्रियसभा सदस्यहरुले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । यसअघि शुक्रबार बसेको चालू अधिवेशनको पहिलो बैठक सांसद दीपक बोहराको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्थगित गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *