काठमाडौं । यही वैशाख २६ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र हो, ‘जार’। २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको यस चलचित्र विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माण पक्षको दाबी छ ।
साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर तयार भएको चलचित्रलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् । चलचित्रको कथावस्तुबारे निर्देशक लामा भन्छन्, ‘यो सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्र हो । साहित्यकार इन्द्रबहादुर राईले सन् १८०० दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए । सोही विषयमा ‘जार’ निर्माण गरिएको हो । त्यसैले यो २२५ वर्ष पुरानो कथा हो ।’
यस चलचित्रले दर्शकलाई इतिहाससँग साक्षात्कार गराउनुका साथै समाजमा हराउँदै गएका परम्परा र सम्बन्धको विविध पाटा देखाउने लामाको भनाइ छ ।
‘जारले हाम्रो समाजको भोगाइ, निर्दोषिता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई समेत उजागर गर्छ’, उनी भन्छन्, ‘यसले इतिहास, संस्कृति र समाजलाई गहिरो रुपमा स्पर्श गर्ने भएकाले युवा पुस्तामाझ पनि प्रभाव पार्नेछ ।’
निर्देशक लामा थप्छन्, ‘अहिलेको पुस्तामा यो विषय केही ओझेलमा परे पनि यसले प्रभाव भने पक्कै पार्नेछ । ‘जार’ केवल इतिहास सुनाउने माध्यम होइन, हाम्रो संस्कृतिको अदृश्य धागो भेट्टाउने प्रयास पनि हो ।’
फैरिटेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने तापनि कम्प्लिट प्याकेज भएको उनको दाबी छ । त्यसैले चलचित्रले दर्शकको मन जित्नेमा लामा ढुक्क छन् ।
‘जार’मा अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यस चलचित्रको छायांकन सिक्किममा गरिएको छ । चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, निरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । झुमा लिम्बू र गंगा थापाको संगीत रहेको यस चलचित्र नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउनेछ । चलचित्र प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् । चलचित्रको अन्तर्राष्ट्रिय वितरण सेभेन सिज सिनेमाले गर्नेछ ।

Leave a Reply