मेयर, महानगर र अख्तियारबारे सुनिताको ५ बुँदे ब्रिफिङ- उपमेयर इलेक्टेड कि सेलेक्टेड ?

काठमाडौं । सुनिता डंगोल काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएको यो वैशाख महिना सकिएसँगै तीन वर्ष पुग्छ । २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर उपमेयर जितेकी डंगोलले लोकप्रिय मतमा मेयर बालेन शाहलाई ७ हजार मतले पछि पारेकी थिइन् । प्रतिस्पर्धी तत्कालीन सत्ता गठबन्धनका रामेश्वर श्रेष्ठलाई ४५ हजार मतले पराजित गरेकी डंगोल नेपाली राजनीतिमा युवा आइकनका रूपमा स्थापित हुँदै गर्दा अन्तर्राष्ट्रिय समुदायले समेत उनलाई ‘रिकग्नाइज’ गर्न थाल्यो ।

३ वर्षसम्म आफ्नो परिभाषित कामवाहेक मेयर बालेनका काम कारवाही र एकल निर्णयमा सार्वजनिक विमत्ति नराखेकी डंगोलले पछिल्लो समय महानगर लथालिङ्ग हुन थालेपछि अभिभावकीय हस्तक्षेप गरेर कर्मचारीलाई तलब खुवाउनेदेखि विकास आयोजनाको काम अघि बढाउने भूमिकामा आफूलाई उभ्याइन् ।

सुनिताले जब महानगरका जनप्रतिनिधि र कर्मचारीको आग्रहबमोजिम नेतृत्वदायी भूमिकामा आफूलाई अघि बढाइन् र युरोपेली युनियनको औपचारिक निम्तामा ब्रसेल्स र लक्जेम्बर्गको भ्रमण गरिन् त्यसपछि उनीमाथि साइबर हमला थालियो । राम्रो काम गर्दा नियोजितरूपमा हमला भएपछि नेकपा एमालेको युथ सेलिब्रेशनको वक्ताका रूपमा पहिलोपटक आक्रामक राजनीतिक अभिव्यक्ति दिएपछि डंगोलको पक्ष र विपक्षमा मान्छेहरू सामाजिक सञ्जालमा उत्रिए ।

यही मेसोमा उपमेयर डंगोलले शनिबार बिहान केही पत्रकारसँग आफ्नो काम कर्तव्य र अधिकारका साथै काठमाडौं महानगर कसरी चलिरहेको छ र कसको दायित्व के हो ? भन्नेबारेमा परिपक्व ढंगले ब्रिफिङ गरिन् । डंगोल महानगर र देश स्टन्टबाजी गरेर होइन विधि प्रक्रिया र प्रचलित कानून बमोजिम चल्नुपर्छ भन्ने सुनिइन् ।

काठमाडौं भ्यूटावर, महानगरबारे बाहिर आइरहेका विषय, अनिश्चित बनिरहेको कार्यपालिका बैठक, बेथितिमाथि उठिरहेका प्रश्न र आफ्नो भूमिकालगायतका विषयमा उनले मुख खेलेकी छन् ।

उनले उठाएका सवालहरू यस्ता छन्-

अख्तियार किन चुप छ ?

उपमेयर डंगोलले महानगरको विषयमा पटकपटक अनियमितता र भ्रष्टाचारको कुरा आइरहँदा पनि नियामक निकाय मौन देखिएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएकी छन् ।

काठमाडौं भ्यू टावर केही दिनअघि सार्वजनिक भिडिओ क्लिपलगायतका विषयहरू उठिरहँदा सत्यतथ्य कुरा बाहिर आउनु जरुरी रहेको उनको भनाइ छ ।

डंगोलले भनिन्, ‘सधैँ जनता भ्रममा बसिराख्न हुँदैन । महानगरको यति धेरै फाइल छ रे अख्तियारमा छानबिन गर्नु पर्दैन ? मेरो विशेष आग्रह छ- कुनै दबाब र प्रभावमा नपरी निष्पक्ष छानबिन गरियोस् । हामी सुशासनको नारा लगाइरहने, तर यत्रो अनियमितताको कुरा आउँदा जो सुकै संलग्न होस् कारवाही हुनुपर्‍यो ।’

एकजनामात्र हो कि संगठितरूपमा भ्रष्टाचार भएको छ भन्ने अनुसन्धान हुन जरुरी रहेको उनको भनाइ छ ।

भ्यूटावर औचित्यहीन

महानगरको विवादको इपिसेन्टर बनिरहेको पुरानो बसपार्कको भ्यू टावर अनावश्यक भएको बताइन् । प्रयोजन र उद्देश्यका लागि लिइएको हो त्यसैका लागि प्रयोग हुनुपर्ने भन्दै उपमेयर डंगोलले जनतालाई ढाँट्न नहुने स्पष्ट पारिन् । सटर बनाएर महानगरले व्यापार गर्न जरुरी नभएको उनको भनाइ छ ।

‘जहिले पनि म पिपुल्स फस्टको पक्षमा हो । जनतासँग जे गर्छु भनेर लिइएको हो त्यसैमा प्रयोग हुनुपर्छ मेरो स्पष्ट मान्यता त्यही छ । हिजोका मान्छे छैनन् भन्दैमा आजको पुस्तालाई थाहा छैनन् भनेर ढाँट्न पाइँदैन । त्यहाँ बिल्डिङ र सटर बनाएर महानगरले जनतासँग व्यापार गर्नु जरुरी छैन’, डंगोलको प्रष्टीकरण छ ।

उनले महानगरमा ऐतिहासिक, पुरातात्विक सम्पदा मासेर बनाइएका अन्य संरचनाको समेत अध्ययन हुनुपर्ने बताइन् । सर्वोच्चमा विचाराधीन रहेको ठमेलको छाया सेन्टरको प्रसंग पनि उनले उप्काएकी छन् ।

‘मुद्दा चलिरहेको बेला मैले बोलिरहन त मिल्दैन । तर, मेरो व्यक्तिगत विचार भनेको पोखरीमा बनेको त्यो संरचना भत्काएर पोखरीलाई जीवन्त दिइनुपर्छ । हामी सम्पदा संरक्षणको कुरा गर्छौं तर भएका सम्पदा पनि मास्दै गएर हुन्न’, उपमेयरले भनिन्, ‘अहिले बनाउँदा यति खर्च भयो उति खर्च लागो भनिएला । तर, हाम्रा सम्पदा जोगाइराख्न सके सयौं वर्ष जीवन्त राख्न सक्छौं । त्योभन्दा ठूलो सम्पत्ति केही हुन्न । त्यहाँ पुरानै अवस्थामा फर्काउन सकेको दिनमात्र सम्पदा संरक्षणमा लागिरहनुभएकाहरूले न्याय पाउनु हुनेछ ।’

कार्यपालिका बैठक छिटो राखौं

सञ्चारकर्मीमाझ डंगोलले लामो समयदेखि कार्यपालिका बैठक नबस्दा एजेण्डा र फायलहरूको चाङ लागेको बताएकी छन् । प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिँदा र मेयर र वडाध्यक्षबीच दूरी बढ्दै जाँदा गत पुस ८ पछि कार्यपालिका बैठक बस्न सकेको छैन ।

वडाध्यक्षहरूले आफूलाई पनि कार्यपालिका बैठकका लागि दबाब दिइरहेको उनले सुनाइन् । बैठकका लागि मेयर बालेन साहसँग समन्वय प्रयास गरिरहेपनि सफल हुन नसकिरहेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय विदेशबाट फर्किएपछि मेयरसँग भेट हुन सकिरहेको छैन ।

डंगोलले भनिन्’, ‘अहिलेका धेरै समस्याको समाधान कार्यपालिका बैठक राख्नासाथ हुन्छ । बोर्ड बैठक बस्न मेयर सा’वसँग भेट्ने प्रयास गरिरहेकी छु । भेट भइरहेको छैन । कति कानून पास गर्न बाँकी छ । एजेण्डाको चाङ छ, वडाध्यक्ष र कर्मचारीहरूले पनि दबाब दिइराख्नुभएको छ । मेयर सा’बले जहिले भन्नुहुन्छ त्यो दिन बस्छ । बैठकमा इन्डोर्स गराएर जानुपर्ने कुरा फास्ट ट्रयाकबाट लैजाने भन्दै नहुने काम पनि गर्नुभएन । एजेन्डानै नहुँदा पनि शुभकामना दिन बैठक त राख्नुपर्छ । कोसिस गरिरहेकी छु ।’

१७ सेकेण्डको भिडिओको पूरै फुटेज चाहियो

उपमेयर डंगोलले पछिल्लो समय सामाजिक सञ्जालबाट भाइरल गराइएको भिडिओ क्लिप सुनियोजित भएको दाबी गरेकी छन् । उनले त्यसको पूरा फुटेज बाहिर ल्याउनुपर्ने बताएकी छन् । गते चैत १० को वडाध्यक्षसहितको एक छलफलको सार्वजनिक गरिएको १७ सेकण्डको क्लिपमा काठमाडौं भ्यू टावर निर्माणमा ५-५ करोड घुस अफरको संवाद सुनिन्छ । उपमेयर डंगोलले आफू त्यस दिन बैठकमा उपस्थित नभएकाले त्यो दिन भएको छलफलको पूरा भिडिओ खोजी गरिरहेको बताइन् ।

यसबारेमा डंगोलको भनाइ यस्तो छ

त्यो मिटिङमा म थिइनँ । म नेपालवाहिरै थिएँ । १७ सेकेण्डको भिडिओ काटेर सुनियोजितरूपमा अहिले वाहिर ल्याएर भ्रम छर्न पाइँदैन । यदि त्यस्तै कुराकानी थियो भने किन अहिलेसम्म कुर्नुपर्थ्यो ? अन द स्पोट सार्वजनिक गरेर संलग्नलाई कारवाही गर्नुपर्थ्यो । त्यो १७ सेकेण्ड अगाडि पछाडि पनि त केही कुराकानी भाको होला । स्वयं मेयर सा’वले बैठकमा के भन्नुभयो ? फूल भिडिओ म र आम नागरिकले सुन्न हेर्न र बुझ्न पाउने अधिकार छ । मैले पूरा भिडिओ मागेको छु । पाएकी छैन । अगाडि पछाडिको आवाज छैन पनि भनेको सुन्दैछु । (हाँस्दै) मुसाले काट्यो भनेजस्तो पो हो कि !

जे गर्दा महानगरको हित हुन्छ त्यही गर्छु

उपमेयर डंगोलले हिजो आफूले गरिरहेका कामलाई अझ व्यापक र मासरूपमा गर्नकै लागि सोचीविचारी राजनीतिमा छिरेको बताएकी छन् । आफूबारेमा सकारात्मक/नकारात्मक आइरहेका टिप्पणी भन्दा पनि म के गर्दैछु र कसका लागि गर्दैछु भन्नेलाई प्राथमिकता दिएर काम गर्ने उनको भनाइ छ ।

उनले थपिन्

म ‘बहुजन हिताय, बहुजन सुखाय’ बुद्धवाणीलाई ध्यानमा राखेर अघि बढेको हुँ । हिजो मैले गरिरहेको कामलाई एम्प्लिफाई गर्न राजनीतिमा आएकी हुँ । मलाई कतिले बोलिनस् पनि भन्छन् । तर, महानगरको हितमा मैले के गर्दा हुन्छ डे वान देखि नै त्यही गर्दै आएकी छु । के गर्दा राम्रो हुन्छ त्यही गर्छु । कहिले बोलेर समाधान हुन्छ भने बोल्छु । नबोलेरै विवाद समाधान हुन्छ भने त्यसै पनि गर्दै आएको छु । तपाईँहरूले विगतमा पनि हेर्नुहोस् कार्यपालिकामा विवाद भइरहँदा पनि अन्तिममा मैले नै समाधान गरिआएको छु । ममाथिका कमेन्टहरू हेर्नुहुन्छ भने सुनिनसक्नु, हेरिनसक्ने खालका छन् । त्यतातिर ध्यान दिएर हुन्न मैले महानगर र यहाँका जनताको हितमा काम गर्नुछ ।

उनले आफूलाई तोकिए/दिइएको जिम्मेवारीको काम कुनै नरोकिएको बताइन् । न्यायिक समितिमा पेण्डिङ फायल एउटै नरहेको डंगोलले बताइन् ।

‘निसुका फायल जिरो बनाएका छौं । मेलमिलापमा नागरिकको विश्वास बढाउँदै लगेका छौं । न्याय चौतारीले कानूनी सचेतनाको राम्रो सन्देश गएको छ । मेरो कार्यकक्ष सबैलाई खुल्ला छ । सचिवालयबाटै हुने काम त्यहीँ टुंग्याइदिनु भनेको छु । मलाई भेट्नै पर्ने काममा म कार्यकक्षमा हुँदा कसैलाई रोकटोक छैन’, उनले भनिन् ।

३ वर्षको अनुभवले उपमेयरको भूमिकालाई लिएर संविधान र कानूनमै सुधार्नुपर्ने आफूले देखेको र यसका लागि वकालत गर्ने उनको भनाइ छ । जनताबाट निर्वाचित भएर आएको प्रतिनिधिले तिनै जनताको माग र भावनाअनुसार काम गर्न नपाउनु विडम्बना भएको डंगोलको भनाइ छ ।

‘कानून-संविधानमा समस्या छ अब बोल्छु । जनताले भोट दिएर जिताएर पठाएपछि उहाँहरूको अपेक्षा हुन्छ नि ! अहिलेका समस्या मलाई पनि त थाहा छ । तर, कहिँ हस्ताक्षर नै नचल्ने । इलेक्टेड बनाको हो । तर, सेलेक्टेडजस्तो छ’, उनले भनिन् ।

बालेनसँगको ट्युनिङका विषयमा सञ्चारकर्मीको जिज्ञासमा उनले भनिन्, ‘सम्बन्ध हिजो जस्तो हो, आज पनि त्यस्तै छ । हिजो चिसिएको सम्झिनु हुन्छ भने आज पनि त्यस्तै । हिजो राम्रो सम्झिनु हुन्छ भने पनि त्यस्तै नै हो ।’

Comments

3 responses to “मेयर, महानगर र अख्तियारबारे सुनिताको ५ बुँदे ब्रिफिङ- उपमेयर इलेक्टेड कि सेलेक्टेड ?”

  1. bipin Avatar
    bipin

    your downfall stated Sunita dangol…

  2. Nagendra Avatar
    Nagendra

    समाजको सजिब मन र चिन्तित आखाले देखेको कुरा ::
    १. सभ्यता र दिघो बिकाश कसैले चाहेको छ भने त्यो समर्थक हुन्छ त्यो देशको उन्नतिको लागि हो प्रगतिको लागि हो !!
    २. क्ष्यानिक आबेगमा आएर बिजुली चम्के जस्तो झल्यास्स उज्यालो दिने हो, त्यो अस्थायी हो, आखा बिगार्ने बिजुली जस्तै : त्यो बिरोधि बन्छ !!
    ३. त्यो भन्दा बढी, त्यो बिजुलीको स्विच को संग छ ब्याट्री कता जोडिएको छ : त्यो आज सम्म धेरै ले ख्याल नगरेको कुरा छ : धेरै बुल्किएका छन् !! ओठ ओठ मा छ जवाफ : जम्मा जम्मी देशको नेतृत्व प्रति बिष बमन: देशको मूल खम्बा माथिको गौंडा गौंडामा प्रहार !!!
    ४. हुल र हल्लाको पछि लाग्ने हो भने त्येही आधि बेहेरीमा थाहै नपाई नेपाल दोश्रो सिक्किम !! अनि रुने हो कि हास्ने : ख्याल गर्ने कुरा चाही यो !!

  3. Ra Avatar
    Ra

    She has to go, downfall for sure

Leave a Reply

Your email address will not be published. Required fields are marked *