काठमाडौं । यहीँ वैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जार’को ‘ए ठूली’ बोलको गीत सार्वजनिक भएको छ। झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा हर्क साउदको शब्द र झुमा लिम्बू स्वयंको संगीत छ ।
लोकलयमा आधारित सार्वजनिक गीत प्रेमिल भावमा बनेको छ। गीतमा प्रेममा रहेका व्यक्तिले गर्ने रुमानी कल्पना र मिठो प्रतीक्षा उल्लेख छ। भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गिताञ्जली थापालगायत कलाकार फिचर्ड छन् ।
‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्र हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र हो । चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ । चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ ।
‘जार’ प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरण सेभेन सिज सिनेमाले गर्ने छ ।

Leave a Reply