रातिको समयमा भारतबाट विद्युत् ल्याउन सकस, कसरी व्यवस्थापन गरिरहेको छ प्राधिकरणले ?

काठमाडौं । रातिको समयमा भारतबाट आयात हुने विद्युत् अहिले लगभग शुन्य जस्तै छ । मागको १ प्रतिशत मात्रै रातिको समयमा भारतबाट विद्युत् आएको छ । भारतमा नै विद्युत्को माग वृद्धि भएको कारणले नेपालले भारतबाट विद्युत् ल्याउन नसकेको हो ।

सुख्खा मौसममा नदीनालाको बहाव कम भएकोले जलाशय र सौर्य ऊर्जासहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट रहेको छ ।
हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो सयमामा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ ।

मागभन्दा विद्युत् उत्पादन कम भएका कारणले अहिले रातिको समयमा उद्योगलाई माग अनुसारको विद्युत् प्राधिकरणले दिन सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकारले अहिले रातिको समयमा भारतबाट विद्युत् आपूर्ति नहुँदा उद्योगमा बेलुकाको समयमा लाइन दिन नसकिएको बताए ।

उनले भने, ‘भारतमा नै अहिले विद्युत्को माग वृद्धि भएको छ । नेपालले किन्न खोजे जति विद्युत् किन्न पाएको छैन । रातिको समयमा नेपालले माग गरेको १ प्रतिशत वा त्यो भन्दा केही माथि मात्रै विद्युत् दरिरहेको छ ।’

उनका अनुसार माग अनुसार भारतबाट विद्युत् आयात नभएको र सुख्खा मौसममा नदीनालाको बहाव कम भएर नेपालमा पनि विद्युत् उत्पादन कम भएकोले केही असहज भएको हो ।

उनले थपे,‘५ दिनभन्दा अघि विद्युत्को कुनै समस्या थिएन । विगत ५ दिनदेखि भने बेलुकाको समयमा उद्योगले माग गरे अनुसार विद्युत् दिन सकिएको छैन । भने, उद्योगभन्दा बाहेकका क्षेत्रमा भने विद्युत् वितरणमा केही समस्या छैन । प्राधिकरणले उद्योगको लोड धन्न सक्ने गरी भारतसँग विद्युत् किन्नका लागि प्रयास भइरहेको छ ।’

भारतबाट बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म माग अनुसार विद्युत् आयात भइरहेको छ । यसभन्दा पहिले बिहान ६ बजेदेखि देखि बेलुका ७ बजे सम्म र राती ११ देखि बिहान ४ बजे सम्म विद्युत् खरिद गरिँदै आएको थियो ।

तर, अहिले राति ११ बजेदेखि बिहान ४ बजेसम्म तोकिएको अधिकतम मूल्यमा बोलकबोल गरी खरिद गर्न खोज्दा समेत नेपाल विद्युत् किन्न विद्युत् व्यवस्थापनमा केही कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आशिक लोड दिइने गरेको भएता पनि माग र आपूर्तिको व्यवस्थापनमा अधिकतम प्रयास प्राधिकरणले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *