उपभोक्ता समितिको रकम लुटपाट प्रकरण : विष्टसहित तीन जनालाई अदालतको सफाइ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोद सिंह विष्टसहित तीन जनालाई डाँका चोरीको मुद्दामा सुर्खेत जिल्ला अदालतले सफाइ दिएको छ।

जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले वडाध्यक्ष विष्ट, सुशील गुरुङ (प्रेम गुरुङ) र बलिराज शाहीलाई दोषी नदेखिएको ठहर गर्दै सफाइ दिएको हो।

अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार, उनीहरू विरुद्ध अदालतमा दर्ता भएको डाँका चोरी मुद्दामा दावी पुष्टि नभएको ठहर गरिएको छ।

२०७९ साल असार २४ गते खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटिएको आरोपमा उनीहरूमाथि अनुसन्धान सुरु गरिएको थियो।

यसै मुद्दामा २०८० साल साउन २१ गते जिल्ला अदालतले विष्टसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यस्तै, अनुसन्धानका क्रममा तानिएका यामराज शाही र सन्तोष थापा भने जनही दुई–दुई लाख धरौटीमा रिहा भएका थिए।

जिल्ला अदालतको फैसलाविरुद्ध वडाध्यक्ष विष्टले उच्च अदालत सुर्खेतमा पुनरावेदन दिएका थिए। सोही अनुरूप २०८१ असोज १८ गते उच्च अदालतले विष्टसहित तीनै जनालाई रिहा गर्न आदेश दिएको थियो। गुरुङका लागि चार लाख र शाहीका लागि दुई लाख धरौटी माग गरिएको थियो।

न्यायिक प्रक्रिया पूरा भएसँगै अदालतले अन्ततः ती सबैलाई निर्दोष ठहर गरेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *