काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी विश्वकप लिग–२ को तयारी थालेको छ । लिग–२ का सुरुआती खेलमा कमजोर प्रदर्शन गरेको नेपालले आगामी खेलका लागि तयारी सुरु गरेको हो ।
लिग–२ अन्तर्गत नेपालले जुन पहिलो हप्ता स्कटल्याण्ड र नेदरल्यान्ड्ससँग यसवर्षको पहिलो सिरिज खेल्नेछ । त्यसको तयारी स्वरुप क्यानले ५२ खेलाडीलाई ‘द कोर क्याम्प’मा बोलाएको छ ।
ती खेलाडीलाई टिम क्लु, टिम ग्रिन, टिम रेड र टिम एल्लो गरी ४ समूहमा विभाजन गरिएको छ । टिम ब्लूको कप्तानी रोहित पौडेल, टिम ग्रिनको कप्तानी आसिफ शेख, टिम रेडको कप्तानी सन्दीप लामिछाने र टिम एल्लोको कप्तानी दीपेन्द्रसिंह ऐरी गर्नेछन् । एक टिममा १३ खेलाडी समावेश छन् ।
क्याम्पका लागि यसअघि ४८ खेलाडी बोलाइएको थियो । त्यसमा थप ४ खेलाडीलाई पनि बोलाइएको छ । यू–१९ टोलीका कप्तान नरेन भट्ट, युवराज खत्री, सन्तोष यादव र कमलसिंह ऐरी क्याम्पमा थपिएका छन् ।
क्याम्प अभ्यास खेलहरु आगामी शनिबारबाट सुरु हुनेछ । त्यसको एक दिनअघि राष्ट्रिय टोलीका नवनियुक्त मुख्य स्टुअर्ट ल नेपाल आइपुग्नेछन् । मुलपानी क्रिकेट मैदानमा हुने अभ्यास खेलमा एक टोलीले ६ खेल खेल्नेछन् ।

Leave a Reply