रुपन्देही । वेष्ट्रन क्रिकेट एकेडेमीद्वारा आयोजित यू–१४ टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि वेष्ट्रन क्रिकेट एकेडेमीले जितेको छ ।
प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा देवदह क्रिकेट युनिटलाई १३ रनले पराजित गर्दै वेष्ट्रर्नले उपाधि हात पारेको हो । उपाधिसँगै वेष्ट्रर्न नगद ४१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता देवदह भने नगद २१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र पाएको छ ।
नरेश्वर खेल मैदानमा भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको वेष्ट्रर्नले १४।१ ओभरमा सबै विकेट गुमाएर ५५ रन बनाएको थियो । जसमा एक्स्ट्रा रन नै २० थियो । उसका लागि केशव रायमाझीले २० बलमा १५ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
देवदहका बलर प्रिन्स शर्माले ४ तथा रोहित कुवरले ३ विकेट लिएका थिए । जितका लागि ५६ रनको झिनो लक्ष्य पछ्याएको देवदहको सुरुवात नै राम्रो हुन सकेन । उसको पहिलो ओभरको पहिलो बलमा नै विकेट गुनाउन पुग्यो । देवदह १६।४ ओभरमा ४१ रनमा अलआउट हुन पुग्यो । देवदहका रोजन काफलेले ३३ बलमा १५ रनको नटआउट तथा सुशान्त विकले १५ बलमा १५ रन जोडका थिए । देवदह कुनै वेला ९ ओभरमा ६ विकेटको क्षतिमा मात्र ९ रन बनाउँदै खेलेको थियो ।
वेष्ट्रर्नका लागि सुप्रिम कँडेलले ४ तथा निश्चल पौडेलले ३ विकेट लिए । खेलमा सुप्रिम कँडेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
विधागत तर्फ उत्कृष्ट ब्याट्सम्यान देवदहका रोहित कुवर, बेष्ट्रर्नका सम्राट पोखरेल उत्कृष्ट बलर, गार्गीका अनमोल पुन सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भए । वेष्ट्रनका सुप्रिम कँडेल म्यान अफ ली सिरिज घोषित हुँदै नगद ५ हजारसहित ट्रफीबाट पुरस्कृत भए ।
विजेता तथा उपविजेता टीम एवं खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं.११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ, क्लबका अध्यक्ष भुवन पाण्डेले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा सहभागी १२ वटा टिमलाई दुई समूह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाउँदै समूहको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन । क्लबले नियमित रुपमा उमेर समूहको प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपालका यु–१९ का तत्कालीन कप्तान देव खनाल यसै वेष्ट्रर्न क्लबका उत्पादन हुन ।

Leave a Reply