करारका अमिनको सवा ३ करोड बढी अवैध कमाई, श्रीमतीसहितलाई मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करारका एक अमिनलाई सवा ३ करोडभन्दा बढी बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा सञ्चालन गरिरहेको बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटका अमिन दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

२०६३ भदौ ८ देखि २०८१ असार ३० सम्मको सम्पत्ति र आय-व्ययको अनुसन्धान गर्दा उनले ३ करोड २९ लाख ४५ हजार ७०२ रूपैयाँ २१ पैसा अवैध देखिएको प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।

यादवले तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट जम्मा २ करोड ४२ लाख २० हजार ३०१ रूपैयाँ ३० पैसा आम्दानी गरेका छन् ।

त्यो अवधिमा घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायतमा ५ करोड ७१ लाख ६६ हजार ३ रूपैयाँ ५१ पैसा खर्च देखिएको छ । आम्दानीभन्दा खर्च बढी देखिएकोले गैरकानूनी बराबरको रकम बिगो मागदाबी गरिएको हो ।

अवैध रकम र त्यसले बढाएको सम्पत्ति यादवले श्रीमती अमृताकुमारी यादवको नाममा राखेको पाइएपछि श्रीमतीलाई पनि विपक्षी बनाएर सम्पत्ति जफतको मागदाबी गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *