पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताएका छन् ।

‘समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल: स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच’ भन्ने मूल नाराका साथ आयोजित खाद्य प्रणाली संवाद कार्यक्रममा मुख्यमन्त्री आचार्यले रैथाने खाद्यान्न बालीमा पोषणको मात्रा अधिक रहेको भन्दै रैथाने बालिको संरक्षण, सम्बर्द्धन र प्रयोगमा आधारित नीति लिइने बताएका हुन् ।

उनले खेती प्रणालीलाई अर्गानिक बनाउनुपर्नेमा पनि जोड दिए । ‘रैथाने बालीको संरक्षण, उत्पादन र प्रयोग गर्न सरकारले नीति निर्माण गर्नेछ । पोषण प्रवर्द्धन एक्लो प्रयासले सम्भव हुँदैन । यसमा तीन तहका सरकार, सामाजिक संघसंस्था र समुदायको सहभागिता आवश्यक छ,’ मुख्यमन्त्री आचार्यले भने ।

उनले विशेष योजना बनाएर जनताको घरदैलोमा पुग्न जरुरी रहेको र विद्यालय तहमा यसलाई अभियानका रूपमा लैजानुपर्ने उल्लेख गरे । मकै, गहुँ, जौ, फापर, कोदोजस्ता रैथाने बाली ओझेलमा परेको भन्दै संरक्षण, प्रवर्द्धन र प्रयोगमा आधारित नीति आवश्यक भएको धारणा राखे ।

प्रदेशमा नसर्ने रोगको अवस्था बढ्दो रहेको र यसले चिन्ता थपेको भन्दै विषादी प्रयोग नगरी खाद्यान्न तथा तरकारी उत्पादनलाई प्राथमिकता दिइने उनले स्पष्ट पारे ।

लुम्बिनी प्रदेशमा कुपोषणको अवस्था बढ्दो रहेको, मातृ मृत्यु दर, बाल मृत्यु दर र बाल विवाहजस्ता समस्या उच्च हुनु चिन्ताको विषय भएको र सुधारका लागि सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्रीले बताए ।

जनचेतना अभिवृद्धिका लागि समुदाय केन्द्रित अभियान थालिने र मिडिया क्षेत्रले पनि यसमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले अशल खानपान सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

लुम्बिनी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव घनश्याम चौधरीले प्रदेश खाद्यान्न, माछा, मासु र दूधमा आत्मनिर्भर भए पनि अन्य क्षेत्रमा अझ सुधार आवश्यक रहेको उल्लेख गरे ।

चौधरीका अनुसार लुम्बिनीमा पुड्कोपनाको अवस्था २५ प्रतिशत, ख्याउटेपना १६ प्रतिशत, कम तौल २३ प्रतिशत तथा पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पता ४९ प्रतिशत रहेको छ । प्रजनन उमेर (१५–४९ वर्ष) समूहका महिलामा पनि ४४ प्रतिशतमा रक्तअल्पता देखिएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका शाखा अधिकृत चन्द्रप्रकाश बस्नेतले प्रस्तुत गरेको तथ्याङ्क अनुसार नेपाल विश्व खाद्य जोखिम सूचकाङ्कमा १२औं स्थानमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *