वैदेशिक रोजगारीका लागि जापान उडे टिकटक स्टार पुरु सिग्देल, एयरपोर्टमा भक्कानिइन् आमा

काठमाडौं । टिकटकबाटै नेपाली युवायुवतीले लाखौं-करोडौं कमाइरहेको, घरगाडी जोडेको चर्चाहरुबीच एक चर्चित टिकटकर जोडी भने रोजगारीको खोजीमा लागि पालैपालो विदेशिएका छन् । श्रीमती रोशनालाई बेलायत पठाएको तीन महिनापछि टिकटक स्टार पुरुषोत्तम (पुरु) सिग्देल पनि अस्ति विदेश उडे ।

२०८० मंसिरमा विवाह गरेका पुरु र रोशना एक वर्षमै विछोडिएका थिए । पेशाले नर्स रोशनाले नेपालमा भनेजस्तो रोजगारी नपाएपछि गत माघमा बेलायत लागेकी हुन् । तर, पुरु भने श्रीमती गएको देशमा नभएर जापान उडेका छन् । श्रीमान-श्रीमतीबीचको दुरी झन् बढेको छ ।

विदाइको क्षणमा त्रिभुवन विमानस्थलमा पुरुकी आमा विद्याले आँशु थाम्न सकिनन् । छोरालाई विदाइको हात हल्लाउँदा उनी भक्कानिएकी थिइन् । पुरुले आमालाई सम्झाउने प्रयास गरे । विमानस्थलमा उनलाई बिदा गर्न बुवा र भाइ पनि आएका थिए । आफू वाध्यताले विदेश उडेको पुरुले बताएका छन् ।

‘आफ्नै देशमा बसेर रमाउन कसलाई मन हुँदैन र । तर, सबैको आफ्नो आफ्नो वाध्यता हुन्छ । म वैदेशिक रोजगारीका लागि जापान लागेँ’, जानुअघि बनाएको भिडिओमा पुरुले भनेका छन् ।

पुरु यसअघि पनि जापान गएर फर्किएका थिए । अहिले उनी जापाको मियाजाकी शहरमा छन् । श्रीमतीसँग चाँडै एउटै देशमा बस्न पाउने उनको कामना छ । जापानमा पनि आफूले भिडिओ कन्टेन्टहरु बनाइराख्ने पुरुले बताएका छन् ।

पुरु आफ्नी आमासँग रमाइला भिडिओ र प्राङ्कहरु गरेर चर्चामा आएका हुन् । विहेपछि उनलाई श्रीमतीले पनि साथ दिएकी थिइन् ।

तर, श्रीमती विदेश गएपछि पुरुले आमासँग भिडिओ बनाइरहेका थिए । अब तीन जना तीन देशमा तितरवितर भएका छन् । तीनैजनालाई एउटै फ्रेममा देख्न फलोअर्सहरुले लामै समय कुर्नुपर्ने हुन सक्छ ।

टिकटकमा पुरु सिग्देलका १२ लाख फलोअर्स छन् । यस्तै, उनको युट्यूव च्यानललाई ४ लाख ६७ हजारले सब्स्क्राइब गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *