जितगढीमा उत्सवको तयारी, गोरखाबाट आएको सेनाको पैदल यात्रीलाई स्वागत गरिने

रुपन्देही । नेपालले अंग्रेजलाई जितेको ऐतिहासिक जितगढी किल्लामा वैशाख ७ गते आइतबार सांस्कृतिक उत्सवसहितको कार्यक्रम आयोजना हुने भएको छ ।

हरेक वर्ष वैशाख ७ गतेका दिन मनाउँदै आइएको विजय उत्सवको अवसरमा बुटवलको जितगढी किल्लामा यस वर्ष सांस्कृतिक उत्सव आयोजना गर्न लागिएको हो ।

बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरूबाट देशभक्ती गायन तथा नृत्यहरू प्रस्तुत गरिने भएको हो ।

हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी वैशाख ७ गतेका दिन बुटवलको जितगढीमा आएर भव्य समारोहसहित समान गर्ने परम्परा रहेको छ ।

यसवर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा–जितगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरूसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो ।

गोरखाबाट हिँडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै वैशाख ७ गते ऐतिहासिक जितगढी किल्लामा आइपुग्नेछ । राष्ट्रिय झण्डासहित एकीकरणमा स्थापित श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्म सहभागी छन् ।

पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी हुँदैछन् ।

यसवर्ष विजयउत्सव कार्यक्रम अन्तरगत बिहान पदयात्रामा रहेको नेपाली सेनाको टोलीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ भने साँझ ६ बजेदेखि सांस्कृतिक साँझको आयोजना गरिएको छ । नेपाली सेनाको टोली शुक्रवार नुवाकोट आएर बसेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *