विराटनगर । अमेरिका निवासी अभिनेत्री अरुणिमा लम्सालले नेपालमा आएर श्रीमान युवराज श्रेष्ठविरुद्ध डिभार्सको मुद्दा हाल्नुका साथै मिडियाबाजी पनि गरिरहेकी छन् । युवराजले भने अहिलेसम्म मुख खोलेका छैनन् ।
गत भदौमा विवाह गरेको यो जोडीबीच केही महिनाभित्रै खटपटको समाचारहरु आएका थिए । तर, दुवै जनाले कुनै प्रतिक्रिया नदिइ बसेका थिए । अहिले भने अरुणिमाले विभिन्न मिडियामा अन्तरवार्ता दिँदै श्रीमानमाथि लान्छना लगाइरहेकी छन् ।
युवराजले अमेरिका जानका लागि मात्रै आफूसँग विवाह गरेको उनको आरोप छ । यस्तै, आफ्नो पढाइ, पार्टीभित्रको ओहदा, केटी साथी, सम्पत्ति लगायतका कुराहरु ढाँटेको उनले बताएकी छन् ।
अरुणिमाका आरोपबारे हामीले युवराजको प्रतिक्रिया लिन चाह्यौं, तर उनी बोल्न चाहेनन् ।
बल्लतल्ल फोन सम्पर्कमा आएका श्रेष्ठले भने, ‘अहिले म केही पनि भन्दिनँ । समय आएपछि मिडियामा आउने नै छु ।’
तपाईँले डिभोर्स गर्न मान्नु भएन भन्ने उहाँको (अरुणिमाको) आरोप छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘अहिले म केही भन्ने पक्षमा छैन । त्यो बिषय कोर्टमा गएको छ । कोर्टको प्रक्रिया नटुङ्गिकन के भन्नु ?’
एकतर्फी मात्रै कुरा आएको छ, तपाईंको चाहिँ कुरा के हो ? भन्ने जिज्ञासामा श्रेष्ठले भने, ‘पछि मेरो मात्रै कुरा आउला नि त ।’
सुनसरीको वराहक्षेत्र घर भएका श्रेष्ठ नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिका उपसभापति हुन् । उनी जिल्लामा सामान्य ठेक्कापट्टाको काम पनि गर्छन् ।
युवराज र अरुणिमाले छोटो चिनजानका आधारमा काठमाडौंको गौशालास्थित राम मन्दिरमा परम्परागत तवरले विवाह गरेका थिए । विवाहमा सुनसरीबाट श्रेष्ठका केही आफन्तहरू गएका थिए । तर, युवराजले अरुणिमालाई सुनसरीमा रहेको आफ्नो मुलघर भित्र्याउन पाएका थिएनन् । वैशाखमा अरुणिमा नेपाल आउने र बुहारीका रुपमा घर भित्रिने योजना थियो । अरुणिमा नेपाल त आइन्, तर घर भित्रिनुको साटो अदालततिर लागिन् । उनको यो कदमले श्रेष्ठ परिवार स्तब्ध छ ।
वैवाहिक समारोहमा सहभागी भएका श्रेष्ठको परिवारका एक सदस्यले विवाह भएको दुई दिनपछि नै अरुणिमा अमेरिका गएको बताए ।
नाताले दाजु पर्ने उनले भने, ‘सम्बन्ध राम्रै छ भन्ने सुनेको थिएँ । अहिले एक्कासी डिभोर्सको कुरा समाचारमा आइरहेको छ । के भएको हो हामीलाई थाहा भएन ।’ ती पारिवारिक सदस्यका अनुसार श्रेष्ठले समेत आफूलाई केही थाहा नभएको बताइरहेका छन् ।
उनले भने, ‘के भएको हो भनेर युवराजलाई सोध्दा मलाई पनि थाहा छैन भन्ने गरेको छ । हामीलाई झगडा परेको थाहा थिएन ।’

Leave a Reply