काठमाडौं महानगरमा क्यूआर कोडबाट खुल्ने नयाँ लिफ्टः क-कसले चढ्न पाउँछन् ? (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयको पार्किङ एरियामा दुईवटा लिफ्ट छन् । तीमध्ये नयाँ लिफ्टको छेउछाउ कोही पुग्यो भने त्यहाँ रहेका नगरप्रहरीहरू चनाखो भइहाल्छन् ।

नेपाल प्रेसकर्मी पुगेर लिफ्टको फोटो खिच्न खोज्दा प्रशासन प्रमुख ध्रुव काफ्लेसँग अनुमति लिन भनियो । महानगरको पार्किङ एरियादेखि नै फोटो-भिडिओ खिच्ने अनुमति प्रशासन प्रमुखसँग लिनुपर्ने रहेछ । पार्किङ एरियामा फोटो/भिडिओ खिच्न नपाइने सूचना त कतै छैन, तर पनि अनुमति लिनुपर्ने नगर प्रहरीले बताए ।

पछिल्लो समय मेयर बालेन्द्र साहको कार्यकक्षमा उक्लिनका लागि छुट्टै लिफ्ट बनाइएको चर्चाले व्यापकता पाएपछि यस्तो नियम बनाइएको हामीले अनुमान लगायौं ।

महानगरका दुईवटा भवन छन् । दुईवटै भवनलाई एउटै बनाइए पनि आधा भाग मेयर-उपमेयर, प्रशासकीय अधिकृत, वातावरण विभागलगायतलाई छुट्याइएको छ भने अर्को आधा भागमा विभिन्न विभाग, शाखा, महाशाखाहरूको कार्यकक्ष छ । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष भएको भवन ६ तलाको छ । महानगरमा सबैभन्दा बढी सेवाग्राही उनीहरूलाई नै भेट्न पुग्छन् ।

उपमेयर सुनिता डंगोलको कार्यकक्ष तेस्रो तल्लामा, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको चौथो तल्ला र मेयर बालेन साहको कार्यकक्ष ५ औं तल्लामा छ । यी जनप्रतिनिधिको कार्यालयमा पुग्न भर्‍याङ वा लिफ्टको प्रयोग गर्न सकिने विकल्प छ । भर्‍याङको छेउमा भएको लिफ्ट नदेख्ने केही सेवाग्राही हिँडेरै जनप्रतिनिधिको कार्यकक्षमा पुग्छन् भने केही नयाँ बनेको लिफ्टबाट जान खोज्छन् । तर, नयाँ लिफ्टमा सर्वसाधारणलाई चढ्ने अनुमति छैन । यो प्राय ‘लक’ हुन्छ ।

लिफ्टको ढोकाबाहिर ‘क्यूआर कोड’ राखिएको छ । कसैले झुक्किएर बटम थिच्न खोजे नगर प्रहरीले ‘यो तपाईंहरूको लागि होइन’ भन्दै फर्काइदिन्छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर स्वयंले एक अन्तर्वार्तामा महानगरमा मेयर साहको लागि मात्रै छुट्टै लिफ्ट बनाइदिएको हालै बताएका थिए । यो लिफ्ट अरु कसैले पनि प्रयोग गर्न नमिल्ने दाबी उनले गरेका छन् ।

उनको आरोपको वास्तविकता बुझ्न नेपाल प्रेसकर्मी महानगर पुग्दा भर्‍याङ छेउमा रहेको लिफ्टमा सेवाग्राही र कर्मचारीहरूको भिड थियो । कोही भ्याङबाटै हिँडिरहेका थिए । तर, नजिकै रहेको नयाँ लिफ्ट भने न सेवाग्राहीले न त कर्मचारीले प्रयोग गरिएको देखियो । लिफ्टमा क्यूआर कोड, ल्यान्डलाइन फोनसमेत राखिएको थियो । जोसँग उक्त छ पासवर्ड छ उसले मात्र प्रयोग गर्न सक्ने बनाइएको रहेछ ।

त्यहाँ खटिएका एक नगर प्रहरीलाई यो लिफ्ट कसले प्रयोग गर्ने हो भनेर सोध्दा ‘मेयर सा’वले हो’ भन्ने जवाफ दिए । उपमेयरहरूले प्रयोग गर्नुहुन्न ? भनेर सोध्दा उनी अक्मकाए । स्पष्ट जवाफ दिन चाहेनन् ।

महानगर प्रवक्ता भन्छन्- मेयरबाहेक अरु चढेको देखेका छैनौं

काठमाडौं महानगरपालिकाका प्रवक्तासमेत रहेका १७ नम्बरका वडाध्यक्ष नवीन मानन्धरले मेयर बालेन साहले आफ्नो कार्यकक्षमा जानको लागि मात्रै डेडिकेटेड लिफ्ट बनाएको बताउँछन् ।

‘उहाँले आफूले मात्र प्रयोग गर्ने गरी लिफ्ट बनाएको अवस्था छ । सर्वसाधरण कसैले पनि त्यसमा चढ्न सक्दैनन् ।’

आफूले उक्त लिफ्ट मेयर साह बाहेक अरुले प्रयोग गरेको नदेखेको उनले बताए ।

‘जनताको करबाट निर्माण गरिएको लिफ्ट हो, तर सर्वसाधारणले प्रयोग गर्न पाउँदैनन् । त्यो लिफ्ट सिधै मेयरको कार्यकक्षअघि खुल्छ । मेयरलाई महानगरकै त्यहीँकै कर्मचारीले समेत आए-गएको नदेख्ने गरी बनाइएको छ । मेयर भनेको त जनताको गुनासो सुन्नुपर्ने मान्छे होला नि । त्यसरी जनतासँग लुकेर बस्ने, बेग्लै लिफ्ट चढ्ने मेयर जनताप्रेमी हुन्छ ? उहाँ किन सर्वसाधरणसँग फेस गर्न सक्नुहुन्न ?’, प्रवक्ता मानन्धरले प्रश्न गरे ।

मेयरको सचिवालय भन्छ- महानगरका ‘टप थ्री’ ले प्रयोग गर्छन्

महानगरकै कार्यलयमा राखेको लिफ्टको विरोध गर्नुपर्ने कुनै कारण नभएको मेयर साहको सचिवालय बताउँछ ।

बालेनका स्वकीय सचिव भूपदेव साह भन्छन्, ‘व्यक्तिको घरमा भए एउटा कुरा, यो सरकारी भवनमा राखेको हो । मेयर साह बागदरबार हुँदै बनेको हो । प्राइभेट घरमा राखेको जसरी नचाहिँदो प्रचार गर्न खोजिएको छ ।’

महानगर सचिवालयका अनुसार उक्त लिफ्ट मेयर, उपमेयर र प्रशासकीय अधिकृतले प्रयोग गर्ने गर्दछ ।

‘यो लिफ्ट सबै तलामा जान्छ । जो पनि आउन पाउँछ । त्यसमा सिन्डिकेट छैन । पुरानो लिफ्ट जतिबेला पनि व्यस्त हुन्छ । मेयरलाई भेट्न उच्चस्तरीय गेस्टहरू आउँदा सेवाग्राहीहरूसँगै त्यो लिफ्टमा चढाउन समस्या हुने भएकाले नयाँ बनाइएको हो,’ साहले थपे ।

महानगर स्रोतका अनुसार भने मेयर कार्यालय आउँदा सेवाग्राहीले नघेरुन् भनेर बेग्लै लिफ्ट बनाइएको हो ।

‘सेवाग्राहीलाई सचिवालयले कुनै काम हुँदैन भनेर फर्कादिन्छ । तर, उनीहरू मेयर-उपमेयरलाई भेटेरै जाने भर कुरेर बस्छन् । मेयर-उपमेयर आइसकेपछि पछि-पछि लागेर डिस्टर्व हुन सक्ने भएकाले यो लिफ्ट बनेको हो,’ सचिवालय स्रोतले भन्यो ।

अर्को उद्देश्य चाहिँ महानगरमा आउने कोही विशिष्ट अतिथिलाई लिफ्ट वा भर्‍याङ चढ्दा सेवाग्राहीले फोटो-भिडिओ नखिचुन् भन्ने पनि रहेको मेयर सचिवालयको दाबी छ ।

यो लिफ्ट गत साउनमा तयार भएको थियो ।

‘मेयरको ठाडो आदेशले बनेको होइन । त्यतिकै त कसैले पनि बजेट खर्च गर्दैन । वडाध्यक्षहरूले नै भन्नुभएको हो । दुईवटा लिफ्टले आउने-जाने मान्छेलाई पनि पुग्दैन,’ सचिवालयका एक सदस्यले भने ।

राजनीतिक पूर्वाग्रह राखेर जे कुरामा पनि प्रश्न उठाइएको उनको दाबी छ ।

‘जो-जोसँग पासवर्ड छ, उसले प्रयोग गर्न पाउँछन् । तीनजनाकै सचिवालयले पासवर्ड लिएको छ । बजेट उहाँहरूले पास गर्नुभएको हो । उता लिफ्ट नहुँदा हिँडेरै माथि जानुहुन्थ्यो ।

नकारे प्रशासन प्रमुखले

महानगरको प्रशासन प्रमुख ध्रुव काफ्लेले मेयर, उपमेयर र प्रशासकीय अधिकृतले नयाँ लिफ्ट प्रयोग गर्ने गरेको जानकारी दिए । मेयर साहले मात्रै लिफ्ट प्रयोग गर्ने हल्ला सत्य नभएको उनको भनाइ छ ।

काफ्लेले भने, ‘हाम्रो बिल्डिङ लामो छ । ठूलो पनि छ । एउटा लिफ्ट पहिल्यै थियो । तर, त्यसले नपुगेर अर्को थप्नै पर्ने भयो । जुन एरियामा थिएन, त्यहीँ थपेको हो । निर्माण विभागले गरेको हो । उपमेयर र प्रशासकीय अधिकृतले पनि त्यही लिफ्ट प्रयोग गर्नुहुन्छ । भिडभाड नहोस् भनेर थपेको हो । लिफ्ट सानो भएको हुँदा सर्वसाधारणलाई प्रयोग गर्न दिने अवस्था छैन ।’

उक्त लिफ्ट  महानगरकाे सार्वजनिक निर्माण  विभागले बनाएकाे हाे । विभागका अनुसार ३५ लाख रुपैयाँमा निर्माण सम्पन्न भएकाे हाे ।  गत आर्थिक वर्षकाे बैशाखदेखि निर्माण भएकाे उक्त लिफ्ट असार मसान्तमा तयार भएकाे हाे ।

Comments

2 responses to “काठमाडौं महानगरमा क्यूआर कोडबाट खुल्ने नयाँ लिफ्टः क-कसले चढ्न पाउँछन् ? (भिडिओ)”

  1. Krishna Shahi Avatar
    Krishna Shahi

    वा! बालेन्द्र सरकारलाई छुट्टै लिफ्ट। किन त भन्दा, प्रजासँगै लिफ्ट चढ्दा उनलाई मैलो लाग्छ रे। राजा हुने अवसर नपाएर पो जो कोहि प्रजा भएको हो त। अवसर मिलेपछि त राजा हुने प्रयास सवैले गर्ने हो।
    म कुनैपनि ब्यक्तिको देवत्वकरणको बिरोधी हो। जो जसलाई देवत्वकरण गरिन्छ नि, उसले आफुबाहेक दुनियाँमा अरु सवैलाई खराव,अक्षम देख्न थाल्छ। मेयर बालेन्द्र साहको हकमा पनि त्यहि लागु भईरहेको छ। बिस्तारै कार्यकाल सकिने अवस्थामा पुग्न दिनुहोस्, बाघ भनेर पालेको जन्तु बिस्तारै ‘म्याउ’ गर्न थाल्नेछ। अतः मानिसलाई मानिसकै दर्जामा रहन दिनुपर्छ।

  2. Jhanak k pokhrel Avatar
    Jhanak k pokhrel

    Ok6 ni sab

Leave a Reply

Your email address will not be published. Required fields are marked *