काठमाडौं । कलाकार विराज बाँस्कोटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । केही दिन अघि थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा उनी सम्मानित भएका हुन् ।
वुमेन्स इरा एण्ड मिडिया नेपालले आयोजना गरेको पाँचौं हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२५ मा बाँस्कोटा सम्मानित भएका हुन् । समारोहमा उनले बैंककसहित मलेसियामा लाइभ प्रस्तुति दिएका थिए । त्यस्तै, सिंगापुर टुरमा पनि उनी सहभागी थिए ।
यसअघि उनले थुप्रै राष्ट्रिय अवार्ड हात पारिसकेका छन् । करिब ५० भन्दा बढी म्यूजिक भिडिओमा अभिनय गरिसकेका बाँस्कोटाले चलचित्र ‘लुंगा’, ‘छक्का पञ्जा ५’ हालै प्रदर्शनमा आएको ‘बसन्त’ तथा आउँदै गरेको ‘मेरो जुत्ता खोइ’ जस्ता बिग मुभिजमा काम गरिसकेका छन् ।

त्यसैगरी, ‘सक्किगो नि’, ‘मै राम्री’ जस्ता सिरियलमा आफ्नो कलाकारिता प्रस्तुत गरिसकेका बाँस्कोटा रंगमञ्चमा पनि उत्तिकै सक्रिय छन् । उनको कलाकारिताको यात्रा नै रंगमञ्चबाट सुरु भएको उनी बताउँछन् । केही समय अघि उनले ‘मालिनी’ नाटकमा गरेको अभिनयले चौतर्फी प्रशंसा पाएको थियो । झापाको बिर्तामोडदेखि कोशी प्रदेश राजधानी विराटनगर हुँदै राजधानी काठमाडौंमा दर्जनौं नाटकमा उनले आफ्नो क्षमता दर्शाइसकेका छन् ।
बहुमुखी प्रतिभाका धनि उनी कलाकारितासँगै संगीतमा पनि उत्तिकै रुचि राख्छन् । उनले केही तिहारसँग सम्बन्धित ‘तिहारै हाम्रै’ गीतमा स्वरसमेत दिएका छन् ।
थाइल्याण्डमा पाएको अन्तर्राष्ट्रिय अवार्डबारे बाँस्कोटा भन्छन्, ‘कलाकारितामा हामी सधैँ सिक्दै नै हुन्छौँ । यद्यपि हाम्रो मेहनत र समर्पणलाई बुझेर नेपालबाट थाइल्याण्डसम्म बोलाएर सम्मान गरिएकोमा निकै हर्ष लागेको छ । साथै यसले आगामी दिनमा झन बढी समर्पित हुँदै नेपालको कला क्षेत्रमा आफ्नो योगदान दिन प्रेरित गरेको छ । अनि अझ बढी जिम्मेवारी थपेको पनि महसुस भएको छ ।’
यो पनि पढ्नुस्ः घरदेखि शहरसम्म अभिनयकाे भोकले तानिएका विराज

Leave a Reply