रचनात्मक पत्रकारितालाई काउन्सिलले प्राथमिकता दिएको छ: अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार भएको एसिया प्यासिफिक अप्टिमिस्टिक कन्फ्रेन्समा बोल्दै अध्यक्ष बस्नेतले नेपालमा यसको आवश्यकता भएको भन्दै काउन्सिलले मिडिया हाउससँग मिलेर यसमा हातेमालो गरेको बताए ।

उनले भने , ‘काउन्सिलले मिडिया हाउससँग सहकार्य गरेर यो विषय अघि बढाउनेछ, यसको निर्णय भइसकेको छ । त्यस्तै विश्वविद्यालयमा पाठ्यक्रममा समावेश गर्न अनुरोध गरेका छौं । यससम्बन्धी पाठ्यसामग्री तयार गर्ने तयारीमा पनि छौं ।’

अध्यक्ष बस्नेतले अनलाइनका अभिमुखीकरण कार्यक्रममा समेत एउटा सेसनको रूपमा रचनात्मक पत्रकारिता समावेश गर्ने निर्णय भई कार्यान्वयनको चरणमा रहेको बताए ।

काउन्सिलले रचनात्मक पत्रकारिता पाठ्यक्रममा समावेश गर्न ८ महिनाअघि नै सबै विश्वविद्यालयलाई पत्राचार गरेको उनको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले सही, सत्यतथ्य सूचना सम्प्रेषण भएमा मात्र कतिपय विषय समाधान हुने भन्दै पत्रकारिताको विकासको लागि विभित्र पाठ्यसामग्री तयारी गरिएको बताए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचनले सन्तुलित सामग्री सम्प्रेषणमा थप ध्यान दिनुपर्ने भन्दै मिडियामा आएका सामग्रीले जनताको जीवनस्तर परिवर्तन भएको तर्क गरे ।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले रचनात्मक पत्रकारिताबारे पत्रकारबीच घनीभूत छलफल चलाउनुपर्नेमा जोड दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *