बुटवलमा ओलीको बोली : जिल्ला पार्टीसँग असन्तुष्टि, राजावादीसँग आक्रोश

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीका मतदाता र पार्टी कार्यकर्तासँग असन्तुष्टि जनाए ।

नेकपा एमालेले शुक्रबार बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय जागरण सभामा देशमै नमुना विकासको काम गरेको र आफ्नो क्षेत्रमा पनि विकासका नमुना अभ्यास गरेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई पछिल्लो निर्वाचनमा कम मत आएकोमा उनले असन्तुष्टि जनाएका हुन् ।

‘यो क्षेत्रबाट लगातार केन्द्रमा प्रतिनिधित्व गर्नुभएको मात्रै होइन देशमै नमुना काम गर्नुभएको छ तर पछिल्लो निर्वाचनमा उहाँको मत किन कम आयो, यो समीक्षा हुन जरुरत छ’ पौडेलको गृह नगर बुटवलमा आयोजित जागरण सभामा उनले भने ‘यो यहाँका स्थानीयले पनि बुझ्नुपर्छ र पार्टीका नेता कार्यकर्ताले गम्भीर समीक्षा गर्न जरुरत छ ।’

रुपन्देही २ पार्टीको बलियो आधार क्षेत्र भएको तर यस्तो ठाउँमा आएको मत परिणामका विषयमा नेतृत्वले समीक्षा गरेर जानुपर्ने उनले बताए । उनले अहिले पार्टीका महासचिव रहेका नेता शङ्कर पोखरेल मुख्यमन्त्री हुँदा प्रदेशले नमुना काम गरेको भन्दै प्रशंसा गरे ।

ओली बोलीका मुख्य प्राथमिकता
चर्को घाममा उनले ४१ मिनेट सम्बोधन गरे । राजावादीको आन्दोलन, उनीहरुको इतिहास र अहिलेको नेतृत्वका विषयमा मुख्य समय खर्चेका ओलीले बहुदल आएपछि र खासगरी आफ्नो पार्टी सरकारको नेतृत्वमा गएपछि विकासको मुख्य काम भएको दाबीसहितको फेहरिस्त सुनाए । त्यसअघि अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेलले गरेको विकास निर्माणका चर्चाहरूलाई उल्लेख गर्दै उनले यो क्षेत्रमा आफू गरेको राजनीतिक इतिहाससहित केही धार्मिक स्थलहरूको चर्चामा पनि समय खर्चेका थिए ।

पार्टी नेतृत्व निरन्तरतामा ढुक्क
ओलीले पार्टी नेतृत्वमा निरन्तरता दिने विषयमा पुनः प्रस्ट पारेका छन् । पार्टीको आगामी महाधिवेशन र नयाँ नेतृत्वका विषयमा विभिन्न बहसहरू भइरहेको बेला उनले अझै केही वर्ष आफूबिनाको एमाले कल्पना नगर्न चुनौती दिएका छन् ।

‘केपीबिनाको पार्टी अभियान चलाएकाले १५–२० वर्ष कुरे भयो त, म  सधैँ बाँच्ने होइन’ उनले भने ‘तर म पछिपनि एमालेबिनाको राजनीतिक अवस्था कल्पना नगरे हुन्छ, त्यो नातिको पालामा नि हुँदैन जनता सचेत छन् । एमालेको जनसङ्गठन कस्तो बनेको छ, जनताका लागि कति काम गरेको छ भन्ने बुझे हुन्छ ।’

ओलीले यो सरकार र गठबन्धनमा कुनै समस्या नरहेको भन्दै केही तत्त्वहरूले चलाएको हल्लाले हावा खाइसकेको र अहिलेको अस्थिरता चिर्न कांग्रेससँग सहकार्य गरेको बताए ।

राजावादीहरूलाई दिए चुनौती
ओलीले बहुदल आएयता भएको विकासका योजनालाई राखेर छलफल चलाउन अहिले राजा चाहियो भन्नेहरूलाई आग्रह गरे ।
‘सरकार ढल्ने होइन हल्लने पनि छैन यसमा सबैले प्रस्ट भए हुन्छ’ उनले भने । नेपालमा राजतन्त्र लामो समय रहेकै कारण देश अहिलेसम्म पछाडि परेको उनले बताए । ‘२४० वर्षको राजतन्त्रमा नेपालीको विकासको अवस्था कस्तो थियो, उनीहरूले नै भनुन् । विश्वमा राजतन्त्र भए पनि धेरै विकास भएको थियो त यहाँ किन हुन सकेन ’ उनले भने,‘धार्मिक स्थल पहिले पनि थिए, बाटोघाटो पहिले नि जरुरत थियो, विमानस्थल, हुलाकी राजमार्ग, मध्य पहाडी राजमार्ग, मुख्य राजमार्ग सबै कहिले बनेका हुन् ।’

‘एकातिर एमालेले मिसन ८४ अभियान चलाएको छ, विकासका योजनामा धमाधम काम भइरहेको छ, प्रतिगामी तत्त्वहरूलाई छटपटी भएको छ’ उनले भने, ‘देश अघि बढ्यो, पछाडि फर्कँदैन, जनता रैती भएर बस्न तयारी छैनन् कसैले मसानघाटमा लगिएको चिता फर्काएर ल्याउने कल्पना गरेका छन् त्यो दिवा सपना मात्रै हो ।राजतन्त्रमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था कस्तो थियो सबैलाई जगजायर छ त, अहिले अफवाह गरेर हुन्छ एमालेले सरकारमा गएर केही गर्छ भन्ने उदाहरण धेरै छन् कति गरेको छ सबैलाई छर्लङ्ग छ त।’

‘प्रतिगमनका हल्ला चलेका छन् तर मान्छेका घर जलाएर, मान्छे मारेर, स्याउसुन्तला चोरेर हुल्लडवाजी गर्ने तर आन्दोलनको जिम्मेवारी कसैले नलिने, यस्तो नि क्रान्ति हुन्छ, अब सबै युवाहरू जिम्मेवारी भएर यहीँ काम गर्ने गराउने वातावरण बनाउनुपर्छ । आउनुस् देश बनाउन सरकारले धेरै यस्ता कार्यक्रम ल्याएको छ ’ उनले भने,‘७२ सालमा संविधान बनेपछि विकासले रफ्तार लिएको छ, केही नभएको होइन भएको छ तर अझै गर्न बाँकी छ तर देश अस्थिरतामा गएकोले समस्या भएको सत्य हो, त्यही अवस्था चिर्न सहकार्य गरेको हो, सहमति गरेको हो’ उनले भने । ‘ हामी सरकारमा जानका लागि होइन केही काम गर्न गएका हौँ   ।

उपकुलपतिसँगको विवाद अनावश्यक चर्चा
प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग अनावश्यक विवाद भएको भनिएको बताएका छन् । आफूले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको दाबी गरे । उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताए । ‘राजीनामा अर्कैसँग पठाएको रे, मकहाँ आएकै थिएन, कसरी स्वीकृत गर्नु,’ उनले भने, ‘आयो, आएपछि स्वीकृत पनि भयो ।’

शिक्षकहरूले आन्दोलन गर्नुपर्दैन
प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकलाई सम्बोधन गर्दै सरकारले समस्या समाधान गर्ने र आन्दोलन गर्नुनपर्ने बताएका हुन् । ‘लामो समयदेखि ऐन रोकिएर बसेको छ, हामी त्यसलाई ल्याउँछौँ भनेकै छौँ, भावनामा बगेर समस्या समाधान हुँदैन, हामीले उपयुक्त समयमा राष्ट्रको हित हुने गरी ऐन कानुन ल्याउँछौँ र व्यवस्थित ढंगले सबै समस्याको समाधान गर्छौ ।’

उनले भने‘शिक्षक साथीहरू आन्दोलनमा हुनुहुन्छ, तपाईँहरूका पनि अप्ठ्यारा छन्, समस्या छन्, तिनै अप्ठ्यारा र समस्या समाधान गर्न यो सरकार बनेको हो’  । शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हड्ताल घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनुपर्ने बताए। अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको सरकार भएकाले आन्दोलनमा रहिरहनु नपर्ने उनको दाबी थियो । ‘समस्याहरू छन् तर सडकमा गइरहनुपर्ने थिएन । म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहन्छु । तपाईँहरूले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रचण्ड गर्मीमा कार्यकर्तालाई सकस

राजावादीहरूलाई खबरदारी गर्न सत्तारुढ नेकपा एमालेले शुक्रबार बुटवलमा प्रदेशस्तरीय जागरण सभाको आयोजना गर्र्यो तर यसअघि सो पार्टीले आयोजना गर्ने यस्ता सभामा जस्तो व्यवस्थित शुक्रवारको कार्यक्रम हुन नसकेको सभामा सहभागी नेताकार्यकर्ताले स्वीकार गरे ।

यसको पहिलो कारण त अहिलेको मौसम र गाउँमा खेतीकिसानीको समय नै भएको उनीहरुको भनाइ छ तर शुक्रवारको तयारीमा भएको कमजोरी, मञ्च व्यवस्थापनको कमजोरी र सभा स्थलको अपाई नै प्रमुख कारण देखिएका छन् तर यससँगै बुटवल आसपासमा रहेका नेता कार्यकर्ताहरू पनि चर्को गर्मीका कारण घरबाट निस्केपनि सभास्थलमा चारैतिरबाट आएका कार्यकर्ताहरू सभामा आउन सहजता थिएन भने आएका कार्यकर्ताहरू पनि सभास्थलमा सजिलोगरी बस्न पाएनन् । चैत अन्तिम समयमा दिउसो १२ बजेपछिको र्‍याली तथा त्यसपछि खुला स्थानमा राखिएको सभामा निकै कष्टका साथ उनीहरु बसेका थिए ।

बुधबार र बिहीबार बादल र पानीले केही चिसो भएको बुटवलमा शुक्रबार बिहानैबाट चर्को घाम लागेको थियो । त्यसमाथि दिउसो १२ बजेपछि राखिएको कार्यक्रम र मञ्च बाहेकको स्थानमा माथि कुनै टेन्ट पनि नभएकाले सहभागी नेता कार्यकर्ता पसिनाले निथ्रुक्कै भिजेका थिए ।
उत्तरतर्फबाट आएका नेताकार्यकर्ताहरु पुष्पलालचोक, दक्षिणतर्फबाट योगिकुटी र पूर्वतर्फबाट आएका कार्यकर्ता मुटु अस्पतालबाटै जलुसमा सहभागी हुनेगरी व्यवस्था मिलाइएको थियो तर चर्को गर्मी र सडक निर्माणका क्रममा भएको धुलोका कारण सहभागीहरू जतिसक्दो छिटो कार्यक्रम स्थलमा पुग्न चाहेको बताइरहेका थिए ।

यी प्राविधिक कारण देखिएपनि बुटवलमा हुने यस प्रकारको कार्यक्रममा कार्यकर्ताको रुचि पनि कम देखिएको एमाले नेताहरूकै विश्लेषण छ । ‘हामी बोल्न त भएन तर बुटवलमा यसअघि सक्रिय रहेका कार्यकर्ताहरूले आजको कार्यक्रममा रुचि देखाएनन्, यसमा पार्टीको गम्भीर ढंगले समीक्षा गर्नु जरुरी छ’ उनले भने ।
त्यसो त एमालेका आलोचकहरूले बुटवलको सभा निकै कमजोर उपस्थिति भन्दै सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् तर उनीहरुले देखाएको भिडियोमा सबै नसमेटिएपछि यसअघिका जस्तै उत्साहपूर्वक सहभागिता नभएको उपस्थित सङ्ख्याले प्रस्ट देखाउँथ्यो । एमाले रुपन्देहीका एक सदस्यले भने–‘आज पार्टीले हामीलाई सजाएँ दियो, यस्तो गर्मीमा माथिबाट टेन्टसम्म नराखेर दिनभर टुङ्ग्याउने काम भयो ।’

कपिलवस्तुबाट आएर सभामा नपुगेका एक सदस्यले आफू बुटवल आएपनि स्वास्थ्यका कारण दिनभर गर्मीमा बस्न नसक्ने भएकाले बाहिरै बसेको बताए ।
यसअघि तीन पटकसम्म रुपन्देही आउने वचन दिएर आउन नसकेका एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज पनि आउने विषयमा धेरैलाई आशङ्का थियो । रुपन्देही एमालेको अधिवेशन उद्घाटन कार्यक्रम ओलीकै समय मिलाएर राखिए पनि अन्तिममा आएनन्, मदन भण्डारी स्पोट्र्स एकेडेमीको कार्यक्रममा पनि उनी आउन सकेनन् भने ओलीकै समय मिलाउन तीन पटक समय सारिएको सिद्ध बाबा सुरुङ मार्गको ब्रेक थ्रु तथा बुटवल गोरुसिंगे सडक बिस्तार आयोजना शुभारम्भ कार्यक्रममा बिरामी परेकाले भर्चुअल रुपमा उद्घाटन गरे ।

आज पनि अहिले भइरहेको शिक्षक आन्दोलन, सरकारमा कामको दबाब र दुई दिनअघि मात्रै अर्घाखाँचीमा आएर फर्केकाले नआउने आशङ्का गरिएको थियो तर उनी आए र सम्बोधन पनि गरे । पटक पटक यहाँ आउन नसकेको विषयमा ओलीले सम्बोधनकै क्रममा प्रस्ट पारेका थिए ।

‘सधैँ सबै ठाउँमा पुग्न सम्भव हुँदैन, एक पटक आएपछि अर्को स्थानमा पनि हेर्नुपर्‍यो, लौ यति पटक बोलाउँदा नि आएन भनेर हल्ला पनि हुन्छ कहिलेकाहीँ तर म समय मिलाएर आएको छु, यहाँको विषय बुझेको छु, भूमिगतकामा यहाँको धेरै स्थानमा मुख्य जिम्मेवारी लिएर काम गरेको छु, धेरै ठाउँमा सेल्टर लिएर बसेको अनुभव छ, यहाँको राजनीतिक, सामाजिक र धार्मिक गन्तव्यको विषयमा अध्ययन गरेको छु’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *