खेम सेन्चुरी र शान्ती श्रीबीच पानी बाराबार, यस्तो छ विवादको सार

काठमाडौँ । नेपाली संगीत क्षेत्रमा अहिलेका सर्वाधिक व्यस्त र सफल कलाकारमा पर्छन् खेम सेन्चुरी र शान्तिश्री परियार । यी दुईको पछिल्लो सहकार्यमा बनेको ‘अरेली काँडेले…’ बोलको गीत ब्लकबस्टर बनेको थियो ।

तर, अहिले आएर खेम र शान्तीश्रीको सम्बन्ध चिसिएको मात्रै छैन, लगभग पानी बाराबारकै अवस्था छ । विभिन्न अन्तरवार्ताहरूमा दुवैले एक-अर्काप्रति गुनासो पोखिरहेका हुन्छन् ।

खासमा खेम र शान्तीश्री पहिलेका मिल्ने साथी हुन् । संघर्ष गरेर सांगीतिक क्षेत्रमा स्थापित भएका हुन् दुवैजना । थुप्रै गीतहरूमा उनीहरूले सहकार्य गरेका छन् । खेम गीत गाउनुको साथसाथै आफैँ गीत कोर्ने अनि कम्पोजसमेत गर्छन् । उनले लेखेका र गाएका थुप्रै गीत हिट छन् । शान्तीश्रीले गाएका गीतले पनि पछिल्लो समय धमाका मच्चाइरहेका छन् । त्यसैले पनि यी दुवै अहिलेका सर्वाधिक डिमान्डेड गायक-गायिकामा पर्छन् ।

एक वर्षअघि शान्तीश्रीको स्वर र खेम सेन्चुरीको संगीतमा ‘अरेली काँडैले’ बोलको गीत सार्वजनिक भएको थियो । यो गीतले केही समय सांगीतिक क्षेत्र नै हल्लाइदियो । तीजको बेला सार्वजनिक गरिएको गीतले छोटो समयमै १००  मिलियन अर्थात  १० करोड भ्यूज पार गर्‍यो । अहिले पनि यो गीत अधिकतम विवाह, पार्टीमा बज्ने गर्दछ । १० करोड भ्यूज पाउने पहिलो लोकभाकाको गीतको कीर्तिमान पनि ‘अरेली काँडैले’ को नाममा गएको छ ।

नेत्र अर्यालको शब्द रहेको यो गीतमा शान्तीश्री आफैँले लगानी गरेकी थिइन् । उनकै आधिकारिक युट्यूव च्यानलबाट गीतको भिडिओ सार्वजनिक भएको थियो । गीत आएको केही समयसम्म खेम र शान्ती श्रीबीच खासै खटपट देखिएको थिएन । यी दुईको सम्बन्ध सुमधुर नै देखिन्थ्यो । हेर्दाहेर्दै गीतले पूरै मार्केट ततायो । तर, गीतको सफलताले यी दुईलाई उत्तिकै खुशी भने दिएन । उनीहरूमा यही गीतले फाटो ल्याइदियो ।

अहिले यतिसम्म सम्बन्धमा दरार आएको छ कि एकअर्काको भनाइको उत्तर पनि यी दुई मिडियामा आएर दिइरहेका छन् । खेमले आफूलाई ‘मृत घोषणा गरेको’ गम्भीर आरोप शान्ती श्रीले लगाइन्, जसलाई खेमले मिडियामै आएर खण्डन गरेका छन् ।

खासमा यो विवाद कहाँबाट र किन आयो भन्नेमा कतिपय दर्शक अलमल्ल छन् । शान्ती श्रीको कुरा सुन्ने हो भने उनी स्वयं पनि खेम रिसाउनुको कारणबारे प्रष्ट जान्दिनन् । यता खेम भने सबै कुरा प्रष्टै भएको तर अब यो मुद्दालाई यहीँ छोडेर अघि बढ्ने अडान लिएको बताउँछन् ।

अन्तर्वार्ताहरूमा बोलेका खेम र शान्ती श्रीको कुरा सुन्ने हो भने, यी दुईबीच अरेली काँडैले गीतकै कारण मनमुटाव सुरू भएको देखिन्छ । गीतको पोस्टर आउँदै खेम शान्ती श्रीसँग असुन्तष्ट थिए । पोस्टरमा आफ्नो तस्बिर नहालेपछि उनले शान्त्री श्रीसँग चित्त दुखाएका थिए । शान्ती श्रीलाई भने गीतको पोस्टरमा संगीतकारको फोटो नराखे पनि हुन्छ भन्ने लागेको थियो । खेमको गुनासोपछि उनले अहिले पोस्टरमा उनको तस्बिर पनि राखेकी छिन् ।

शान्ती श्रीका अनुसार गीतले करोड भ्यूज पार गर्दै खेमले सक्सेस पार्टी गर्न भनेका थिए ।

उनी भन्छिन्, ‘उहाँले १ करोड भ्यूज हुँदै सक्सेस पार्टी गरौँ भन्नुभएको थियो । तर, मलगायत अरु टीमको कार्यव्यस्तताका कारण त्यो बेला सक्सेस पार्टी गर्न सम्भव भएन । त्यसपछि खै के भएर चित्त दुखाउनुभयो, कुरै हुन पाएन ।’

खेम रिसाउनुको कारण बुझ्न आफूले खोजेपनि, उनीबाट केही प्रतिक्रिया नआएको शान्ती श्रीको भनाइ छ ।

उनी भन्छिन्, ‘मैले म्यासेजमा पनि उहाँसँग माफी मागेकी थिएँ । भेटेर कुरा पनि गर्न खोजेँ । तर, उहाँले मसँग कुराहरू क्लियर गर्नै खोज्नु भएन । उहाँले मिडियामा धेरै गुनासोहरू गरेको देखेपछि मैले बुझ्ने प्रयास गरेकी थिएँ । तर उहाँ उपलब्ध हुनभएन । उहाँले मेरो म्यासेज हेरेर पनि उत्तर दिनु भएन ।’

खेमबाट उत्तर नआएपछि शान्ती श्रीले मन हल्का हुने भन्दै एक अन्तर्वार्ताबाटै उक्त म्यासेज पढेर सुनाएकी थिइन् ।

यता खेम भने म्यासेज देखेर पनि इग्नोर गरेको स्वीकार्छन् ।

उनी भन्छन्, ‘हिजो त्यत्रो सहयात्रा गरेको मिल्ने साथी, आज यसरी मिडियामा कुरा गर्दै हिँड्नु परेको छ । मैले उहाँको लामो म्यासेज देखेपछि नै, यो कुरालाई क्लोज गर्दिसकेको हो । एउटा छोरी मान्छे हो, ठिकै छ भइहाल्यो भनेर हो । नत्र विकल्पहरू धेरै छन् । मैले आफै कुरा बुझेर पछाडि हटेको हो । यदि भन्ने नै हो भने त धरै कुराहरू छन् । तर होस् । यो कुरा यहीँ सकियो ।’

खेम अहिले शान्ती श्रीलाई राम्रो साथी भन्न पनि हिच्किचाउँछन् । उनी अबको दिनहरूमा शान्ती श्रीसँग काम गर्न पनि चाहँदैनन् ।

शान्ती श्रीसँगको विवादबारे प्रश्न गर्दा खेम यसो भनेर टार्छन्, ‘मेरो जिन्दगीमा योदेखि बाहेक पनि अरु धेरै पीडाहरू छन् । त्यसैले यसबारे धेरै नखोतालौँ । यो कुरा लगभग टुंगिसकेका थियो, उहाँले गएर फेरि बोल्नु भएछ ।’

विवाद उत्पन्न भइरहँदा शान्ती श्री र खेमको एकपटक भेट भएको थियो । भेट हुँदा आफूले नमस्कार गरेको तर खेमले देखेर पनि नदेखेजस्तो गर्दै नमस्कार नै नफर्काएको शान्ती श्रीको गुनासो छ । आफूले इग्नोर गरेको कुरालाई खेमले स्वीकारेका छन् ।

‘म सधैँ आफू पछि सरेर अरुलाई अगाडि सार्ने मान्छे हो । म कसैलाई नराम्रो भन्दिनँ । तर, इग्नोर चाहिँ गरेकै हो । दर्शकले यो कुरालाई कसरी लिनुहुन्छ थाहा छैन, तर सबैको आआफ्नो व्यक्तिगत जीवन हुन्छ,’ उनी भन्छन, ‘मेरो कारणले उहाँको कुनै बाटो छेकिएको छैन । मैले अन्तर्वातामा बोल्दा उहाँलाई मात्र भनेको पनि थिईनँ । सबैलाई भनेको थिएँ । कहिलेकाँही अन्याय रोक्न कोही न कोहीले बोल्नैपर्छ । मैले बोलेको कुरा नराम्रो थिएन । मैले मात्र सर्जकलाई सम्मान हुनुपर्छ भनेको थिए । म त सधैँ शान्तीजीलाई राम्रो गर्दै जानु भन्छु ।’

आफूले शान्ती श्रीलाई ‘मृत घोषणा गरेको’ खेम स्वीकार गर्दैनन् ।

उनी भन्छन्, ‘बरु म मरिहालेँ भने पनि यी व्यक्तिहरूलाई चाहिँ मेरो छेउमा नलेऊ है भन्न सक्छु, तर कसैलाई त्यतिसम्म भन्न सक्दिनँ । म अरुलाई नराम्रो भन्नु हुन्न, अरुको बाटो छेक्नुहुन्न भन्ने सिद्धान्त बोकेको मान्छे हो । मेरो मन मर्यो भने बरु म आफैं पछि हट्छु तर उसको बाटो कहिले छेक्दिनँ । उसलाई कहिले नराम्रो भन्दिनँ ।’

‘शान्तीजी मलाई एकदमै मनपर्ने मान्छे हो । उनले संगीत सिक्ने बेला म संगीत सिकाउँदै हिड्थेँ । उहाँ धेरै नै दु:ख र मेहेनत गरेर यहाँसम्म आएको गायिका हो । सँगसँगै उहाँ मलाई मनपर्ने गायिका पनि हो,’ उनी थप्छन्, ‘उहाँको आवाज सुन्दा ढोग्ने मान्छे हो म । मलाई कसैको आवाजले बढी छुन्थ्यो भने, त्यो उनको आवाजले छुन्थ्यो । उहाँले धेरै संघर्ष गर्नुभएको छ मलाइ थाहा छ । तर त्यस्तै संघर्ष मैले पनि त गरेको छु । उहाँको जस्तो मेरो पनि त परिवार छ ।’

शान्ति श्रीले सर्जकको सम्मान नगरेको आरोपलाई खण्डन गरेकी छन् ।

उनले भनेकी छिन्, ‘म कहिले सर्जकको अपमान गर्दिनँ । मलाई आवाज सरस्वती माताले दिनुभएको हो भने त्यो आवाजलाई दर्शकसम्म पुर्‍याउने माध्यम सर्जकहरूले दिनुभएको हो । म सधैँ मनमा सर्जकलाई पुजा गरिरहेकी हुन्छु । मैले खेमजीलाई उहाँको रेट अनुसारको राम्रै पेमेन्ट दिएर गीतमा काम गराएकी थिएँ । यस्तो हुन्छ भन्ने लागेको थिएन ।’

Comments

One response to “खेम सेन्चुरी र शान्ती श्रीबीच पानी बाराबार, यस्तो छ विवादको सार”

  1. bharat kumar thapa Avatar

    पैसाको लेनदेन रहेछ बसेर मिलाउनु र सगै फेरि देखि काम गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *