काठमाडौं । तीनकुनेको एउटा घरमा भएको आगजनीलाई लिएर पत्रकार एवं धार्मिक अभियन्ता एनी कुँवर पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले आज पक्राउ गरेका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा आगजनी भएको घरको भर्याङबाट एनी ओर्लिरहेको देखिएको थियो । सोही घरमा पत्रकार सुरेश रजक जलेका थिए । कतिपयले घटनामा एनीको संलग्नता हुन सक्ने आशंका गरिरहेका छन् । एनीले भने आफूले त्यसबेला सुरेशलाई नदेखेको दाबी गरेकी थिइन् ।
अर्काको घरमा अनधिकृत प्रवेश गरेको पुष्टि भएकाले कुँवरलाई निर्दोष मान्न नसकिने एसपी अंगुर जिसीले नेपाल प्रेसलाई बताए ।
यो पनि पढ्नुहोस्- भिडिओमा देखिएकी युवती एभिन्युज टिभीकी पुर्वपत्रकार, घरमा आगाे लागेपछि गरेकी थिइन् हारगुहार (भिडिओ)
‘उनको तीनवटा एक्सन देखिन्छ । मञ्चतिर भाषण गरेको र फुटेर जलेको घरभन्दा बाहिरपट्टि खिचेको भिडिओमा देखिएकी छन् । अर्काको घरभित्र अनाधिकृत प्रवेश गरेर निस्किँदै गरेको पनि देखिएकी छन् । त्यसैले उनलाई निर्दोष मान्न सकिएन,’ जिसीले भने ।
आगो कसले झोस्यो भन्ने पुष्टि नभए पनि घरभित्र प्रवेश गरेका सबैलाई अनुसन्धानमा तानिएको उनले जानकारी दिए ।
एनी एभिन्युज टिभीकी पूर्वपत्रकार हुन् । हाल उनी राजावादी अभियान तथा धार्मिक अभियानहरूमा सक्रिय छिन् । उनले आफूले घरभित्र पानी हाल्दै गरेको तथा बाहिरबाट लाइभ गरेर गुहार मागेको भिडिओ सार्वजनिक गर्दै आफू निर्दोष रहेको बताइरहेकी थिइन् ।

Leave a Reply