गगनले किन भनेका थिए कीर्तिपुरको डाँडामा ल्यापटप चलाएर महिनाको २-३ लाख कमाउन सकिन्छ ? दिए यस्तो कारण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरको डाँडामा ल्यापटप चलाएर महिनाको २-३ लाख रुपैयाँ कमाउन सकिन्छ भन्दै दिएको भाषण स्मरण गरेका छन् ।

बाह्रखरी अनलाइनले आज गोकर्णमा आयोजना गरेको ‘एनसेल-बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’ मा बोल्दै उनले त्यो कुन प्रसंगमा भनेको भन्दै त्यसबारे प्रष्टीकरण दिए ।

स्थानीय तहको उपनिर्वाचनको बेलामा महामन्त्री थापाको यो अभिव्यक्ति भाइरल भएको थियो ।

उनले भनेका थिए, ‘कीर्तिपुरलाई नेपालको यस्तो नमुना नगर बनाउन सकिन्छ । जसको घरबाट निस्किएका बच्चाहरूले अबको ५, ६, ७, ८ वर्षपछि, यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन् । यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको २ लाख, ३ लाख, ४ लाख आम्दानी गर्नेछन् ।’

त्यसबारे आज प्रष्टीकरण दिँदै महामन्त्री थापाले त्यसको सम्भावनाहरुबारे सुनाए ।

उनले भने, ‘मलाई अहिले कीर्तिपुरको डाँडाको सम्झना आइरहेको छ । मैले यो भन्दा तपाईंहरुलाई हाँसोको फोहोरा उठेको देख्दा केके सम्झिनुभयो भन्ने म अनुमान लगाउन सक्छु । मानिसहरु ल्यापटप बोकेर दौडिँदै गरेको सम्झिनुहुन्छ होला, कतिपयले मिम सम्झिनुहुन्छ होला । कतिपयले कीर्तिपुरको डाँडामा बाख्राले ल्यापटप चलाइरहेको सम्झिनुहुन्छ होला ।’

कीर्तिपुरको डाँडामा ल्यापटप लिएर दुई लाख, तीन लाख कमाउन सक्छ भन्दाको सन्दर्भ जोड्दै उनले थपे, ‘कीर्तिपुरको चुनावमा एकै पटक यो कुरा गर्न आवश्यक हुँदैनथ्यो । मैले मेयरको घोषणापत्र पढिरहेको थिएँ, त्यहाँ म सानै कक्षाबाट साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, म्याथलगायतको कुरालाई प्राथमिकता दिन्छु भन्ने कुरा थियो, तर उहाँले त्यो कुरा बोल्दा कम प्राथमिकता लागेर होला, ठूल्ठूला कुराहरु भयो । त्यो छुटाउनुभयो । मैले मञ्चमा उभिएर उहाँलाई त्यो कुरा सम्झाउने कोसिस गरें ।’

उनले अब आईटीको समय भएकाले कीर्तिपुरको डाँडामात्रै होइन, अन्त बसेर पनि यसैगरी पैसा कमाउन सक्ने वातावरण बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *