काठमाडौं । चलचित्र ‘रणवीर’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी नायिका सुपुष्पा भट्टले पछिल्लो चलचित्र ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निर्वाह गरिन । अहिलेसम्म लगभग उस्तै चरित्र निभाउँदै आएकी भट्ट, यहीँ चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’मा भने केही फरक चरित्रमा देखिँदैछिन् ।
सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिँदैछिन्। ‘पिताम्बरमा बिहानी विधवा छे र इनोनसेन्ट छे । बिहानी कसरी विधवा हुन्छे भन्ने थाहा पाउन भने चलचित्र नै हेर्नुपर्छ,’आफ्नो चरित्रबारे खुलाउँदै सुपुष्पा भन्छिन्,’मैले अहिलेसम्म गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ। यो क्यारेक्टरमा एउटा फेज र ग्राफ छ। कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानीमार्फत नै थाहा पाइन्छ ।’
सुपुष्पाको डेब्यू चलचित्र ‘रणवीर’ पनि एक्सन बेसमा नै थियो । तर पिताम्बरमा भने दर्शकले उनको चरित्रमा नौलो स्वाद पाउने उनले बताइन् । ‘रणवीर र पिताम्बरको जनरा एउटै भए पनि कथा फरक छ । दर्शकले मेरो क्यारेक्टरमा बिल्कुलै फरकपन पाउनुहुनेछ’, उनले सुनाइन्।
चलचित्रका सह–निर्माता पुरुषोत्तम प्रधानले बोलाएर स्क्रिप्ट सुनाएपछि उनी चलचित्रमा काम गर्न सहमत भएकी थिइन्। उनी भन्छिन्,’‘यो चलचित्रको स्क्रिप्ट सुनेपछि नाइँ भन्नै सकिनँ । मेरो आफ्नै क्यारेक्टरले मलाई यो चलचित्रमा तान्यो।’
सुपुष्पाले ‘पिताम्बर’मा अभिनय गरेपछि विधवाको जीवनलाई केही बुझेको बताइन्। ‘नेपाली समाजमा विधवाको जीवन बाँच्न गाह्रो हुँदो रहेछ । आफूलाई माया गर्ने मान्छे नै नहुँदा गाह्रो त पक्कै हुन्छ तर यो चलचित्रमा काम गरेपछि मैले विधवा जिवनबारे अझै धेरै बुझें । अहिले त महिलाहरुले आफ्नो स्ट्यान्ड लिनुभएको छ । उहाँहरू माथि पनि आइरहनुभएको छ। धेरै खुसी लाग्छ ’, उनले भनिन् ।
उनी मल्टिस्टार चलचित्रमा आफू जोडिन पाउनु भाग्यको कुरा ठान्छिन् । ‘आफ्नो पात्रलाई न्याय दिन सक्ने हो कि हैन भन्ने कुराले सुरुमा मलाई गाह्रो भएको थियो । तर मल्टिस्टार चलचित्रमा मैले यतिको स्पेस पाएँ भनेर आफूलाई खुसी लाग्छ । यति धेरै कलाकारमा म पनि एउटा छु है भन्नेमा गर्व छ’, उनले सुनाइन् ।
‘तर मल्टिस्टार चलचित्रमा काम गर्दा प्रेसर चाहिँ हुँदो रहेछ। सबै कलाकार राम्रो अभिनय गर्ने हुनुहुन्छ । मेरो अभिनय चाहिँ कताबाट चिप्लिने हो कि भन्ने डर हुँदो रहेछ। आफू तयारी अवस्थामा रहेपछि मात्र त्यो डर हराउँदो रहेछ,’उनले थपिन् ।
सुपुष्पाको बुझाईमा राम्रो भिजन भएको मान्छेले फिल्म बनाउन सजिलो हुन्छ । उनले भनिन्,‘महिला र पुरुष निर्देशक भन्दा पनि निर्देशक भनेको निर्देशक नै हो । राम्रो भिजन भएको मान्छेले फिल्म बनाउन सजिलो हुन्छ । आफ्नो भिजन बुझेको र कस्तो फिल्म बनाउने भन्ने थाहा पाएको निर्देशकसँग काम गर्न पाएँ । मलाई धेरै सजिलो भयो।’
सुपुष्पालाई अब भने एक्सन चलचित्रमा काम गर्न ठुलो रहर छ। उनी भन्छिन्,’एक्सन चलचित्रमा आफैले एक्सन गर्न मन छ।पहिलोदेखिकै इच्छा पनि थियो। त्यस्तो फिल्मको अफर आयो भने स्क्रिप्ट र आफ्नो क्यारेक्टर हेरेर निर्णय लिन्छु।’
कृषा चौलागाईंको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।
विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद र पुरुषोत्तम प्रधानको डीओपी छ।

Leave a Reply