भारततर्फ नेपाली सामान निर्यातको बाटो फुक्यो, बीआईएस नवीकरणसँगै प्रतिबन्ध फुकुवा

काठमाडौं । भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआईएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही महिनापहिले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी पीयुष गोयलसँग सो विषयमा छलफल गरेका थिए । उनले नेपाली वस्तु भारत निर्यात गर्न र भारतीय बजारमा बिक्री वितरणको सहजीकरणका लागि पहल गरेका थिए ।

गत पुस २७ र २८ मा भएको नेपाल-भारत वाणिज्य सचिवस्तरीय बैठकमा बिआइएस प्राप्ति, नवीकरण तथा निर्यात सहजीकरणका विषयमा गहन छलफल भएको थियो । नेपालका तर्फबाट प्राथमिकताका साथ उठाइएपछि भारतीय पक्षले समस्या समाधानका लागि प्रतिबद्धता जनाएको थियो ।

भारतले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, जुत्तालगायतका सामग्री निर्यातमा बिआइएस अनिवार्य गरेको छ । भारतले बिआईएस नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फ सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । बिआइएस नवीकरणको विषयलाई लिएर नेपालका व्यवसायीले नेपाल सरकारलाई दबाब दिँदै थिए ।

नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेका अनुसार बिआइएस प्राप्त गरेपछि निर्यात सहज हुनेछ । उनले भारतले अहिले बिआइएस नवीकरण गरिरहेको बताउनुभयो । उहाँका अनुसार अहिले करिब एक दर्जन उद्योगले बिआइएस नवीकरण गरिसकेको छ ।

केही समयअघि भारत निर्यातका लागि काँकडभिट्टा पुर्याइएका ३४ ट्रक प्लाइउड बिआइएसको अभावमा नाकामै रहेको उनले जानकारी दिए । केही सिमेन्ट कम्पनीले पनि बिआइएस नवीकरण भएपछि भारततर्फ सहज रूपमा सिमेन्ट निर्यात गर्न लागेको जनाइएको छ ।

सो प्रमाणपत्र नवीकरणका लागि एक महिना म्याद अझै बाँकी रहेको छ । घिमिरेका अनुसार करिब तीन सिमेन्ट उद्योगले भारतमा निर्यात गरिरहेका र नवीकरण नभएका आधा दर्जन सिमेन्ट उद्योगले एक महिनाभित्र बिआइएस पाउनेछन् । -रासस

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *