काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुले कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन् ।
आज दिउँसो महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका अध्यक्ष नवीन मानन्धरलगायत १८ वडाध्यक्षले ज्ञापनपत्र बुझाएका हुन् । प्रमुख प्रशासकीय अधिकृतको रिक्तताले उत्पन्न समस्याका विषयमा छलफल गर्न कार्यपालिकाको बैठक बोलाउनुपर्ने उनीहरुको माग छ । ज्ञापनपत्रमा ५ जना कार्यपालिका सदस्यले समेत हस्ताक्षर गरेका छन् ।
मेयर शाहलाई ज्ञापनपत्र बुझाउनुअघि शुक्रबार १२ नम्बरका वडाध्यक्ष बालकृष्ण महर्जनकाे अध्यक्षतामा १६ वडाध्यक्षबीच बैठक भएकाे थियाे । साे बैठकले दुई वटा निर्णय गरेकाे थियाे ।


बैठकले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सराेज गुराराईंलाई गरिएकाे भनिएकाे कारबाही प्रकियाकाे बारेमा लिखित रुपमा मेयर शाहसँग जानकारी माग गर्ने र महानगरकाे कार्यपालिकाकाे बैठक तत्काल बाेलाउन लिखित माग गर्ने सहमति भएकाे थियाे ।
साेही सहमतिअनुसार आज मेयर शाहलाई भेटेर ज्ञापनपत्र बुझाइएकाे हाे, तर मेयरलाई बुझाइएकाे ज्ञापनपत्रमा भने कार्यपालिका बैठक बाेलाउने विषयमात्रै उल्लेख गरिएकाे छ ।

ज्ञापनपत्र बुझाउन नेतृत्व लिएका प्रवक्ता नवीन मानन्धरले कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतको विषयमा छलफल गर्न बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको बताए ।
उनले नेपालप्रेससँग भने, ‘प्रमुख प्रशासकीय अधिकृत नभएकाले काम कारबाही ठप्प भइराखेको अवस्था छ । याे विषय कार्यापालिकामा उठाउनुपर्याे भनेर हामीले ज्ञापनपत्र बुझाएका हौं । मेयरसाबले पहल गर्छु भन्नुभएको छ ।’


Leave a Reply