चैत्र १४ गतेदेखि ८औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने 

काठमाडौं । ललितपुरको हेरिटेज गार्डेनमा ८औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ । देशभरिका महिला उद्यमीहरूको प्रतिनिधि संस्थाको रुपमा कार्यरत महिला उद्यमी महासंघ नेपालले उक्त मेला गर्न लागेको हो ।

महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रवर्द्धन तथा बजारीकरण गर्ने कार्यलाई सहयोग पुर्याउन विगत एक दशकदेखि निरन्तर रुपमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना गर्दै आइरहेको छ । यसैको निरन्तरता स्वरूप यहि चैत्र १४ देखि १८ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा ८औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागिएको हो ।

व्यापार मेलाको माध्यमबाट महासंघमा आबद्ध नेपालका ७२ वटा जिल्लाहरूका महिला उद्यमी जिल्ला सङ्घहरूमा आबद्ध ५ हजार ५ सयभन्दा बढी महिला उद्यमीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने महासंघले जनाएको छ ।

महासंघले नियमित रुपमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्नुको प्रमुख उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहरूका उत्पादनहरूको प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुर्‍याई महिला उद्यमशीलताको विकास बाट आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा सहयोग मार्फत नेपालको अर्थतन्त्र सुधारमा सहयोग पुर्‍याउनु रहेको महासंघकी अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन् ।

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली रहने भएका छन् । ५ दिनसम्म सञ्चालन हुने मेला अवधिमा महिला उद्यमी महासंघ नेपालको ७२ वटा जिल्ला संघहरुबाट महिला उद्यमीहरूको सहभागिता रहनेछ ।

मेलामा १४४ वटा बिक्री स्टलहरू राखिने भएको छ । जसमा २ वटा प्याभिलियनहरु, ५८ वटा महिला उद्यमी जिल्ला संघबाट सहभागी हुने महिला उद्यमीहरू र बाँकी ८२ वटा स्टलहरू स्वदेशी तथा विदेशी महिला उद्यमीहरूलाई उपलब्ध गराइनेछ । मेला अवधिमा नेपाल भरि छरिएर रहेका महिला उद्यमीहरूले उत्पादन गरेका कृषि जन्य वस्तुहरू, हस्तकलाका सामाग्रीहरू, खाद्य सामाग्रीहरू, अन्तर्राष्ट्रिय वस्तुहरू, सेवामूलक वस्तु तथा सेवाहरूको प्रवर्द्धन तथा बिक्री वितरण हुने महासंघले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

मेला अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रका महिला उद्यमीहरू र उनीहरूका उत्पादन सहितको सहभागिता हुने भएकोले नेपालका महिला उद्यमीहरूले उपयोग गरेका प्रविधिहरू, बजारीकरणको लागि अवलम्बन गरेका उपायहरू जस्तै वस्तुको लेवलिङ्ग, प्याकेजिङ्ग, ब्राण्डिङ्ग लगायतका विषयमा जानकारी लिन पाउने छन् । साथै नेपालमा उत्पादित नेपाली वस्तुहरूको अन्तर्राष्ट्रिय क्षेत्रमा बजार विस्तार गर्नको लागि समेत यो मेला सहयोगी हुने अध्यक्ष ज्ञवालीले जानकारी दिइन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *